Advertisement
SKIP THIS
कमलबजारको कचकच शान्त पार्न ९ बुँदे सहमति

अछामः सुदूरपश्चिमको पहाडी जिल्ला कमलबजार नगरपालिकाको विवाद समाधान गर्न ९ बुँदे सहमति भएको छ।

आन्दोलनरत कर्मचारी, नगर प्रमुख र उपप्रमुखबिच बुधबार छलफलपछि सहमति गरिएको हो। सहमतिपछि नगर प्रमुख यज्ञप्रसाद ढकाल, नगर उपप्रमुख शारदा विष्ट कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर विष्ट र करार कर्मचारी संघर्ष समिति संयोजक देवेन्द्र बहादुर शाहीले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिअनुसार हटाइएका करारका कर्मचारीलाई म्याद थप गरेर काममा फर्काउने, मंसिर २४ गते नगरसभा बैठक आयोजना गर्ने, कात्तिक मसान्तसम्मको सम्पूर्ण कर्मचारी र शिक्षकको पारिश्रमिक भुक्तानी प्रक्रिया अघि बढाउने, कात्तिक मसान्तसम्म मासिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुको पारिश्रमिक यही मंसिर मसान्तसम्म भुक्तानी गर्नेलगायत बुँदा छन्।

त्यस्तै करारसेवामा पदपूर्तिसम्बन्धी कार्यविधि तर्जुमा गरी २०८० कात्तिक मसान्त करार सेवा/मासिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई आन्तरिक सीमित प्रतिस्पर्धाबाट पदपूर्तिको प्रक्रिया अगाडि बढाउन नगरसभामा पेस गर्ने, कार्यालयको रिक्त दरबन्दीमा करार सेवामा कार्यरत कर्मचारीहरुको करार सम्झौता थप सम्बन्धमा आगामी दिनमा कुनै विवाद नगर्ने, कात्तिक मसान्तसम्म रिक्त रहेको स्वीकृत दरबन्दीमा करारसेवामा पदपूर्तिसम्बन्धी कार्यविधिबमोजिम खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति प्रक्रिया अगाडि बढाउने विषय संयुक्त विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया