Advertisement
SKIP THIS
भिम रावललाई निषेध गरेपछि एमाले अछामको अधिवेशन स्थगित

धनगढी : पूर्व उपाध्यक्ष भीम रावललाई एमालेका नेताहरूले नै निषेधमाथि निषेध गरेको गुनासो गरिएको छ। रावललाई जिम्मेवारीबाट विमुख राख्न चलखेल जारी रहेको गुनासो उनी समर्थक जिल्लाका नेता, कार्यकर्ताहरूको छ। केन्द्रदेखि जिल्लासम्मका नेता कार्यकर्ताहरू भीम रावललाई निषेध गर्न सक्रिय रहेको उनीहरूले बताएका छन्।

रावललाई जिम्मेवारी दिएर काममा फर्काउनका लागि जिल्ला कमिटी अछामको बैठकमा रावल समर्थक नेता कार्यकर्ताहरूले प्रस्ताव गरेका थिए। तर, बैठकका शीर्ष नेताहरूले भने उनीहरूको मागलाई बैठकको एजेन्डामै राख्न अस्वीकार गरेका हुन्। त्यही विषयलाई लिएर फागुन २७ गते मंगलसेनमा बसेको जिल्ला कमिटीको बैठक दुई घण्टासम्म अवरुद्ध भएको खुलेको छ।

रावल समर्थक एक नेताका अनुसार यसअघि भीम रावलसँग वार्ता गर्न गठित कमिटीको सक्रियता र निष्कर्षमा पुु¥याउन बैठकमा माग गरिएको थियो। तर, जिल्ला अध्यक्ष चन्द्र बोहरा, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, जिल्ला इन्चार्ज लालबहादुर थापा र केन्द्रीय कमिटी सदस्य यज्ञ बोगटी सहभागी रहेको उक्त बैठकमा भीम रावल पक्षका एजेन्डा नै समावेश भएन। रावल समर्थक नेता कार्यकर्ताको मागप्रति जिल्ला अध्यक्ष बोहरा, जिल्ला इन्चार्ज थापा र प्रदेश अध्यक्ष जैशीले निषेधको भूमिका निर्वाह गरेका एक नेताको आरोप छ। यता, जिल्ला अध्यक्ष बोहराले भीम रावल र केन्द्रीय नेताहरूको बिचबाट साझा धारणा आउनुपर्ने बताए। उनले भने, ‘उहाँहरूले भीम रावलाई भूमिकामा ल्याउने प्रस्ताव ल्याउनु भएको हो। तर, जिल्लाको निर्णयको कुनै अर्थ थिएन। केन्द्रीय नेताहरूको साझा धारणा आवश्यक छ। माथिबाट समस्या समाधान हुनुपर्छ। केन्द्रीय नेताहरूको बिचको विषय हो।’

एमालेले २०७९ चैत १८ गते सचिवालय बैठकद्धारा रावलसँग वार्ता गरी निष्कर्षमा पुर्‍याउनु तीन सदस्यीय वार्ता टोली गठन गरिएको थियो। उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सह इन्चार्ज कर्ण थापा सदस्य रहेको टोली बनाइएको हो। उक्त टोलीले २०८० बैशाख ३ गते पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा रावलसँग वार्ता गरेको थियो। त्यस दिन भएको कुराकानी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अवगत गराइने बताइएको थियो। त्यसपछि रावललाई एमालले थप निर्णय लिने भनिएको थियो। तर, एक वर्षसम्म अन्य कुनै पनि क्रियाकलाप नभएको भन्दै रावल समर्थक नेता, कार्यकर्ताहरूको असन्तुष्टि छ।

एमालेको अछाम जिल्ला अधिवेशन चैत १९ र २० गते गर्ने निर्णय गरेको थियो। तर, फागुन २७ गतेकोे बेठकले अधिवेशन स्थगित गरेको छ। जेठ भित्र जिल्ला अधिवेशन गर्ने भनिएको छ। केन्द्रीय नेताहरूको बिचमा औपचारिक रूपमा बैठक गरेर भीम रावलसँग जोडिएका समस्या समाधान भएपछि मात्र जिल्ला अधिवेशन हुने देखिएको हो।

चन्द्र बोहरा अध्यक्षमा पुनः दोहोरिन चाहन्छन् भने शिवप्रशाद उपाध्याय अध्यक्षका आकाङ्क्षी छन्। उनीहरू एमालेमा एकै गुटका नेताहरू हुन्।

तपाईको प्रतिक्रिया