Advertisement
SKIP THIS
चाडपर्व पछि सिमलामा स्याउ टिप्न जाने बढे

कैलाली:चाडपर्व र खेतीपातीको काम सकिएपछि सुदुरपश्चिमेली कामको खोजीमा भारत पस्न थालेका छन्। हिउँदको सुरुवातसँगै गड्डाचौकी र गौरीफन्टा नाकामा यो लर्को देखिन थालेको हो। दसैंतिहारका बेला घर फर्किएकाहरू अब बिस्तारै भारत पस्न थालेका हुन् ।

खेतीपातीको काम सकेपछि भारत जानेको भीड बढ्न थालेको सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकीमा स्थापना गरेका नागरिक सहायता कक्षका नायब सुब्बा दानसिंह बोहराले बताए । दिनमा हजाररपन्ध्र सयभन्दा बढी भारत पस्न थालेको बताए। उनका अनुसार खेतीपाती लगाउने काम सकेर बालबालिकासमेत बोकेर भारत पस्ने गरेका छन् । नागरिक सहायता कक्षको रेकर्डअनुसार अहिले पनि एक वर्षमा गड्डाचौकी नाकाबाट एक लाखको हाराहारीमा नेपाली कामको खोजीमा भारत जाने गरेका छन् ।

खासगरी असाररसाउनमा स्याउ टिप्न सिमला जाने र हिउँदमा बाटोघाटो तथा अन्य निर्माण कार्यका लागि उत्तराखण्डका पहाडी जिल्लातर्फ जाने गरेका छन् । नागरिक सहायता कक्षका अनुसार गत आर्थिक वर्षमा १ लाख ३ हजार ५ सय ४६ जना नेपाली भारतबाट फर्किएका छन् भने ७६ हजार ७ सय ९८ जना भारत पसेका छन् । अघिल्लो आर्थिक वर्षमा ९७ हजार ९ सय ७ जना भारत पसेका थिए । अदक्ष कामदारका रूपमा पटके रोजगारीका लागि जानेहरू असाररसाउनमा भारत पस्ने र दसैं तिहारमा घर फर्किने गर्छन् । यसैगरी मंसिररपुसमा फेरि भारत पसेर नयाँ वर्षमा घर फर्किन्छन् । बाह्रै महिना रोजगारी गर्नेहरू भने फाट्टफुट्ट रूपमा आउजाउ गरिरहन्छन् ।

कामका लागि भारत जानेको संख्या अहिले पनि घटेको छैन । पछिल्लो समय युवापुस्ता कामका लागि तेस्रो मुलुक जान थालेको छ । तर, आर्थिक रूपमा विपन्न समुदायका युवादेखि वृद्धहरूसमेत उत्तराखण्ड र हिमाचलका पहाड चहारिरहेका छन् । ‘रोजगारीका लागि भारत जानेको संख्या अहिले पनि उस्तै छ,’ लामो समयदेखि सुरक्षित आप्रवासनका क्षेत्रमा कार्यरत प्रकाश मडैले कोरोना महामारी र पछिल्लो समय आर्थिक मन्दीका कारणसमेत अहिले काम खोज्दै जानेको संख्या निकै बढेको बताए ।

तपाईको प्रतिक्रिया