Advertisement
SKIP THIS
सुदूरपश्चीममा हवाईजहाज परिक्षण उडानको नाममा ठगी

निराकरण खबर अछामM डडेल्धुराबाहेक सुदूरपश्चिमका सबै जिल्लामा विमानस्थल निर्माण गरिएका छन्। पहाडी जिल्लाका विमानस्थलमा पटक–पटक परीक्षण उडान हुन्छ। तर, हवाइ सेवा भने नियमित कहिल्यै हुदैन। मन्त्री फेरिनेबित्तिकै तामझामका साथ परीक्षण उडान हुने तर सेवा सञ्चालन नहुने नियति छ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले बैतडीको पाटन, बझाङ्गको चैनपुर र डोटीको दिपायल बिमानस्थलमा परीक्षण उडानको उद्घाटन नै गरेका थिए। तर यी विमानस्थलमा परीक्षण उडान भएको त्यो पहिलो पटक थिएन। २०६८ मै तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र बिष्टले पनि परीक्षण उडान गर्दै चााडै नियमित उडान हुने उद्घोष गरेका थिए। आश्वासन त नेता, सांसद र मन्त्रीपिच्छे कति हुन् कति। तर, केहीमा बाहेक नियमित उडान कतै भएनन्।

बैतडीको पाटन विमानस्थलमा त २०५२ यता तीन पटक बढी परीक्षण उडान भइसक्यो। अरु विमानस्थलको अवस्था पनि उस्तै छ। सस्तो प्रचारवाजीका लागि बिना योजना मन्त्रीपिच्छे बिमानस्थल उद्घाटन हुन्छ। पहाडी जिल्लाका विमानस्थल पुनःनिर्माणका नाममा सरकारले करोडौं रकम खर्च गरे पनि प्रयोगविहीन भइरहेका छन्।

कैलालीको धनगढी, बाजुराको कोल्टी र बझाङको चैनपुर विमानस्थल बाहेक सबै बन्द छन्। द्वन्द्वकालमा तत्कालीन बिद्रोही माओवादीको निसानामा परेपछि बिमानस्थल बन्द भएका थिए। अधिकांश विमानस्थलको स्तरोन्नति गरिएको भए पनि उडान सञ्चालन गरिएको छैन।

सुदूरपश्चिममा बाजुराको कोल्टी, धनगढी र टीकापुर, कञ्चनपुरको मझगाउँ, अछामको साँफेबगर र कमलबजार, दार्चुलाको गोकुलेश्वर, बझाङको चैनपुर र डोटीको दिपायलमा विमानस्थल छन्। २०४६ को परिवर्तन अगाबै बनेका यी विमानस्थल तत्कालीन अवस्थामा संचालनमा थिए। मन्त्रीहरुले चर्चामा आउन पटक–पटक परीक्षण उडान गरे पनि सेवा नियमित संचालनमा नआउँदा स्थानीय सेवाबाट बञ्चित छन्। परिक्षण उडानको नाममा ठग्ने काम मात्र हुँदै आएको स्थानीयको गुनासो छ।

साँफेबगर बिमानस्थल अछाम

२०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालन आएपनि २०५८ फाल्गुनमा माओवादीले ध्वस्त पारेसँगै पुनः बन्द भयो ।

११ करोड ५० लाख रुपैयाँको लागतमा ५ सय मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरि २०७५ जेठमा पुनः सञ्चालन भएको बिमानस्थलमा केहि समय जहाज आएपनि अहिले भने आउन छोडेको छ । यात्रु अभाव देखाउदै जहाज नआउने अछाममा अछामकै कमलजारमा कमलजार बिमानस्थल निमार्ण भईरहेको छ । जहाज नआउदा नागरिकले सास्ती पाउदै आएका छन ।

डोटी बिमानस्थल
डोटी बिमानस्थल २०२६ सालमा स्थापना भई पटक–पटक सञ्चालनमा आउँदै बन्द हुँदै गरेको छ । माओवादी आक्रमणबाटै २०५८ सालदेखि पूर्ण रूपमा बन्द रहेको यो विमानस्थल गौचरन र खेलमैदानमा परिणत भएको थियो। २०७३ सालमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढाएको थियो। ६ करोड ८० लाख रुपियाँको लागतमा ४९० मिटर लम्बाइ धावनमार्ग सहित कालोपत्रे भएको सो विमानस्थल २०७७ सालमा पुनः सञ्चालनमा आएको थियो। प्रेम आले संकृति तथा नागरिक उड्यन मन्त्री बनेपछि भने केहि महिना नियमित उडान भएको यो बिमानस्थलमा जहाज आउन पुनः बन्द भएको छ ।

देवल बिमानस्थल बझाङ
२०३२ साल देखि नियमित उडान भएको देवल बिमानस्थलमा २०६६ सालबाट जिल्लामा सडक जोडिएसंगै नियमित उडान स्थगित गरिएको थियो । ५ करोड ५० लाखको लागतमा ६ सय ५० मिटर धावनमार्ग कालोपत्रे भएपछि २०७७ सालमा पुनः सञ्चालन भएको बिमानस्थलमा हाल यात्रु अभाव देखाउदै जहाज आउन छोडेको छ ।

पाटन बिमानस्थल बैतडी
२०३२ सालदेखि निर्माण सुरु भएको बैतडीको पाटन विमानस्थल २०३५ सालदेखि सञ्चालनमा आएको बैतडीको पाटन बिमानस्थल २०५२ सालदेखि हवाई सेवा बन्द भयो । पछि २०५८ सालमा सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्ण रूपमा ध्वस्त भयो ।
पुनः सञ्चालनको योजनासहित २०७३ सालमा ११ करोडको लागतमा बैतडी विमानस्थल कालोपत्रे गरेर सञ्चालनमा ल्याइएको भएपनि हवाई उडान भने लामो समयदेखि बन्द रहेको छ । २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो। त्यसयता पाटन–धनगढी कुनै उडान हुन सकेको छैन

गोकुलेश्वर बिमानस्थल दार्चुला
२०५८ साल मंसिर ११ गते तत्कालीन विद्रोही नेकपा माओवादीले आगजनी गरेपछि बन्द भएको दार्चुलाको गोकुलेश्वर बिमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । बिमानस्थल सञ्चालनको लागी अहिले धावनमार्गको उचाई बढाउने काम भईरहेको छ ।

डडेल्धुरा बिमानस्थल

सुदुरपश्चीमका ९ जिल्ला मध्ये बिमानस्थल नभएको जिल्ला हो डडेल्धुरा । पुर्ब प्रधानमन्त्री शेर बहादुर जिल्लाको गृह जिल्ला समेत रहेको गृह जिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिका १ पुइलेकमा विमानस्थल निर्माणका लागि ईआईएको काम समेत सकिएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको काम अगाडी बढाउन गत वर्ष २५ लाख बजेट समेत विनियोजन गरेको थियो। देउवाले समेत निवार्चनको बेला डडेल्धुरा विमानस्थल बन्ने बताएका थिए तर अहिलेसम्म कुनै काम अगाडी बढ्न सकेको छैन । विमानस्थल चाडो सञ्चालन हुनुपर्ने डडेल्धुरा बासीको माग छ ।
करोडौ लगानी गरि कालोपत्रे भई केहि समय सञ्चालन भएका साँफेबगर बिमानस्थल , डोटी बिमानस्थल,देउल बिमानस्थल र पाटन बिमानस्थलमा नेपाल प्रहरीले सुरक्षा गरिरहेको छ ।

तपाईको प्रतिक्रिया