Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकालाई टुक्राएर छुट्टै गाउँपालिका बनाउने प्रस्ताव नगर सभामा दर्ता

गीता कुँवर,अछाम: साँफेबगर नगरपालिकाका ६ वटा वडाहरुले छुट्टै पालिकाको माग गर्दे प्रस्ताब पेश गरेका छन् । नगरपालिकाका विकट वडाहरु ९,१०,११,१२,१३ र १४लाई समेटेर छुट्टै पालिका बनाउने प्रस्ताब नगरसभाको १२ औं अधिबेशनमा पेश गरिएको गरिएको वडा नम्बर १० बुढाकोटका वडा अध्यक्ष दिपक कुँवरले जानकारी दिए । ६ वडा अध्यक्ष सहित २४ जना नगरसभा सदस्यहरुले हस्ताक्षर गरेको प्रस्ताब नगरसभामा पेश गरेको वडाअध्यक्ष कुँवरले बताए ।

विकासको दृष्टिकोणले पछाडी पारिएकोले छुट्टै पालिका अति आवश्यक रहेको वडा नम्बर १० घुघुरकोटका वडाअध्यक्ष ललित बोगटीले बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को ३ दफा अनुसार छुट्टै पालिका बनाउन सकिने व्यवस्था रहेकाले त्यहि अनुरुप प्रस्ताब पेश गरिएको बोगटीले बताए । उनले भने, ‘आज प्रस्ताब पेश गरेका छौं ।

नगरसभाबाट प्रस्ताब दुईतिहाई बहुमतले पारित हुनुपर्छ । हुन्छ भन्नेमा बिश्वस्त छौं । प्रस्ताब पारित भएपछि १५ दिनभित्र प्रदेश सरकारलाई पेश गर्नुपर्दछ र त्यसपछि संघ सरकारलाई प्रदेशले जस्ताको जस्तै पेश गर्छ ।’ राजनितिक,आर्थिक सामाजिक हिसाबले ६ वडाहरु पिछडिएका क्षेत्र भएकाले यसको समग्र विकासका लागी यो कदम चालेको बोगटीले बताए ।

नगरपालिकाको भित्रको वडा भनिएपनि सामान्य पुर्वाधारका विकासहरुले समेत छुन नसकेको वडा नम्बर १२ का वडाअध्यक्ष जनक कडायतले बताए । राजनितिक हिसाबले भोट बैकको रुपमा मात्र नहेरेर चौतर्फि विकासका लागी सोच्न आवश्यक रहेकाले सबैको सहयोगको अपेक्षा गरेको कडायतले बताए । साँफेबगर नगरपालिकाको नगरसभाको बाह्रौ अधिबेशन शनिवार सुरु भएको छ ।

तपाईको प्रतिक्रिया