Advertisement
SKIP THIS
अदालतबाट पेस्तोल र गोलि चोरी

धनगढीः कैलाली जिल्ला अदालतमा आइतवार राति पेस्तोल र गोली चोरी भएको विषय सार्वजनिक भएको छ।

कैलाली प्रहरीले मोबाइल चोरी भएको बताए पनि अदालतबाट पेस्तोल र गोली पनि चोरी भएको विषय सार्वजनिक भएको हो। आइतवार राति करिब साढे १० बजे अदालतको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल फोडेर भित्र पसेका चोरले मुद्दाका मिसिलका साथमा रहेका पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र चारवटा गोली समेत चोरी भएको छ।

अदालतको प्रवेशद्वार र परिसरभित्र प्रहरीले सुरक्षा दिने गरेको छ। तर, दक्षिणतर्फको भागबाट भित्र पसेकाले स्रेस्तेदार, मुद्दा दर्ता फाँट, अभिलेख शाखा सबैतिर गएको देखिएको प्रहरीले जनाएको छ। उनीहरू पहिलेदेखि नै कुन मिसिल कहाँ छ, मुद्दा फाँट कहाँ छ? भन्ने जानकारी राखेर भित्र पसेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए।

मुद्दा दर्ता फाँटमा मिसिलसँगै रहेका मोबाइल र कटुवा पेस्तोल चोरी भएको उनले बताए। अदालतभित्र चोरी भएको घटना प्रहरीले बिहान मात्र जानकारी पाएको थियो। त्यही परिसरमा रहेका प्रहरीले समेत राति चोरी भएको थाहा पाएनन्। प्रहरीले चोरीमा संलग्नलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन्।

तपाईको प्रतिक्रिया