Advertisement
SKIP THIS
बयालपाटा अस्पतालको दिगो ब्यवस्थापनाका लागि समिति बन्यो

अछाम :अछामको बयलपाटा अस्पतालको दिगो ब्यवस्थापनाका लागि मोडालिटीसहित सिफारिस गर्न कार्यकारी समिति गठन गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले वरिष्ठ नेत्र चिकित्सक प्रा डाक्टर चेतराज पन्तको संयोजकत्वमा पाँच सदस्यीय कार्यकारी समिति गठन गरेको हो।

सामाजिक विकास मन्त्री मेघराज खड्काको संयोजकत्वमा रहेको पाँच सदस्सीय निर्देशक समितिले पन्तको संयोजकत्वमा कार्यकारी समिति गठन गरेको छ।

माघ २४ गते मुख्यमन्त्रीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले मन्त्री खड्काको संयोजकत्वमा साँफेबगर नगर प्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव, आर्थिक मामिला मन्त्रालयका सचिव र मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार सदस्य रहेको निर्देशक समिति गठन गर्ने निर्णय गरेको थियो।

सोही बैठकले एक जना विज्ञ संयोजक रहने गरी सामाजिक विकास मन्त्रालयका उपसचिव र कानुन अधिकृत, बयलपाटा अस्पताल र न्याय हेल्थका एक/एक जना प्रतिनिधि सदस्य रहेको कार्यकारी समिति गठन गरेको थियो। विज्ञ संयोजक तोक्ने जिम्मा निर्देशक समितिलाई दिइएको थियो।

डाक्टर पन्त संयोजक रहेको कार्यकारी समितिले बयलपाटा अस्पतालको संचालन र व्यवस्थापन सम्बन्धी हालसम्म भएका काम कारबाही अध्ययन तथा आगामी दिनमा सो अस्पताल के कसरी संचालन गर्ने भन्ने बारेमा आवश्यक मोडालिटीसमेत सिफारिस गर्ने मन्त्री खड्काले जानकारी दिए। समितिको सिफारिसका आधारमा विकल्पसहितको सिफारिस प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गरिने पनि मन्त्री खड्काले जानकारी दिए।

एक महिनाको समय पाएको समितिले अस्पतालको आवश्यकता, औचित्यता र प्रभावकारिताको तथ्यगत आधारमा गहन अध्ययन र विश्लेषण गर्ने। व्यवस्थित रुपमा संचालन गर्न उपयुक्त विकल्पहरु पहिचान गर्ने। तथा निर्देशक समितिलाई सिफारिस सहितको प्रतिवेदन पेश गर्ने छ।

खड्काले चालु आर्थिक वर्षको बजेटमा बयलपाटा अस्पताललाई प्रदेशको विशिष्टकृत अस्पतालको रुपमा बिकास गर्नका लागि आवश्यक अध्ययन गर्न १० लाख बजेट बिनियोजन गरेका थिए। अस्पताल मन्त्री खड्काकै निर्वाचन क्षेत्रमा अवस्थित छ। खड्काले आफ्नो चुनावी घोषणा पत्रमा नै बयलपाटा अस्पतालको दिगो व्यवस्थापनका लागि पहल गर्ने उल्लेख गरेका थिए।

नेपाल सरकारको सरकारी-गैरसरकारी-साझेदारी अवधारणा वमोजिम न्याय हेल्थ नेपालले व्यवस्थापन गर्दै आइरहेको बयालपाटा अस्पताल पछिल्लो समय आर्थिक संकटमा परेको छ। अस्पताल आर्थिक संकटमा पर्दा नियमित रुपमा प्रवाह गर्दै आएको सेवालाई निरन्तरता दिन अफ्ठेरो भइरहेको अस्पताल ब्यवस्थापनले जनाउँदै आएको छ।

Oplus_131072

तपाईको प्रतिक्रिया