Advertisement
SKIP THIS
भीम रावललाई एमाले सुदूरपश्चिमको अधिवेशनमा बोलाईएन

धनगढी: नेकपा एमालेका पूर्व उपाध्यक्ष एवं दशौ महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन लडेका नेता भीमबहादुर रावललाई प्रदेश अधिवेशनमा आमन्त्रण नै नगरिएको पाइएको छ। भोलि (आइतबार) देखि धनगढीमा सुरु हुने एमालेको प्रथम प्रदेश अधिवेशनमा नेता रावललाई आमन्त्रण नगरिएको हो।

अछामका नेता रावल पछिल्लो समय पार्टीमा जिम्मेवारीविहीन छन्। चितवन महाधिवेशनपछि एमालेको राजनीतिमा किनारा लगाइएका रावल अहिले पनि पार्टीको कुनै जिम्मेवारीमा छैनन्।

अहिले गृहजिल्ला अछाममा रहेका रावललाई प्रदेशको अधिवेशनमा पनि नबोलाइएको जनाइएको छ। एक पत्रकार सम्मेलनकाबीच एमाले सुदूरपश्चिमका इन्चार्ज छविलाल विश्वकर्माले रावललाई आमन्त्रण नगरिएको जानकारी दिए।

उनले रावल राष्ट्रिय र केन्द्रिय नेता भएकाले प्रदेश अधिवेशनमा नबोलाइएको दाबी गरे। एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, सचिवहरु र स्थायी कमिटी सदस्यसहितका अन्य केन्द्रिय नेताहरु भने अधिवेशनमा सहभागी हुने उनको भनाई छ।

रावललाई अधिवेशनमा नबोलाएर निषेध गरिएको उनी निकटस्थको आरोप छ। चितवन महाधिवेशनपछि एक पटक मात्र रावललाई पार्टीमा सक्रिय बनाउन ओली-रावल भेट भएकोमा त्यसपछि कुनै छलफल भएको छैन।

तपाईको प्रतिक्रिया