Advertisement
SKIP THIS
एमाले सुदूरपश्चिम अधिबेशन :कमल ,बच्चनले उम्मेदवारी फिर्ता लिए, भिम रावललाई एक्ल्याईदै

धनगढीः सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण मंगलबार साँझदेखि हुने भनिएको मतदान तालिका हेरफेर भई बुधबार दिउँसो सम्मका लागि सारिएको छ। आइतबार अधिवेशन सुरु भएदेखि प्रदेशका शीर्ष नेता कर्णबहादुर थापा र दामोदर भण्डारीको समूहमा बेग्लाबेग्लै उम्मेदवार खडा भए पनि मंगलबार साँझ दुवै समूह मिलेर साझा उम्मेदवार तय गरेको विषय बाहिर आएको छ।

अध्यक्ष पदमा थापाले अघि सारेका उम्मेदवार कृष्णप्रसाद जैसीलाई भण्डारी समूहले समर्थन गर्ने र भण्डारी समूहले अध्यक्ष पदमा अघि सारेका कमल तिमिल्सिनालाई उम्मेदवारी फिर्ता गराएर अन्य पदाधिकारी भण्डारी समूहले लिने प्रारम्भिक समझदारी भएको दुवै पक्षका कार्यकर्ताहरूले बताएका छन्।

साथै भीम रावल समर्थित प्रतिनिधिहरू भने आफ्नो समूहलाई निषेध गर्ने गरी अभ्यास भइरहेको भन्दै अध्यक्षको प्यानलैसहित मतदानमा जाने तयारी भइरहेको बताइरहेका छन्। अध्यक्ष पदमा उम्मेदवारी दिएका भरत साउँदले आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन्। मतदानको समय दिउँसो एक बजे तोकिएको छ। लेखराज भट्टले अघि सारेका अध्यक्ष पदका उम्मेदवार वचनबहादुर सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन।

यद्यपी एमाले सुदूरपश्चिमको नयाँ नेतृत्व सहमतिबाट चयन गर्न अन्तिम प्रयास जारी छ। मंगलबार निर्वाचन प्रक्रियालाई लम्ब्याएर सहमतिका लागि पदाधिकारीमा खाका तयार गरेका नेताहरू त्यसलाई मूर्त रूप दिन अन्तिम कसरतमा लागेका छन्। अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिवमा कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी सहमति खोज्ने खाका नेताहरूले बनाएका छन्।

तर त्यो सहमतिले अन्तिम रूप पाउन सकेको छैन। अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिना, वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका भने भरत साउदले अहिलेसम्म उम्मेदवारी फिर्ता लिएका छैनन्। उपाध्यक्षतर्फ पनि हजारीसिंह साउँदले उम्मेदवारी फिर्ता लिए पनि कालीबहादुर शाही सहितका पाँच जनाको उम्मेदवारी यथावत छ।

सचिवमा उम्मेदवारी दिएका जीवन बमले फिर्ता लिएका छन् भने राजेश खाती र रतनबहादुर रेग्मीको उम्मेदवारी कायमै छ। उपसचिवमा पल्लभराज भट्टले उम्मेदवारी फिर्ता लिएका छन् भने अन्यको उम्मेदवारी कायमै रहेको निर्वाचन कमिटीले जनाएको छ। प्रमुख निर्वाचन अधिकृत पदम पालले उम्मेदवारी फिर्ता लिने समय बिहान ८ बजेसम्म कायम गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया