Advertisement
SKIP THIS
बिमकोट दरबार मेल्लेख गाउँपालिकालाई हस्तान्तरण , यस्तो छ दरबारको इतिहास

तारामान खड्का अछाम :अछामको मेल्लेख गाउँपालिकामा रहेको ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

बुधबार एक औंपचारिक कार्यक्रमका बिच तत्कालीन बिमकोटी राजाका जनक बहादुर शाहले दरबार सहित दरबारको नाममा रहेको ६.५ रोपनी जंग्गा गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदलाई हस्तान्तरण गरे।

यस्तो छ बिमकोट दरबारको इतिहास

अछामको साँफेबगरदेखि ७ किलोमिटरको दूरीमा रहेको बिमकोट दरबार मेल्लेख गाउँपालिका वडा नं ५ बिन्धेबासीनीमा पर्छ।

बिमकोट दरवार दुईतिरबाट बिमकोटीगाड र चोटेखोलाले घेरिएको छ। बीच जंगलमा अवस्थित बिमकोट दरबारनजिक कुनै गाउँबस्ती छैन। दरबारको सिरानीमा षोड्षादेवीको मन्दिर छ। षोड्षादेवीलाई बिमकोटे राजा तथा उनका सन्तानहरूले कुलदेवीका रूपमा पुज्दै आएका छन्।

किंवदन्ती अनुसार बिमा राउतको सल्लाह अनुसार दरबार बनाएका कारण सो ठाउँको नाम बिमकोट रहन गएको हो। उक्त दरबारको खाका भने महिमा नामका नवाँठानी ओडले कोरेका थिए। दरबार निर्माणका लागि एकदिनको पैदल बाटोको दूरीमा रहेको दर्बागाउँबाट ढुंगा ओसारिएको थियो। १६औं शताब्दीमा निर्मित उक्त दरबार १९९७ सालसम्म अस्तित्वमा थियो। बिमकोट दरबार परिसरमा फारसी भाषाको शिलालेख थियो। फारसी भाषाको शिलालेख भेटिनुले थप कौतुलहता उत्पन्न गर्छ। फारसी भाषाको उक्त शिलालेख हाल षोडषादेवी मन्दिर परिसरमा राखिएको छ।

जनक बहादुर शाहका अनुसार १९९० को भूकम्पमा पुरानो बिमकोट दरबार भत्किएको थियो। त्यसपछि उनका हजुरबुवा नगेन्द्रबहादुर शाहले प्राचीन दरबारभन्दा नयाँ दरबार निर्माण गरेका थिए। नयाँ दरबार निर्माण गर्न १३ वर्ष लागेको थियो। जुन दरबारले बिमकोटे राजाहरूको विरासतका रूपमा अहिले पनि खडा छ।

माओवादी ससस्त्र द्वन्द्व सुरु भएपछि भने बिमकोटे राजाका सन्तानहरूले उक्त दरबार छोडे। द्वन्द्वका कारण गाउँबस्तीदेखि टाढाको दरबार कुर्ने मानिस पनि भेटिएनन्। पछि माओवादीहरूले दरबारमा रहेका ऐतिहासिक कागजात, भाँडाकुँडा, ताम्रपत्र जलाए। मानिस बस्न छोेडेका कारण बिमकोट दरबार हाल जीर्ण अवस्थामा छ।

तपाईको प्रतिक्रिया