Advertisement
SKIP THIS
टीकापुर नगरपालिका हाकिमलाई गाडी मोह, कार्यालयमा २ गाडि हुदाहुदै मासिक ९० हजार तिरी अर्को गाडी

योगेश रावल टीकापुर:कैलालीको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्टले आफ्ना लागि महंगोमा गाडी भाडामा लगेका छन । उनले नगरपालिकासँग दुईवटा गाडी हुँदाहुँदै मासिक ९० हजार रुपैयाँ तिरेर गाडी भाडामा लगेका हुन ।

हाल नगरपालिकासँग से १ झ २३२ र से १ झ २९४ नम्बरको दुईवटा स्कारपियो छन । ती दुवै गाडी चालु अवस्थामा छन ।

प्रमुख प्रशासकीय अधिकृत बिष्टले हरेक महिना सम्झौता गर्ने र सोही अनुसार भुक्तानी गर्ने गरी बा. प्र. ०–१–०२४ च १८४७ नम्बरको गाडी भाडामा लगेका छन । यो गाडी टीकापुर नगरपालिका वडा नम्बर १ का रुपेश देवकोटाको हो । उनले यसअघि यही गाडी कैलालीकै जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा समेत यसैगरी भाडामा लगेको बताईएको छ ।

गाडीधनी र नगरपालिकाकाबीच भएको सम्झौता अनुसार एक महिनाको भुक्तानी समेत भैसकेको छ । गाडीमा लाग्ने इन्धन (पेट्रोल) समेत नगरपालिकाले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

गाडीधनी र प्रमुख प्रशासकीय अधिकृत बिष्ट स्वयम्ले सम्झौतामा हस्ताक्षर गरेको बताईएको छ । सो सम्झौतामा नगरपालिकाको लेखा, प्रशासन र जिन्सी शाखाले समेत साक्षीका रुपमा हस्ताक्षर गरेका छन ।

प्रमुख प्रशासकीय अधिकृत बिष्टले गाडी भाडामा लगेको स्विकारेका छन । उनले गाडी आवश्यकताको औचित्यका बारेमा भने प्रष्ट खुलाएनन् । उनले सरकारी मापदण्डले तोकेको भन्दा सस्तोमा गाडी भाडामा लगेको दावी गरे । ‘मापदण्ड अनुसार दैनिक छ हजार हो । मैले तीन हजारमा लगेको छुँ’ उनले भने –‘यो गाडी भाडा सस्तो नै हो ।’

उनले वर्षभरीको लागि सम्झौता गर्दा रकम बढी हुने भएकाले हरेक एक महिनामा सम्झौता गर्ने र सोही अनुसार भुक्तानी गर्ने गरी चलाखीपूर्ण ढंगले गाडी भाडामा लगेको पाईएको छ । उनले यसअघि जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा समेत यसैगरी गाडी सम्झौता र भुक्तानी गरेका थिए ।

स्थानीयले आर्थिक अवस्था जटिल बनेको बेला प्रमुख प्रशासकीय अधिकृतले महंगोमा गाडी भाडामा लगेर नगरपालिकालाई आर्थिक भार थपेको भन्दै चर्को आलोचना गर्ने गरेका छन । उनीहरुले औचित्य र आवश्यकतालाई वेवास्ता गर्दै नगरपालिकालाई आर्थिक भार थोपर्ने काम जनविरोधी कार्य भएको बताउने गरेका छन ।

स्थानीयले प्रमुख प्रशासकीय अधिकृतको कार्यको विरोध गरे पनि नगर प्रमुख रामलाल डगौरा थारु भने उनको पक्षमा उभिएका छन । उनले प्रमुख प्रशासकीय अधिकृत बिष्टले आवश्यकता अनुसार नै गाडी भाडामा लगेको बताए । उनले तीनवटा गाडी नगरपालिकाका लागि आवश्यकता भित्रै पर्ने बताए ।

‘हामीसँग भएको दुईटा मध्ये एउटा मलाई र अर्को उपमेयरलाई चाहियो । उपमेयरले पनि अनुगमन गर्नुपर्छ । आफ्नो गाडी हाकिमलाई दिनुहुन्न’ उनले भने–‘हाकिमलाई पनि त चाहियो । यो आवश्यकता अन्र्तगत नै हो ।’

कैलालीमै पनि कुनै पालिकाका प्रमुख उपप्रमुख आफ्नै निजि गाडी चढ्छन । कुनै पालिकामा एउटै गाडीले काम चलेको छ । प्रमुख, उपप्रमुख, कार्यालय प्रमुख आवश्यकता अनुसार एउटै गाडीले काम चलाउँछन । उनीहरुले आर्थिक मितव्ययितामा ध्यान दिने गरेका छन ।

तर टीकापुर नगरपालिकामा भने आर्थिक मितव्ययिता हैन आर्थिक बेथितिले जरा गाडेको स्थानीयको आरोप छ । उनीहरु प्रमुखदेखी हाकिमसम्मको ध्यान आर्थिक भार थप्न तर्फ केन्द्रित रहेको बताउँछन ।

प्रमुख प्रशासकीय अधिकृत बिष्ट टीकापुर नगरपालिका वडा नम्बर २ सीतापुरका स्थायी बासिन्दा समेत हुन । उनी टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १४ स्थित नगरपालिकाको क्वाटरमा बस्दै आएका छन ।

तपाईको प्रतिक्रिया