Advertisement
SKIP THIS
रुख कटान अनुमति नपाउँदा सेति राजमार्ग बन्न अनिश्चित

अछाम: त्रिदेशीय सेती राजमार्ग निर्माणको काम अनिश्चित बन्न पुगेको छ। राजमार्गको सडक खण्ड अन्तर्गत तीन सय ५९ किलोमिटरमा अहिलेसम्म दुई सय चार किलोमिटरको मात्र ट्रयाक निर्माण गरिएको छ।

रुख कटानीको आदेश नआउँदा सडकको ट्रयाक निर्माणमा समय लागेको हो। सेती राजमार्गको दक्षिणी खण्डका प्रमुख रमेश भटराईका अनुसार पुरानो ठेक्काको कैलालीमा तीन किलोमिटर ट्याक खोल्न बाँकी छ।

सेती लोकमार्गलाई टीकापुरदेखि चैनपुरसम्म दक्षिण र चैनपुरदेखि ताक्लाकोटसम्म उत्तर गरी दुई भागमा विभाजन गरिएको छ। टीकापुरदेखि चैनपुरसम्मको दुई सय ४२ किलोमिटरमध्ये एक सय ६४ किलोमिटरमा ट्रयाक खोल्ने काम पूरा भएको छ। टीकापुरदेखि डोटीको सिमाना ठुलीगाडसम्मको ७२ किलोमिटर खण्ड ट्रयाक ३४ करोडमा खोल्न २०७४ मा लुम्बिनी–नागार्जुन–बानियाँ जेभीसँग सम्झौता भएको थियो।

तर, चार वर्षपछि २०७८ मा मात्र सरकारले रूख कटानको अनुमति दिएको थियो। तीन किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ। ठुलीगाडदेखि अछाम र डोटीको सिमाना पर्ने लोडेघाटसम्म ४० किलोमिटर सडकको ट्रयाक खोल्न गत वर्ष सम्झौता भएको थियो। तर, रूख कटान आदेश नपाउँदा सो खण्डको काम पनि अगाडि बढ्न सकेको छैन। करिब ६५ करोडको लागतमा सपना–जयमा–स्वर्गद्वारी जेभीले सो खण्डको ट्रयाक खोल्ने ठेक्का पाएको छ।

अछाममा ७२ किलोमिटरमध्ये ५१ किलोमिटरमा ट्रयाक खोल्ने काम पूरा भएको छ। अछाममा पनि रूख कटान आदेश नपाउँदा ठेक्का लगाएको ६ किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम रोकिएको छ। २१ करोडको लागतमा कश्यप निर्माण सेवाले ठेक्का पाएको १३ किलोमिटरमध्ये ६ किलोमिटरमा काम हुन नसकेको हो।

बाजुराको सिमानातर्फ अछाममा १५ किलोमिटर र बाजुरामा १२ किलोमिटर सडक ट्रयाक खोल्न ठेक्का नै भएको छैन। बझाङमा दक्षिणी खण्डतर्फ ३८ किलोमिटरमा ट्रयाक खोल्ने काम पूरा भएको छ। चैनपुरदेखि ताक्लाकोट जोड्ने उत्तरी खण्डको एक सय १७ किलोमिटरमध्ये ४० किलोमिटरमा मात्र ट्रयाक खोलिएको छ।

मानसरोवर जोड्ने सेती लोकमार्ग छोटो बाटो हो। तर रुख कटानको आदेश नआउँदा सेती लोकमार्ग निर्माणको काम अनिश्चित बन्न पुगेको छ। लोकमार्गको ट्रयाक खोल्न ठेक्का गरिएको एक बितिसक्दा पनि रुखको संख्या समेत एकिन नहुँदा निर्माण कार्य अनिश्चित बन्न पुगेको हो। सेती लोकमार्गको डोटी खण्डको ४० किलोमिटर भित्र पर्ने रुखको संख्यासमेत एकिन हुन सकेको छैन्।

तपाईको प्रतिक्रिया