Advertisement
SKIP THIS
सुदूरपश्चिममा माओवादीका मन्त्रीलाई फिर्ता बोलाईदै

धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सामाजिक विकासमन्त्री झपट साउँदलाई फिर्ता बोलाउने सुदूरपश्चिम माओवादीको तयारी छ।

साथै राज्यमन्त्री गितादेबी माललाई पनि फिर्ता बोलाउने गरी माओवादी केन्द्र आन्तरिक गृहकार्यमा जुटेको हो। माओवादीबाट प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री छन्। माओवादीबाट एक प्रदेश सभा सदस्यका अनुसार मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने गरी छलफल अहिले पनि जारी नै छ। उनीहरुले जन अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै मन्त्रीबाट फिर्ता बोलाउन आन्तरिक रुपमा गहन छलफल चलिरहेको ती नेताले बताएका छन्।

माओवादीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउन घनिभुत रुपमा छलफल जारी छ। हिजो (शुक्रबार) मात्र सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता परिवर्तन गरिएको छ। शुक्रबार बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा मानबहादुर धामीलाई चयन गरेको छ।

सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका सभामुखसहित ११ जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले खगराज भट्टलाई हटाएर यसअघि प्रमुख सचेतक रहेका धामीलाई दलको नेता चयन गरेका हुन्। संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाएर हिजै पद बहाली गरिएको छ।
नेता फेर्ने बैठकमा संसदीय दलका निवर्तमान नेता खगराज भट्ट, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र प्रदेशसभा सदस्य जानकी पौडेल कुँवर भने अनुपस्थित थिए। उनीहरुलाई बोलाइए पनि उपस्थित नभएको प्रदेशसभा सदस्य शिवसिंह ओलीले बताए। यसअघि संसदीय दलको नेता हटाउन माग गर्दै सुदूरपश्चिम प्रदेशसभाका बहुमत माओवादी प्रदेशसभा सदस्यहरु अध्यक्ष पुष्पकमल दाहलसमक्ष पुगेका थिए।

दलको नेता परिवर्तनसँगै सुदूरपश्चिममा माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुसमेत फेरबदल हुने भएका हुन्। हाल माओवादीबाट उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, राज्यमन्त्री गीतादेवी माल र सामाजिक विकासमन्त्री झपट साउद छन्। धामी र साउदलाई फिर्ता बोलाइने तयारीमा माओवादी केन्द्र लागेको हो। पटकपटक सचेत गराउँदा पनि जनताका पक्षमा काम गर्न नसकेकाले शीर्ष नेतृत्वसँगको छलफलपछि यो निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया