Advertisement
SKIP THIS
टीकापुर पार्कमा एकै दिन १० हजारभन्दा बढी पर्यटकले अवलोकन गरे

कैलाली :कैलालीको टीकापुर उद्यानमा एकैदिन १० हजारभन्दा बढी पर्यटकले अवलाेकन गरेका छन् । शनिवार हिजाे १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका हुन् । उद्यानमा दशैँ तिहारपछि वनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन् ।

शनिवार पर्यटकबाट तीन लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । उद्यानमा यही मङ्सिर १ गते एक लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो । उद्यान दशैँ तिहारपछिको यो समय पर्यटकले भरिभराउ हुन्छ । पर्यटकहरु उद्यानमै खाना पकाउने, खाने र त्यही नाचगान गर्दै रमाइलो गर्छन् । थरिथरिका व्यक्ति, थरिथरिका पोसाकमा सजिएकाले उद्यानको दृश्य रमाइलो देखिने गरेको छ । उद्यानका इञ्चार्ज अर्जुन कुँवरले यस वर्षको अहिलेसम्मकै बढी पर्यटक एकै दिन शनिवार भित्रिएका बताउनुभयो ।

‘दैनिक एक हजारभन्दा बढी पर्यटक आइरहेका छन्, शनिवार भने १० हजार भित्रिए’, उहाँ भन्नुहुन्छ, ‘वनभोजस्थलमा पानी, खाना पकाउने ठाउँको सुविधा छ ।’

इञ्चार्ज कुँवर उद्यान किनारमा रहेको कर्णाली नदीमा र्‍याफ्टिङ र जेट स्कीको आनन्द लिनका लागि पनि पर्यटक आउने गरेको बताउनुहुन्छ । ‘उद्यानमा रमाइलो वातावरण, नदी किनारमा रमाउन पनि मिल्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन्’, उहाँ भन्नुहुन्छ, ‘सुदूरपश्चिम घुम्न निस्केका पर्यटक उद्यान पुगेरै फर्किन्छन् ।’

टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा उद्यान छ । उद्यान ८५ बिघा क्षेत्रफलमा फैलिएको छ । बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ । उद्यानभित्र टीकापुर विकास समितिले निर्माण गरेको महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान लगायतका संरचना अवलोकन गर्नेहरु पनि त्यत्तिकै छन् । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी/बेमौसमी फूलसँग उद्यानमा आउने पर्यटक रमाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया