Advertisement
SKIP THIS
सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

कञ्चनपुरः  सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा शुक्रवार नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूले परिक्षा नियन्त्रक र सह परिक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको छ।

परीक्षा नियन्त्रक देवसिह नाथले १२÷१५ जना समाजवादीका नेता कार्यकर्ता कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेको बताए। “सह परिक्षा नियन्त्रक र म परिक्षाको आगामी रणनिति बारे कुराकानी गर्दै थियौ।” परिक्षा नियन्त्रक नाथले भने–“एक्कासी कार्यकक्षमै आएर विद्यार्थीहरुको मुख्य डाटा राख्ने सर्भर सहितको कम्प्युटरमा समेत क्षति गरेका छन।” सहायक परीक्षा नियन्त्रक विर वहादुर सिँह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका टेबुल, कुर्सी, दराज र कम्प्युटरमा क्षति पुगेको छ।

विद्यार्थीले ताला तोडेपछि शुक्रबार त्यसको विरोधमा  समाजवादी निकट विद्यार्थी संगठनले कार्यकक्षमा तोडफोड गरेको हो। समाजवादी निकट विद्यार्थी संगठनले आफुहरुको भागमा पनि क्याम्पस प्रमुख र विभागिय प्रमुखमा हुनुपर्ने माग गर्दै लामो समयदेखी विश्वविद्यालयमा तालाबन्दी गरेको विश्वविद्यालयले जनाएको छ।

विद्यार्थीहरुको उत्तरपुस्तीका लगायत परिक्षा सम्बन्धी महत्वपूर्ण कागजातमा समेत नोक्सानी पुगेको परिक्षा नियन्त्रक नाथले बताए। “अहिलेकै अवस्थामा परिक्षा सम्बन्धी कुनै पनि काम गर्न सकिने अवस्थामा छैन मुख्य कम्प्युटरमा नै क्षति भएको छ।” उनले भने–“कार्यकक्षमा आएर तोडफोड गर्ने विरुद्ध प्रहरीमा निवेदन दिएका छौ।”

एक महिना अघि  समाजवादी निकट विद्यार्थी संगठनले छैठौँ सेमेष्टरको समाजशास्त्र विषयको प्रशनपत्र गत वर्षकै दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै परिक्षा नियन्त्रक र सह–परिक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएको थियो। उक्त ताला गत साता स्वतन्त्र विद्यार्थीहरुले परिक्षा पछि धकेलिदै गएको भन्दै ताला तोडेका थिए।

अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना सृजना हुनुमा स्वयम परीक्षा नियन्त्रक देवसिह नाथ सहित विश्वविद्यालयका पदाधिकारी जिम्मेबार रहेको जनाएको छ। अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले आफुहरुको संगठनले ताडफोड नगरेको दाबी गरे। “हाम्रो संगठनले कहि पनि तोडफोड गरेको छैन।” 

तपाईको प्रतिक्रिया