रामचन्द्र जोशी चौरपाटी गाउँपालिका – ५ लुंग्रा अछाम
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एक धार्मिक तथा आध्यात्मिक संस्था हो । विश्व समुदाय बीच दिनानुदिन लोकप्रिय बन्दै गएको संस्थाले समयसमयमा आफ्नो मुख्यालयमा विभिन्न कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्दछ । यस संस्थामा आबद्ध हुन चाहनेहरुका लागि मुख्यालयमा आयोजना हुने राजयोग शिविरमा सहभागी हुने अवसर प्रदान गरिन्छ ।
अरावली पर्वत श्रेणीमा अवस्थित माउन्ट आवु क्षेत्र संस्थाको लागि निकै पवित्र स्थल मानिन्छ । यस पर्वतको काखमा रहेको मधुवन क्षेत्र पनि निकै महत्वपूर्ण छ । काम गर्ने शिलशिलामा ब्रह्मकुमारी अछाम शाखाका सञ्चालिका बि.के. कविता बहिनी र संस्थासँग परिचित हुने सुअवसर प्राप्त भयो । ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयको बारे सामान्य जानकारी भए पनि यस संस्थाको उद्देश्य तथा गतिविधिको बारेमा थप स्पष्ट हुने कौतुहलता र संस्था सँग नजिक हुने मनसायले गर्दा धेरै अगाडी देखि संस्थाको मुख्यालयमा जाने तिब्र अभिलाषा थियो ।
पारिवारिक रुपमा ब्राह्मण परिवारमा जन्मिएर धार्मिक वातावरणमा हुर्केका कारण सानैदेखि धर्म संस्कतिको बारेमा जान्ने अवसर प्राप्त भयो । गाँउघर तिर हुने धार्मिक तथा आध्यात्मिक कार्यमा सहभागी हुने अवसर पनि पाइयो । यसले गर्दा धर्म संस्कृतिको बारेमा जान्ने इच्छा प्रकट भएका कारण अन्य धर्म र धार्मिक तथा आध्यात्मिक संस्थाको प्रति चासो बढ्न थाल्यो । विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारी तथा व्यक्तिगत रुपमा समय व्यवस्थापन गर्न नसक्दा मधुवन यात्रा तय हुन सकेको थिएन ।
ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयको मुख्यालय माउण्ट आबु राजस्थान भारतमा आयोजना हुने २०२३ जुलाइ २४ गते देखि २८ तारिख सम्म हुने ५ दिने राजयोग शिविरमा नेपालका विभिन्न स्थानको प्रतिनिधित्व गर्दै करिब १५०० जना को सहभागिता रहने कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय अछाम शाखाको समन्वयमा राजयोग शिविरमा सहभागी हुन अछाम बाट ८ जना सहभागी हुने क्रममा मधुवनको यात्रा तय गरियो ।
अछाम शाखाका सञ्चालिका ब्रह्मकुमारी कविताको सहयोगमा राजयोग शिविरमा सहभागी हुनका लागि करिब ३ महिना अगाडी नै जानकारी गराउनु भयो । साउन पहिलो हप्ता तिर मधुवनमा शिविर हुने समय मै नाम दर्ता गर्नुपर्ने कुरा थाहा पाइ सकेपछि मैले पनि उक्त शिविरमा जानका लागि नाम दर्ता गराएँ । शिविरमा जानका लागि संस्थागत रुपमा जानु पर्थ्यो । समूह व्यवस्थापन तथा भ्रमण कार्यतालिका संस्थाले निर्धारण गरेको कार्यतालिका बमोजिम नै भयो ।
सुदूरपश्चिम प्रदेशका सबै जिल्ला बाट सहभागी हुने सबै व्यक्तिहरुलाई संस्थाको क्षेत्रीय कार्यालय धनगढीमा जम्मा गरेर एकीकृत रुपमा सुदूरपश्चिम प्रदेशको टोली बनाएर मधुवन जाने कार्यक्रम अनुसार सबै सहभागीहरु धनगढीमा जम्मा भए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व रहेको थियो ।
केही नगरपालिकाका मेयर,उपमेयर, गाउपालिका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, निवर्तमान जनप्रतिनिधि,कार्यालयका कर्मचारी, शिक्षक, प्राध्यापक,व्यपारी लगायत सर्वसाधारण गरी करीब १५० जनाको संख्यामा सहभागिता रहेको थियो । यात्रामा प्रस्थान गर्ने दिन बिहान सबै जनाको समुपस्थितिमा यात्राको क्रममा हुने आहारविहार ,खानपिन तथा संस्था भित्र पालना गर्नु पर्ने आचरणको बारेमा ब्रह्मकुमारी दिदीहरु बाट जानकारी गराइयो ।
संस्थाद्वारा आगन्तुक सबैलाई खादा,पुष्पगुच्छा र तिलक लगाइ स्वागत तथा सम्मान प्रदान गरेको थियो । केही सहभागीहरुलाई आफ्ना धारणाहरु पनि राख्न लगाउने क्रममा केही विचारहरु राख्ने अवसर प्राप्त भयो । भ्रमण टोलीलाई थप व्यवस्थित बनाउन बि।के। गाइड, सेवाधारी,ब्रह्मकुमारी दिदीबहिनी र अन्य सहभागीहरुको कार्य जिम्मेवारी पनि प्रदान गरी सहभागीहरु बीच परिचयात्मक कार्यक्रम पनि गरियो । दिउँसो ठिक १ बजे देखि धनगढी( महेन्द्रनगर (बनबासा हुदै बरेली जाने कार्यतालिका अनुसार धनगढी देखि सार्वजनिक गाडीको प्रयोग गरी नेपाल भारत सिमा गड्डाचौकी सम्म बसमा गयौ । त्यहाँ बाट अटो रिक्सा बाट महाकाली नदी माथि बनेको करिब १०० बर्ष पुरानो पुल बाट बर्षातको समयमा महाकाली नदीको उर्लदो भेलको दृश्यावलोकन गर्दै मित्र राष्ट्र भारतको बनवसा पुगियो ।
भारतीय समयानुसार बनवसा बाट ३।३० बजेको रेलमा बरेली जाने टिकट काट्यौ । रेलको टिकट निकै सस्तो रहेछ जम्मा ६० रुपिया मात्रै । निर्धारित समय भन्दा करिब आधा घण्टा ढिलो भएको रेलमा सबै जना सवार भयौ । रेल टनकपुर देखि बरेली सम्म लोकल भएर चल्दो रहेछ । ठाउँठाउका रेलवे स्टेशनमा यात्रु चढ्ने र ओर्लिने क्रम जारी नै थियो । एउटै रेलमा सयौको संख्यामा यात्रुहरु सवार थिए । हाम्रो लागि पनि रेलको यात्रा नौलो थियो । उत्साहित हुदै रेलको यात्रा गरिरह्यौ । म रेलमा करिब १५ बर्ष पछि चढेको थिएँ कोही २० बर्ष पछि कसैको लागि भने रेलको यात्रा नितान्त नौलो थियो ।
रेलबाट देखिने स्थानीय गाउँ खेतबारीको दृश्यावलोकन गर्दै स्थानीय यात्रुहरुलाई सोधपुछ गर्दै भौगोलिक अवस्थितिको बारेमा जानकारी लिदै गयौँ । स्थानीय बालबालिका देखि वृद्धहरुसँग अछाम बहुमुखी क्यामपसका प्रमुख छत्र विष्ट सर बडा रमाइलो तरिकाले कुराकानी गर्दै स्थानीयताको बिषयमा जानकारी लिदै हुनुहुन्थ्यो । जानीनजानीकन आपसमा हिन्दीमा बातचित गर्न सुरु गर्यौ । रमाइलो गर्दै करिब ७।३० बजे बरेली स्टेशनमा आइपुगियो । झट्ट रेलवे स्टेशनमा ओर्लदा निकै गर्मीको महसुस भयो । बाह्य वातावरण कोलाहलपूर्ण थियो । हजारौको संख्यामा यात्रुहरु ओहोरदोहोर गरिरहेका थिए । यी सबै दृश्यहरु रमाइलो तरिकाले नियाले । एकै छिनमा सबै जना जम्मा भयौ । स्थानीय अटोको प्रयोग गरेर होटल तर्फ लाग्यौ ।
भारतमा नेपालीलाई हरेक सेवाको मूल्य चर्को लिने गर्दा रहेछन । फिक्स मूल्य कसैको पनि नहुने बार्गेनिङ गर्नुपर्ने नगरे डबल मूल्य तिर्नुपर्ने विवशता रहेछ नेपालीहरुका लागि । अटोमा बार्गेनिङ, होटलमा बार्गेनिङ,खानेकुरामा बार्गेनिङ, लुगाकपाडामा बार्गेनिङ,हरेक चिजमा बार्गेनिङ सारै नराम्रो संस्कार रहेछ नेपाली प्रति भारतीयहरुको । सामान्य मानिसले पनि नेपाली प्रति हेर्ने दृष्टिकोण हेपाहा प्रवृतिको देखियो ।
सायद नेपालीहरुको भारत जानुपर्ने विवशताका कारण यो अवस्था सिर्जना भएको हुन सक्छ । साँझपख एउटा होटलमा कोठा बुक गरेर त्यो राती त्यतै बस्यौ । अछामका साथीहरु एउटै होटलमा बसेका थियौ । हाम्रो टोलीमा ५ जना पुरुष र ३ जना महिला गरी आठ जना थियौ । साँझ खाना खाँदा रमाइलो गर्दै समूहमा खाना खायौ । बास बसेको होटलमा लजको व्यवस्था मात्र थियो । होटलवालाले खानको लागि अर्कै रेस्टुरेन्टसँग भिडाइ दियो ।
यात्रामा सात्विक भोजन गर्नुपर्थ्यो । रेस्टुरेन्टवालाले “भेज खाना कि लिए १४० रुपिया पडेगा १ थालिके’’ भनेर अडर लिएर गयो । करिब एक घण्टा पछि कोठामा खाना लिएर आयो । बिस्तरा माथि पत्रिका राखेर खाना खान बस्यौ । खानामा साना ३ रोटी ,थोरै करिब २ गास जति प्लेटमा भात अनि दाल र तरकारी लिएर आयो । खान सुरु गर्यौ दिनमा खाजा,नास्ता खान नपाएका कारणले हामी सबै भोकाएका थियौ । एकै क्षणमा खाना खाएर थप खानाको लागि अडर्र गर्दा “थप पैसा लगेका तुमारा” भन्न थाल्यो । “ठीक है खाना तो लाओ पैसा दिएंगे हम”भनेर अनुरोध गर्यौ ।
थप २र२ रोटी ल्याएर आयो हामी खानाको प्रतिक्षामा थियौ । रोटी दिदै थियो साउजी अर्को तिर बाट “फिर लेके आओ और रोटी” भन्न थालि हाले साथीहरु । दाल थप्यो तरकारी थप्यो थप्दा थप्दै सबै खाना सकियो तर हामीहरु खानामा सन्तुष्टि हुन सकेनौ । केही साथीहरु “चावल नै मिलेका क्या रु” भनेर सोध्दै गर्नु भयो । “चावल नै मिलेगा इत्ना है ”भनेर गयो । एकपटक चावलको बिषयमा हाँसो भयो । ५ जना खान बसेका थियौ । सायद ५ जनाको निधारमा टिका लगाउने हो भने साँच्चै त्यो प्लेटको चावल सकिन्थ्यो भनेर रमाइलो पनि गर्यौ । खानाको पैसा तिरिसके पछी अघाउञ्जेल पेट भरी खाने बानी परेका हामी त्यो देशीको खानाले चित बुझाउन सकेनौ । अन्त्यमा खानाको बिल तिर्दा थपेको खाना सहित २०० रुपिया प्रति खाना लियो । यसरी भारतमा विभिन्न काममा जाने नेपालहरु पाइला पाइलामा ठगिन्छन ।
अर्को दिन बिहान सबेरै उठेर नित्यकर्महरु गरी ५ बजे कोठाबाट निस्क्यौ । ६ बजेको ट्रेन चढ्नु पर्ने थियो । नजिकै रेलबे स्टेशन भएका कारणले होटल बाट पैदल मार्ग भएर गयौ । रेलवे स्टेशनमा मानिसहरु ओहोरदोहोर गरी रहेका थिए । विभिन्न प्लेटफर्महरुमा रेलहरु आउनेजाने क्रम जारी थियो । थरिथरीका मानिसहरु रेलमा चढ्ने र ओर्लेने क्रम पनि निरन्तर रुपमा चलिरहेको थियो । भारत विश्वमा सबै भन्दा बढी जनसंख्या भएको देशको अग्र स्थानमा रहेको छ । जनसंख्या अनुसार यात्रा गर्ने मानिसको संख्या पनि उल्लेख्य छ । सार्वजनिक र निजी सवारी साधनको संख्या पनि हरेक शहरमा उतिकै छ । जल,स्थल र हवाई यातायातका साधनहरु पनि निरन्तर रुपमा चलिरहेका छन । हरेक सवारी साधनमा यात्रुको चाप थेगि नसक्नुको छ ।
रेलको जनरल चालु डब्बामा चढ्न निकै तछाडमछाड गरीरहेको दृश्य नियाली रहेका थियौ । एउटै रेलमा हजारौ यात्रुहरु यात्रा गर्न सकिने अवस्थामा यात्रुको आर्थिक क्षमता अनुसार सस्तो देखि महंगो टिकट काट्न सकिने व्यवस्था मिलाइएको हुन्छ । संस्थाले हाम्रो टिकट बैशाखमा काटि सकेको थियो । एसि डब्बामा ५ वटा टिकट बुक गरिएको थियो । अन्य साथीहरुको पनि विभिन्न श्रेणीका टिकटहरु काटिएका थिए ।
उक्त रेलमा चढ्ने यात्रुहरु रेल आगमनको प्रतिक्षामा थिए नभन्दै रेल ठीक ६।३० बजे आइ पुग्यो । आ(आफ्नो टिकट अनुसार सबै जना रेल यात्राका लागि तयारी थियौ । रेलमा चढेर आफ्नो निर्धारित सिटमा बस्ने कार्य सम्पन्न भयो । दिन भर रेलको यात्रा भयो । यात्राको क्रममा रेलको झ्याल बाट देखिने दृश्यहरु अवलोकन गर्दै छलफल गर्दै रमाइलो कुराकुनी सँगै स्थानीय यात्रीहरु सँग सोधपुछ गर्दै जाने क्रममा एक जना रेलको पूर्व कर्मचारी सँग परिचय भयो । उनी ४० बर्ष काम गरेर सेवानिवृत रेल चालक थिए ।
भारतमा रेलको विकास तथा आफ्नो रेल जीवनको अनुभव बताउदै गए । हामीले पनि कौतुहलतापूर्वक उनले भनेका अनुभवहरु सुन्दै गयौ । आवश्यकता अनुसार जिज्ञासा राख्दै गयौ । उनको गन्तव्य दिल्ली सम्म मात्र थियो । बाटोमा आउने स्टेशन र बजार गाउँको बारेमा बताउदै गए । उनलाई हाम्रो यात्राको बारेमा जानकारी गरायौ। धर्मले उनी मुस्लिम थिए तथापि उनमा धार्मिक कट्टरता थिएन । सबै धर्म प्रति उनको उच्च सम्मान थियो । साधगी जीवन बिताउने उनी निकै सरल पनि थिए ।
रेल बाटै दिल्लीको लाल किल्ला तथा अन्तराष्ट्रिय हवाईमैदानको अवलोकन तथा मोबाइल बाट फोटो कैद गर्ने काम गर्यौ । दिल्ली (हरियाणा हुदै साँझपख रेल राजस्थानको राजधानी जयपुर आइपुग्यो । दिन भर रेलबाट आँखाले नथाकुञ्जेल सम्म थित मर्ने गरी बाटोमा पर्ने स्थानीय परिवेश, भौगोलिक बनावट,खेतिपाती, गाउँ, शहर आदिको अवलोकन समेत गर्ने अवसर प्राप्त भयो । साँझ पर्न लागे पछी बाहिरी दृश्य देखिन छोड्यो । अनि सबै जना गफगाफमा मुखरित भयौ । हाम्रो समूहमा रमाइला साथीहरु थिए । अछाम बहुमुखी क्यामपसका प्रमुख छत्र विष्ट सर बहुत रमाइला र यात्रामा उत्साहित थिए ।
उत्साहवर्धक तरिकाले हिन्दीमा जानि नजानिकन विभिन्न कुराहरुको बारेमा जानकारी लिने र दृश्यावलोकन गर्थे । उनी खाना र सुत्नमा पनि सौखिन थिए । मंगलसेन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बृख बहादुर बोगटी भारतमा पहिलो पटक आएका रहेछन । हरेक कुरालाई कौतुहलतापूर्वक अवलोकन गरिरहन्थे व्यवस्थापकीय पाटो उनको साह्रै प्रशंसनीय थियो । मंगलसेन नगरपालिका महिला शाखा प्रमुख मञ्जु महत पनि हाम्रै समूहमा थिइन ।
धार्मिक तथा पर्यटकीय यात्रामा उनी निकै शौखिन थिइन । सधै हसिलो मुद्रामा देखिने उनी सहयोगी भावना तथा दयाकी खानी थिइन । हरेक कुराहरुको गहिरिएर अध्ययन गर्थिन र समस्याको समाधान गर्थिन । शोडषा मा वि का शिक्षक बिरकेश बोगटी सर भुगोल इतिहास तथा धर्म संस्कृतिका बारेमा बढी दखल राख्नुहुन्थ्यो । हामी बिच विभिन्न बिषयमा घनीभूत रुपमा छलफल हुन्थ्यो । त्यस्तै अछाम बहुमुखी क्याम्पसका प्राध्यापक नृप चाड र उहाँकी धर्मपत्नी पनि हाम्रै समूहमा थिए तर उहाँहरुको मधुवन यात्रा अलि ढिलो तय भएकाले सीट अर्कै डब्बामा पर्यो ।
रातको खानाको लागि रेलमा आउने घुमन्ते व्यापारीसँग अर्डर लिने काम विष्ट सरले गर्नु भयो । खाना आयो तर नियति अघिल्लो साँझको थियो रेट भने २० रुपिया बढी थियो आज पनि पूर्ण सन्तुष्टि हुने अवस्था नजिक पुग्न सकिएन । रेलको क्याबिन ३ तहको थियो । फोल्डिङ गरेको सीटलाई तह बनाएर सुत्यौ । बि के गाइडले आबु रोड स्टेशनमा उत्रनु पर्ने र राती करिब २।३० देखि ३ बजेको समयमा पुग्ने कुराको जानकारी दिएका थिए । मध्यरातमा सबै जनालाई निद्रा देवीले आफ्नो न्यानो काखमा लिएकी थिइन । रेल गन्तव्यमा पुगि सकेको थियो । तर हामी सबै मस्त निद्रामा थियौ । हठात विष्ट सर बिउझिनु भएछ । बाहिर हेर्दा स्टेशनमा आबु रोड जक्सन लेखेको देख्नु भएछ । हामी सबैलाई बिउझाउनु भयो । मैले समय कति भयो भनेर मोबाइलमा हेरेको त रातीको १:२८ बजेको थियो । अहिले कहाँ पुग्नु यति चाँडै भर्खर डेढ बज्यो भनेर विष्ट सरको कुरालाई पत्याएनौ । बाहिर हेर्छौ आबु रोड जक्सन लेखेकोछ तर निर्धारित समय पुगेको छैन । हामी अलमलमा पर्यौ । नभन्दै हामी बसेको सिट आबु रोड बाट अर्कैले टिकट काटेको रहेछ । त्यो मान्छे आयो र “उत्रो उत्रो य हमारा सीट है निचे चलो’’भन्दै थियो । मैले “य कौनसा स्टेशन हैरु’’ भनेर सोधेको त उसले “य आबु रोड है’’भनेर जवाफ दियो । अनि हामी सबै जना आफ्नो गन्तव्य प्रति विश्वस्त भयौ ।
उक्त डब्बामा रहेका अन्य साथीहरुलाई पनि जानकारी दिदै हतारहतार रेल बाट निस्कियौ । मध्यरातमा पनि मानिसहरुको चहलपहल कम थिएन । रेलवे स्टेशनका व्यपारीहरु रोकिएको रेल नजिक गएर सामान बिक्री गर्नको लागि कराउदै थिए । पुरै टोली रेल बाट ओर्लि सकेपछी एक ठाउँमा जम्मा भयौ कोही छुटेनछुटेको सुनुश्चितता गर्यौ तत्पश्चात गाइडले स्टेशन बाहिर लिएर गए । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग फाउण्डेसन लेखेका बसहरु बाहिर पट्टि पार्किङ गरेर राखेका थिए । उक्त बसमा चढेर सबै जना मधुवन तिर लाग्यौ ।
आबु रोड बाट मधुवन करीब ७ कि मि टाढा रहेछ । करीब १० मिनेट पश्चात बसले मधुवन ल्याइ पुर्यायो । ३ नं गेट अगाडी विश्वदीप भवनको भुई तलामा यात्रु प्रतिक्षालयमा केही समय विश्रामका लागि राखियो । मध्यरातको समय बिरानो ठाउँ सबै जना मलिन मुद्रामा देखिन्थे । अनुहारमा अन्यौलता छाएको थियो । पुन अर्को बस आएर हामीलाई आनन्द सरोवर तिर लिएर गयो । बस बाट झर्ने बितिकै बाह्य वातावरणलाई नियाल्दा जताततै उज्यालो प्रकाशमय थियो । आनन्द सरोवर परिसरमा बडेमानका ठुलाठुला गगनचुम्बी भवनहरु लहरै ठडिएका थिए । प्रभु मिलन, प्लाटिनम भवन,अमृत कलश र ज्ञान सरिता नाम गरेका भव्य गगनचुम्बी महलहरु एक अर्कालाई नियालि रहेका थिए ।
ब्रह्मकुमारी दिदीहरुले हामीलाई कार्ड दिदै आवासको प्रबन्ध गर्नु भयो । महिलाका लागि प्लाटिनम भवनको प्रबन्ध गरिएको थियो । सबै महिलाहरु त्यतै तिर लागे । पुरुषहरुका लागि ज्ञान सरिता र अमृत कलशमा आवासको व्यवस्थापन गरेको रहेछ । हामीलाई दिएको कार्डमा भवनको नाम , फ्लोर र कोठा नं लेखेको थियो । कार्ड हेर्दै हामी अछामका साथीहरु ज्ञान सरिता तिर लाग्यौ । उक्त भवनको दोस्रो तलाको कोठा नं २०९ हाम्रो कार्डमा लेखेको थियो । त्यसको खोजी गर्दै हामी कोठामा आइपुग्यौ । कोठा ठूलो थियो । लहरै ८ वटा खाटहरु लगाएका थिए । कोठाहरु सरसफाइयुक्त ,पंखा, कुलर र अटेच बाथरुमको व्यवस्था थियो । उपरोक्तानुसारका कार्यहरु गर्दागर्दै बिहानको अमृत बेला भई सकेको थियो । रातदिन यात्राले थाकेका कारण निद्रादेवीले तुरुन्तै आफ्नो शरणमा लिनु भयो ।
बिहाना अबेर गरी उठेर बाहिरी वातावरण नियाल्दा सर्व प्रथम पहाडको ठुलो ढुंगामा मयुर कराउदै थियो । ज्ञान सरिता भवनको दोस्रो तला उत्तर पट्टिको पहाड सँग जोडिएको पहाडमा ठुलाठुला चट्टानहरु थिए । दक्षिण तिर भने समथर मैदान थियो । मधुवन क्षेत्र काठमाण्डौ उपत्यका जस्तै थियो । वरिपरि होचा पहाडले घेरिएको बिचमा समथर भु(भाग काठमाण्डौ उपत्यका बढी उचाइमा भएका कारण समशितोष्ण हावापानी पाइन्छ भने मधुवन क्षेत्रको उचाइ कम भएकाले उष्ण प्रकारको हावापानी पाइने रहेछ । पानी निकै कम पर्ने रहेछ ।
सबै साथीहरुले नित्यकर्म सकेर चियापानको लागि डायमण्ड हल तर्फ प्रस्थान गर्यौ । डायनिङ हल ठुलो थियो । एक साथ हजारौ जना सँग बसेर खान सकिन्थ्यो । चिया नास्ता तथा खानाको व्यवस्थापन निकै व्यवस्थित थियो । आवश्यकता अनुसार चिया,कफी,दुध र खाजाको व्यवस्था गरिएको थियो । लामबद्ध तरिकाले शान्तपूर्वक सयौंको संख्यामा शिविरमा आएका नवआगन्तुकहरुले खाजा खाईरहेका थिए । खाना, पानी,बसाइ,सरसफाइ निकै व्यवस्थित थियो । कुनै व्यक्तिमा पनि असन्तुष्टि देखिएन । सबै व्यक्ति हसिलो मुस्कान सहितको मुद्रामा देखिन्थे । सबैको मुखारविन्द बाट बिहानी अविवादनका लागि शान्तमय वातावरणमा ॐ शान्तिको ध्वनिले पुरै वातावरण ॐ शान्तिमय भई सकेको थियो ।
हजारौको संख्यामा मानिसहरु शिविर भर्नका लागि आएका थिए । यो समयको शिविरमा भने अधिकांश नेपालीहरु नै थिए । आयोजकले त्यहाँ हुने कार्यक्रम लगायत खाजा,खाना समय सहितको दैनिक कार्यतालिका सहितको जानकारी गराए । ५ दिने कार्यक्रममा हुने ध्यान,प्रवचन, घुम्ने ठाउँको बारेमा समेत उल्लेख थियो । पहिलो दिन औपचारिक कार्यक्रम थिएन । केही आगन्तुकहरु आउन बाकी नै थिए त्यसैले २४ जुलाइ बाट औपचारिक कार्यक्रम राखिएको थियो । त्यो दिन कुनै कार्यक्रम नभएकाले आश्रम भित्र रहेका विभिन्न स्थान घुम्ने योजना बन्यो । खाना खानु भन्दा अगाडी बिहान पख शान्ति वन क्षेत्रको अवलोकन गरियो । शान्ति वन क्षेत्र सयौ एकडमा फैलिएको थियो यहाँ थुप्रै भौतिक संरचनाहरु बनाएका थिए ।
ठुलाठुला गगनचुम्बी भवनहरु बनाइएका थिए । मधुवन क्षेत्रको प्रशासकीय कामकाज शान्ति वन बाट हुने गर्थ्यो । कार्य व्यवस्थापनका लागि छुट्टाछुट्टै विभागहरुको व्यवस्थापन गरिएको थियो । कर्मचारीहरु स्वेच्छिक रुपमा काम प्रति जिम्मेवार र बफादार थिए । यातायात विभाग, औषधीउपचार विभाग, खाद्य विभाग, बिजुली विभाग, सोलार विभाग, खानेपानी विभाग,कपडा विभाग,खाना पकाउने विभाग, तरकारी विभाग, पुस्तकालय विभाग लगायत अन्य थुप्रै विभागहरु स्थापना गरीएका थिए । यी सबै विभागहरुको सामान्य रुपमा जानकारी लिने काम गरियो ।
ठाउठाउमा ध्यानकेन्द्रहरु बनाइएका थिए । वरवरको वातावरण निकै सफासुग्घर थियो । विभिन्न बगैचा र वृक्षहरुले वातावरणमा सुन्दरता थपिरहेको थियो । भिआइपिहरुको बस्न र खानको लागि न्यू डायमण्ड हाउस र डायमण्ड कटेज बनाएको थियो । पूर्व पट्टि विभिन्न सभासमारोह तथा ठुला शिविरहरु सञ्चालन गर्नका लागि ब्रह्मकुमारिज डायमण्ड हल बनाइएको थियो । करिब २०००० जना सहभागी गराउन सकिने भव्य हललाई दुलही झै श्रृंगार गरिएको थियो ।
यो हल भारतकै ठुला हलको गणनामा रहेछ । तर यति बेला पश्चिम पट्टिको भागमा मर्मत भई रहेको थियो । हल भित्र पर्याप्त मात्रामा फर्निचर लगायत अन्य सुविधाको पनि व्यवस्थापन गरिएको थियो । मधुवन क्षेत्रमा भौतिक र प्रविधिको उच्चतम विकास गरिएको थियो । विकासको सुन्दर नमुनाको रुपमा मधुवन क्षेत्र परिचित रहेछ । आश्रम भित्र कुनै पनि कुराको अभाव र समस्या थिएन । संस्थाको व्यवस्थापकीय पाटो निकै अब्बल र प्रशंसनीय थियो ।
दैनिक रुपमा आउने हजारौ व्यक्तिलाई खान बस्नको उचित प्रबन्ध हुन्थ्यो । हाम्रा लागि शिविर नितान्त नौलो भएता पनि यस्ता शिविरहरु आश्रममा बर्ष भरी नै चलिरहन्थे । शान्ति वन क्षेत्रमा भएका भौतिक संरचना तथा संस्थाको व्यवस्थापकीय पक्षको अवलोकन गर्दै ब्रह्मा भोजनालयमा आइपुग्दा करिब १२ बजि सकेको थियो । भोजनालयमा खाना सुरु भईसकेको थियो । सात्विक खाना खाएर कोठा तर्फ लागियो र थाकेको शरीरलाई विश्राम दिन तिर लागियो । मधुवन क्षेत्रमा भारतको बहुआयामिक बहुचर्चित सोलार प्लान्ट पनि बनेको रहेछ । जर्मन सरकार र भारत सरकारको ७५ करोडको संयुक्त लगानीमा जर्मन प्रविधिमा आधारित अत्याधुनिक सोलार प्लान्ट जडानले संस्थाको मधुवन क्षेत्रका लागि आवश्यक शौर्य विद्युत उत्पादन तथा वितरण गर्थ्यो । बेलुका तिर सोलार प्लान्टको अवलोकन गरे पश्चात स्थानीय अटो रिक्सा बाट मानसरोवर तर्फ हानियौं ।
अरावली पर्वत श्रेणीबाट झर्ने बनास नदीको किनारामा मानसरोवर अवस्थित थियो । मानसरोवर भित्र सुन्दर बडेमानका अत्याधुनिक सुविधा सम्पन्न गगनचुम्बी भवनहरु, बगैचा, ध्यान केन्द्रहरु निर्माण गरेका थिए । मानसरोवर भवनको सातौ तल माथि विशाल पार्क बनाइएको थियो । उक्त भवनमा २५०० जनाको लागि खाने,बस्ने,आरामदायी ध्यानकेन्द्र, भोजनालय र सभाहलको व्यवस्था गरिएको थियो । आधुनिक प्रविधिको उच्चतम विकास मानसरोवरमा देख्न सकिन्थ्यो अनि मोबाइलमा फोटाहरु कैद गरी सडकको पूर्वपट्टि रहेको गौशालामा प्रवेश गर्यौ । संस्थाद्वारा सञ्चालित गौशाला निकै व्यवस्थित थियो । सयौको संख्यामा उन्नत जातका गाईहरु पालन गरिएको थियो । संस्थालाई आवश्यक पर्ने दुध गौशाला बाट उत्पादन गरिन्थ्यो । संस्थाको विकास र नेपालले गर्न सक्ने विकासको बारेमा केही बेर समूहमा छलफल गर्यौ । एउटा संस्था र सिङ्गो देशको तुलना गर्यौ । राजस्थानको मरुभुमिमा संस्थाले गरेको विकास निकै प्रशंसनीय थियो । नेपालमा यस्ता थुप्रै प्राकृतिक, ऐतिहासिक र धार्मिक स्थलहरु एकसे एक थिए तथापि तिनको प्रचार प्रसार र विकास हुन सकेको थिएन । यो बिषयमा समूहमा गहन चिन्तन गर्यौ ।
अर्को दिन सबेरै उठेर नित्यकर्म सकाएर अमृत बेलामा दिव्य अनुभुति हलमा ध्यान गर्नुपर्ने कार्यक्रम अनुसार सबै जना हलमा आइ पुगे । १५०० जना अट्ने उक्त हल सुविधासम्पन निकै ठुलो थियो । लहरै राखिएका कुर्चीमा मानिसहरु बसेर मधुर प्रकाशमा ध्यान गर्ने लागे । दैनिक समयका किसिमले अमृत बेला ९बिहान ४(५० बजे सबै भन्दा उत्तम र उर्जाशिल समय हो । ज्ञान, ध्यान र तपका दृष्टिले यो समय उत्तम मानिन्छ । चियापान गरेर पुन: आ(आफ्नो कोठा तिर लाग्यौ । ६।३० बजे बाट राजयोग शिविर शुभारम्भ हुने निर्धारित समयानुसार सबै जना दिव्य अनुभुति हलमा आइपुगे । परिचयात्मक कार्यक्रम सँगै संस्था र राजयोग शिविरको परिचयका साथै बिके छन्दा दिदी बाट सुमधुर वाणीमा आध्यात्मिक प्रवचन गरियो । प्रवचन निकै महत्वपूर्ण र उपयोगी थियो । बिहान ८ बजे खाजा खाएर माउण्ट आबु जाने कार्यक्रम अनुसार सबै जना ३ नं गेटमा गाडीको प्रतिक्षामा बस्यौ । संस्थाको आफ्नै बस बाट हामी सबै माउण्ट आबु तर्फ लाग्यौ । मधुवन बाट माउण्ट आबु २२ किलोमिटरको दुरीमा थियो । बस अरावली पर्वतमालामा रहेको माउण्ट आबु तर्फ हानियो ।
पहाडका मोडहरु छिचोल्दै जाने क्रममा बीचमा वन्यजन्तु आरक्ष भएर गाडी हुइकि राखेको थियो । प्राकृतिक रुपमा सुन्दर पहाड जैविक विविधताले पनि भरिपूर्ण थियो । विभिन्न प्रकारका चराचुरंगीहरु बन्य जन्तुहरु विविध प्रकारका वनस्पतिहरु र अरावली पर्वतको दृश्यावलोकन गर्दै करिब ४५ मिनेटको यात्रा पश्चात गाडीले माउन्ट आबु ल्याइ पुर्यायो । पर्वतमालाको बीचमा सम्म परेको भुमि ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयको मुख्यालय हो । समशितोष्ण हावापानी पाइने उक्त क्षेत्र धार्मिक पर्यटन एवं जैविक विविधताका दृष्टिले सम्पन्न स्थल हो । माउण्ट आबु क्षेत्रमा ब्रह्मकुमारी फाउण्डेशनका लागि मात्र महत्पूर्ण नभएर पद यात्रा र धार्मिक ऐतिहासिक एवं जैविक विविधताको खोज अनुसन्धान गर्नेहरुका लागि पनि उतिकै महत्वपूर्ण छ । सिमसिमे पानी सँगै ज्ञान सरोवर भित्र प्रवेश गरेर त्यहा भित्र रहेका भौतिक संरचना,जलासय,गुलजर पार्क,जानकी उद्यान,पुष्पक विमान,भोजनालय,बाबाका कमारा लगायत महत्वपूर्ण स्थानको अवलोकन भ्रमण गरियो ।
गुल्जर र जानकी उद्यान भित्र रहेको रंगिबिरङगी किसिमका शोभायमान,सुसज्जित, ढकमक्क फुलेका सयौं थरिका पुष्पहरु,लता लहरा तथा वनस्पतिहरु नजिकै रहेको पुष्पक विमान सुन्दर, निर्मल, स्वच्छ, सरसफाइयुक्त हरभरा वातावरण भित्र प्रवेश गर्दा पौराणिक कथाहरुमा वर्णित इन्द्रको नन्दन वन झै लाग्थ्यो । जीवनका दु:ख,थकान र पिडाहरुको गह्रौं भारीहरु बिर्सेर आनन्दको बर्षा भएको महसुश हुन्थ्यो । सुशोभित उद्यान भित्र केही क्षण विश्राम गर्ने हो भने साँच्चै स्वर्गीय आनन्द प्राप्त हुन्थ्यो । ज्ञान सरोवर भित्र रहेको अन्तराष्ट्रिय स्तरको हार्मोनियम सभाहल भित्रको भौतिक व्यवस्थापन निकै सुन्दर थियो । यस हलमा विश्वका विभिन्न देशका मानिसहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिन्छ । यो हल भित्र ५००० हजार मानिस अटाउने क्षमता रहेको छ । २२ वटा भाषामा एक साथ ट्रान्सलेट गर्न सकिने अत्याधुनिक प्रविधिको जडान गरिएको थियो । सरोवर भित्र संस्थाको विकासक्रमको ऐतिहासिक चित्रात्मक कक्षको व्यवस्थाले जो कोही ले संस्थाको बारेमा सजिलै जानकारी प्राप्त गर्ने अवसर पाइन्छ । भारत बर्षमा छरिएर रहेका विभिन्न द्वादश ज्योतिर्लिङ्गको एक साथ दर्शन तथा पूजनका लागि व्यवस्था मिलाइएको थियो । साथै सत्य,त्रेता,द्वापर र कली चार युगको धर्म,संस्कति र मानव विकासक्रम झल्किने चित्रात्मक कक्षको पनि सहज रुपमा अवलोकन गर्ने कार्य पश्चात ज्ञान सरोवर भित्र रहेको बाबाको सुत्ने कोठा र समाथि स्थल शक्ति स्तम्भको पनि दर्शन गरियो । विश्वविद्यालय द्वारा सञ्चालित ग्लोबल हस्पिटल एण्ड रिसर्च सेन्टरको अवलोकन पनि गर्ने अवसर प्राप्त भयो ।
भारतमा भएका रिसर्च सेन्टर मध्ये यो पनि एक प्रमुख सेन्टर थियो । अनेकौ रोगहरुको पहिचान अनुसन्धान तथा निदान गर्ने एक प्रतिष्ठित संस्थाका रुपमा भारत भर प्रसिद्ध थियो । उक्त क्षेत्रमा रहेको सबै भन्दा ठुलो मानव निर्मित नक्की तालको अवलोकन गर्ने क्रममा नजिकै रहेको स्थानीय व्यापारीको सल्लाहमा राजस्थानी मौलिक पोशाक लगाइ घोडामा सवार भई नक्की ताल सरिसरको भ्रमण तथा फोटो कैद गर्ने कार्य पनि सम्पन्न भयो । विशाल नक्की ताल पवित्र एवं निर्मल थियो । तालमा जल सवारका लागि डुंगाको पनि व्यवस्था गरिएको थियो । सयौं पर्यटकहरु डुंगामा सररर ‘‘।सवार गरेका दृश्य निकै लोभ लाग्दो थियो । समय अभावका कारण हामी त्यो आनन्द लिन बाट बञ्चित हुनुपर्यो ।
तत्पश्चात नजिकै रहेको पाण्डव भवन क्षेत्रमा प्रवेश गर्यौ । उक्त क्षेत्र पनि निकै सुन्दर र महत्वपूर्ण थियो । यो संस्थाको सबै भन्दा पुरानो भवन पनि हो । भवन भित्र रहेका कलाकौशल र भौतिक निर्माणको अवलोकन गरेर बिहानाको भोजनका लागि भोजनालय तिर हानियौ । शान्ति वन क्षेत्र जस्तै यो भोजनालय पनि निकै सरसफाइ युक्त हजारौ जना एकसाथ भोजन गर्न सक्ने सुविधा मिलाइएको थियो । बाबाको आश्रममा बनेको स्वादिष्ट सात्विक भोजनको आनन्दका साथ भोजन गर्यौ । माउण्ट आबुमा रहेको प्राचीन ऐतिहासिक प्रसिद्ध दिलवाडा जैन मन्दिर भित्र प्रवेश गर्यौ । मन्दिर परिसर भित्र दर्शन गर्दा कडा नियम लगाइएको थियो । जुत्ता,चप्पल, पर्स,बेल्ट,मोबाइल,क्यामेरा आदि लिन निषेध गरिएको थियो । दिलवाडा परिषर भित्र ५ वटा मन्दिर हरु थिए । यी मन्दिरहरु करीब १००० बर्ष पुराना रहेछन । मन्दिरहरु निकै नै कलात्मक ढंगले बनेका थिए ।
वास्तुकलाको उच्चतम नमुना मन्दिरहरुमा प्रदर्शित थियो । सिङ्गमर्मरमा हजारौ प्रकारका कलाकृतिहरु कुदिएका थिए । मन्दिर निर्माणको ऐतिहासिक पृष्ठभूमि तथा निर्माणमा प्रयोग भएको मार्वल तत्कालिन समयमा हात्तिबाट ढुवानी गरेको बारेमा मन्दिर पुजारीले जानकारी दिए । अग्निमन्दिरको पूजनदर्शन गरी पिस पार्कका लागि प्रस्थान गर्यौ । पिस पार्क पनि निकै रमाइलो थियो । पार्क भित्र अनेक पुष्प बाटिकाहरुमा थरथरीका फुलहरु ढकमक्क फुलेका थिए । अनेक पेडपौधा र वनस्पतिको हरियाली ,रङ्गिबिरङ्गी फुलहरुको सुगन्ध र चराचुरङ्गीको चिरिबिरि आवाजले आगन्तुकलाई निमन्त्रण गरिराखेका थिए । केही समय पिस पार्कको मनमोहक दृश्य र सुगन्ध सँगै आफै हराएको महसुश भयो ।
पिस पार्कमा केही बेरका लागि तन, मन,वचनलाई पिसफुल ९शान्तिपूर्ण० राख्दा साँच्चै स्वर्गानुभुतिको आभाष भयो । उपरोक्तानुसारका गतिविधिहरु गर्दागर्दै समयले नेटो काटि सकेको थियो । सूर्य भगवानको प्रस्थान पश्चिम तिर भई सकेको थियो । सिमसमे पानीमा रुझ्दैभिज्दै दिनभरको रमाइलो अविष्मरणीय दृश्यलाई मन मस्तिष्कमा सजाउदै माउन्ट आबु बाट शान्ति वन क्षेत्रका लागि रमना भइयो । माउन्ट आबु पर्वतमा थुप्रै पर्यटकीय, धार्मिक, ऐतिहासिक र दर्शनीय स्थलहरु अवस्थित छन समय अभावका कारण सबै महत्वपूर्ण स्थानहरुको अवलोकन भ्रमण गर्न सकिएन । साँझपख नियमित रुपमा हुने प्रवचन,ध्यान,मनन र भोजन गरी दिनचर्यालाई विश्राम दिदै, मिठो निद्रा र सपनाको अपेक्षा गर्दै निद्रादेवीको शरण पुगियो ।
बिहानी नित्यकर्म सकेर दिव्यानुभुती हलमा अमृत बेलामा ध्यान सकिए पश्चात चियापान गर्दै ६।३० बाट हुने प्रवचन कार्यक्रममा सहभागि हुन कार्यतालिका बमोजिम सबै जना लहरै विशाल हल भित्र दिव्यानुभुति लिदै थिए । करिब १५०० भन्दा बढी नै संख्यामा मानिसहरु हल भित्र प्रवेश गरी सकेका थिए । यति ठुलो संख्या एक साथ प्रवेश गर्दा पनि कुनै हो –हल्लाको गुञ्जायस थिएन सबै जना शान्तिपूर्ण तरिकाले भक्तिभावका साथ ब्रह्मकुमारी दिदीहरुका मुखारबिन्द बाट सुमधुर वाणीमा हुने प्रवचनको प्रतिक्षामा आ(आफ्नो सिटमा आसिन भएका थिए । दोस्रो दिन सकारात्मक चिन्तन द्वारा तनावमुक्त जीवनशैली,स्वयंको पहिचान गरौ,सर्वोच्च सत्ताको पहिचान तथा स्वीकार,राजयोग द्वारा आध्यात्मिक सशक्तिकरण र राजयोगका आधार विधि र अनुभुति गरी ५ वटा प्रवचन कक्षाहरु राखिएका थिए । सुमधुर वाणी द्वारा विदुषी ब्रह्मकुमारीहरु बाट प्रवचनको सुरुवात भयो ।
सम्पूर्ण सहभागी भाई बहिनीहरु उत्साहवधर्क तरिकाले प्रवचन श्रवण गरी राखेका थिए । मानव जीवनका लागि आवश्यक अत्यन्तै व्यवहारिक पक्षमा अनेकन दृष्टान्त दिएर दिव्य प्रवचन दिदै गर्दा सम्पूर्ण सहभागीहरु मन्त्रमुग्ध भएका थिए । मानिसको मनमा जहिले पनि नकारात्मक विचारहरु उत्पन्न हुने गर्दछन । मानिसले नकारात्मकतालाई छोड्दै सकारात्मक विचार तर्फ केन्द्रित हुनुपर्दछ । सकारात्मक चिन्तनले मानिसलाई असल कार्य गर्न प्रेरित गर्दछ । संस्कार तथा व्यवहार परिवर्तन गर्न र शान्ति पाउनका लागि स्वयंलाई चिन्नु पर्दछ । स्वयं चिन्न आत्माको पहिचान हुनुपर्दछ । हरेक मानिसमा आत्मा छ ।आत्माको पहिचान ध्यान बाट गर्न सकिन्छ । आत्माको पहिचान पश्चात परमात्मा प्राप्ति तर्फ केन्द्रित हुनु पर्दछ । परामात्मा एक शिव स्वरुप निराकार द्विव्य ज्योति हो । परमात्मा सर्वश्रेष्ठ सर्वज्ञ सर्वगुण र सर्व शक्तिमान हुन्छ ।
जीवहरुको अन्तिम लक्ष्य परमात्माको प्राप्ती हो । इन्द्रियहरु द्वारा कर्म भईरहेको छ र आत्मा द्वारा इन्द्रिय परिचालित छन । शरीरलाई चलाउनेवाला चेतन शक्ति आत्मा हो । आत्मा संकल्प शक्ति हो । आत्मा अविनाशी छ । आत्माले शरीरलाई छोड्दा शरीर निर्जीव हुन्छ जसलाई मृत्यु भनिन्छ । उक्त आत्मा अर्को शरीरमा स्थानान्तरण हुन्छ जसलाई पुर्नजन्म भनिन्छ । मानिसले यस जन्ममा गरेका कार्यलेहरुले उसको पुनर्जन्मलाई निर्धारण गरेको हुन्छ । त्यसैलै हरेक मानिसले पुण्य काम गरौ र पुण्य आत्मा बनौ शरीर छोडौ तर आत्मा नछोडौ । राजयोग द्वारा आध्यात्मिक शसक्तिकरण हुन्छ । ध्यान द्वारा शान्ति प्राप्त हुन्छ । आत्मा र परमात्माको मिलनमा ध्यानले पुलको काम गर्छ ।
अर्थात ध्यानले आत्मा र परमात्मालाई जोड्ने काम गर्दछ । मेडिटेसनलाई अष्ट भुजा धारीको प्रतिमूर्तिका रुपमा लिन सकिन्छ । आठ ओटा भुजामा आठ ओटा शक्ति निहित हुन्छ । मेडिटेशनका अष्ट भुजामा उयधभच तय धष्तजमचबध, उयधभच तय दबअपगउ, उयधभच तय तयभिचबतभ, उयधभच तय बमवगकत, उयधभच तय मष्कअयखभच, उयधभच तय मभअष्मभ, उयधभच तय ाबअभ बलम उयधभच तय अय(यउभचबतष्यल पर्दछ । यी शक्ति आर्जनका लागि पनि ध्यान गर्नु पर्दछ । मानिसका लागि कर्म क्षेत्र नै कुरु क्षेत्र भएकाले हरेक पल हरेक दिन कुनै न कुनै कुराहरु सँग सङ्घर्ष गर्नुपर्दछ । सङ्घर्ष र मुकाबिला गर्दागर्दै मानव लिला समाप्त हुन्छ । यसरी मानव जीवनलाई असल शान्तिपूर्ण र खुशीमय बनाउने बिषयमा दिनभर घनीभूत रुपमा दिव्य प्रवचनद्वारा सहभागीहरुलाई तृप्त गर्ने कार्य भए पश्चात समयले नेटो काटि सकेको थियो । सबै जना सायंकालिन भोजन ग्रहण गर्दै आ(आफ्नो कमरा तिर लाग्यौ । दिन भर भएको प्रवचन माथि समिक्षा गर्दै आजको महत्वपूर्ण दिनलाई बिदाई गर्दै सुलौलो बिहानीको प्रतिक्षामा शरीरलाई विश्राम दिन तिर लागियो ।
तेस्रो दिन बिहानी नित्यकर्म सकेर दिव्यअनुभुति हलमा ध्यान सकेर चिया पान गर्दै ६।३० बाट हुने ब्रह्मकुमारी गिता दिदी बाट हुने प्रवचनका लागि हल प्रवेश गरियो । गिता दिदीले मधुर वाणीमा राजयोग मेडिटेसनको बारेमा जानकारी गराउनु भयो । यम,नियम,प्रणायाम लगायत राजयोगको महत्व तथा ध्यान गर्ने विधिका बिषयमा छर्लङग पार्नुभयो । तन्त्र, मन्त्र बिना निराकार परमपिता शिवजीको ध्यान गर्दा दिव्य ज्ञान प्राप्त हुने बिषयको बारेमा थप स्पष्ट पार्न प्रजापिता बाबाले एकाग्रतापूर्वक ध्यान गर्दा स्वयं शिवजी आइ बाबालाई दिव्य ज्ञान प्रदान गर्नु भएको र जुन ज्ञान हाल संस्था द्वारा सबै मानवलाई वितरण गर्दै आएको बिषय जानकारी गराउदै जुनसुकै स्थान,आसन,बस्त्र र वातारणमा ध्यान गर्न सकिने बिषयमा प्रस्ट पार्दै आफ्नो सुमधुर प्रवचनद्वारा सहभागीहरुलाई मन्त्रमुग्ध पार्नु भयो ।
यसै गरी ब्रह्मा बाबाको जीवन चरित्र र ईश्वरीय विश्वविद्यालय स्थापनाको पृष्ठभुमिलाई समेत सुमधुर वाणिमा प्रष्ट्याउनु भयो । ॐ शान्ति समुदायका चार धाम हिष्ट्रि हल,बाबाको झोपडी,बाबाको कमरा र शान्ति स्तम्भको पनि अवगत गराउनु भयो । तेस्रो दिन बिहानी एक सत्र मात्र प्रवचन थियो । फुर्सदको दिन भएकाले मधुवन क्षेत्रमा घुम्न बाँकी रहेका महत्वपूर्ण स्थानको भ्रमण गर्ने योजना बन्यो । योजना अनुसार सर्वप्रथम मनमोहिनी वन तर्फ लाग्यौ । यो क्षेत्र ठुलो परिसर भित्र फैलिएको थियो । परिसर भित्र ब्रह्मलोक दिव्यलोक र त्रिलोक गरी तीन ओटा भव्य गगनचुम्बी भवनहरु अवस्थित थिए । ति भवनहरुमा २५०० जनालाई खाना खाने,बास बस्ने, ध्यान गर्ने र घुमफिर गर्नका लागि बगैचाहरु पनि बनाइएको थियो । नजिकै रहेको संस्थाको गडीवुड स्टुडियोको अवलोकन गर्ने क्रममा स्टुडियोको प्रबन्धकले स्टुडियोको प्राविधिक र व्यवस्थापकीय पक्षको जानकारी दिए । उक्त स्टुडियोमा संस्थाका लागि आवश्यक पर्ने भिडियोहरु सुटिङ तथा निर्माण गरिन्थ्यो । यसै स्टुडियो बाट संस्थाको आफ्नै एफ एम रेडियो र टेलिभिजन प्रशारण गरिन्थ्यो । जस्तो नाम उस्तै बिशेषताहरुका कारण प्रत्येक बर्ष मधुवन क्षेत्रमा लाखौंको संख्यामा पर्यटकहरु आउने र संस्थाको बारेमा जानकारी लिन्थे ।
मनमोहिनी वनको उत्तर पूर्व क्षेत्रमा रहेको भगवती माताको मन्दिर र पहाडमुनिको गुफा एक प्रसिद्ध धार्मिक स्थल थियो । विशाल पर्वत र शिलालाई काटेर संरचनाहरु निर्माण गरिएका थिए । पर्वतीय क्षेत्रमा विकासको उच्चतम नमुना त्यहा देख्न सकिन्थ्यो । दिवा खाना खाएर ३ बजे तिर तपोवन क्षेत्रमा हानियौं । तपोवन क्षेत्र साँच्चै तपस्या गर्न लायक ठाँउ थियो । यो क्षेत्र सयौं एकड जमिनमा फैलिएको थियो । सुन्दर पुष्प बाटिकाहरु ,सयौं प्रकारका फलफुलहरु, हरियाली वनस्पतिहरुद्वारा तपोवन सुसज्जित थियो । संस्थाका लागि आवश्यक पर्ने बिषादि रहित अर्गानिक तरकारी खेति, फलफुल खेती ठुलो क्षेत्रमा लगाइएको थियो । राजस्तानको मरुभुमिमा पनि यस्तो दुर्लभ हरियाली तपोवन क्षेत्रमा देख्न सकिन्थ्यो । पहाडी क्षेत्रमा फल्ने सुन्तला, स्याऊ, जुनार,मौसमी जस्ता फलफुलहरु रुख भरि लटरम्म फलेका थिए । तपोवन क्षेत्र भित्र एक ठुलो गौशाला पनि थियो । गौशाला भित्र सयौंको संख्यामा उन्नत जातका गाईहरु पालन गरिएका थिए ।
तपोवन क्षेत्र पैदलद्वारा भ्रमण गर्न सम्भव थिएन त्यसैले विद्युतीय अटोबाट तपोवन परिसरको परिभ्रमण गर्दा चालकले भित्र रहेका सम्पूर्ण स्थानको परिचय गराउदै अन्त्यमा पहिलेकै स्थानमा ल्याई पुर्यायो । अन्त्यमा हामी शान्ति वन क्षेत्रको दक्षिण पट्टि रहेका प्रकाशमणी पार्कमा आइपुग्यौ । यो पार्क पनि निकै सुन्दर थियो पार्क भित्र पुष्प बाटिका ,फलफुल बगैचा र सुन्दर हरियाली मैदानहरु थिए । पार्क परिसरमा सुन्दर भवनहरु पनि अवस्थित थिए । यी भवनहरु आगन्तुकका लागि आवासको रुपमा प्रयोग हुने गर्दथे । पि के पार्कमा आउने व्यक्तिहरुले मधुवन क्षेत्रको भ्रमणको एक आपसमा अनुभव आदानप्रदान गर्ने र आ(आफ्नो ठाउँको स्थानीय कला संस्कृतिको झलक प्रदर्शन गर्ने प्रचलन रहेछ । त्यसै अनुरुप सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सहभागिहरु मिलेर राजस्तानको मरुभुमिमा सुदूरपश्चिमको पहिचानका रुपमा रहेको देउडा खेल प्रदर्शन गरियो । महिला र पुरुष मिलेर देउडा भट्याउदै पिके पार्कलाई देउडामय बनाइयो । पूर्वी नेपाल र भारतीयहरु रमाइलो तरिकाले देउडा खेल नियालीरहेका थिए । अन्तिममा मन थाम्नै नसकेर जानीनजानीकन देउडामा सहभागी भए । भारतीय भुमिमा सुदुरपश्चिमेली मौलिक देउडा गीत घन्काएर आजको भ्रमण कार्यक्रमको समापन गरी आवासिय क्षेत्र आनन्द सरोवर परिसर तिर प्रस्थान गरियो । सांयकालिन भोजन पश्चात कमरामा गई विश्राम गरियो ।
चौथो दिनको सुभारम्भ बिहानी नित्यकर्म बाट गरियो । बिहान देखि साँझ सम्म पाँच वटा सेसनमा प्रवचन गर्ने कार्यतालिका अनुसार पहिलो सत्र संस्कार परिवर्तनद्वारा संसार परिवर्तन शिर्षकमा राज सिंह भाइ बाट दिव्य प्रवचनको सुभारम्भ गर्नुभयो । प्रवचन निकै व्यवहारिक र मानव जीवनका लागि फलदायी थियो । अनेकौ दिव्य दृष्टान्तहरुद्वारा संस्कार परिवर्तन गर्न सकिने बिषयमा जोड दिदै सुख,शान्ति,आनन्द र प्रेम प्राप्तिका लागि संस्कारमा पवित्रता र शुद्धता हुनुपर्ने कुरामा दिनु भयो । यसै गरी परमात्माका दिव्य कर्तव्य एवम् सृष्टि चक्रका ज्ञान कल्प वृक्ष धर्मका इतिहास जन्म मरणका सिढी कर्मका गहन गति र श्रीमद्भागवत गिता एवं महाभारतका सच्चा सार बिषयमा दिव्य वाणीहरु द्वारा मुन्त्रमुग्ध बनाउने कार्य भयो ।
मानव जीवनको अन्तिम लक्ष्य भनेको परमात्माको प्राप्ति सँगै जन्म मरणको प्रपञ्च बाट मुक्त भई मोक्ष प्राप्त गर्नु हो ।
परमात्माको प्राणी प्रतिको कर्तव्य सृष्टि चक्रको गतिको एवं विश्व विख्यात ग्रन्थ गिताको संक्षेप सार र महाभारतको धर्म युद्धको कारण र नतिजाको बारेमा दिन भर सुमधुर प्रवचन ग्रहण गर्ने सुअवसर प्राप्त हुँदा सबै सहभागिको मन प्रफुल्लित थियो । सर्वश्रेष्ठ मानवीय जीवनलाई सार्थक र मूल्यवान बनाउन मानिसले काम क्रोध लोभ मोह जस्ता जञ्जिर बाट मुक्त हुनु पर्दछ । चञ्चल इन्द्रियहरुलाई स्वयं नियन्त्रण गरी परमात्माको खोजी तर्फ मन वचन र कर्मलाई भक्तिभावपूर्वक निस्वार्थ तरिकाले समर्पण गर्नुपर्ने बिषयहरुलाई प्रवचनको क्रममा गहन रुपमा उठाइयो । दिन भर भएको प्रवचन बाट दिव्य अनुभुति प्राप्त गर्दै सांयकालिन नित्य कर्महरु समापन पश्चात महत्वपूर्ण दिनको सम्झना स्वरुप समूहमा समिक्षा गर्दै आगामी दिनमा जीवनलाई सारभूत बनाउने सद्संकल्प गर्दै आजको दिनलाई बिदा गरियो ।
पाँचौ तथा मधुवन बसाइको अन्तिम दिन सदा झै बिहानीका नित्यकर्म सम्पन्न भएर ब्रह्मकुमारी गिता दिदी बाट ईश्वरीय महानवाणीका श्रवण तथा ईश्वरीय सेवा विधिका बिषयमा सुमधुर वाणीमा प्रवचन प्रदान गर्नुभयो । संस्थामा ज्ञान मुरलीको श्रवण तथा पालना गर्नु पर्ने आचरण लगायत ॐ शान्ति परिवारका सदस्यले पालना गर्नुपर्ने सदाचारसँग सम्बन्धित बिषयवस्तुमा आधारित रही दिव्य प्रवचन द्वारा मानव जीवन सफलीभूत पार्न सकिने कुरा औल्याउनु भयो । ब्रह्मा बाबाले साधनाबाट प्राप्त गरेको दिव्य ज्ञानलाई ॐ शान्ति परिवारमा मुरली भनिन्छ । बाबाको मुखारबिन्दबाट प्रस्फुटित दिव्य ज्ञानलाई स्वयंले जीवित रहुञ्जेल अन्य अनुयायीहरुलाई बाँडेको ज्ञान साकार मुरली भित्र पर्दछ भने बाबाको ब्रह्मलिन पछि प्रचारित ज्ञानलाई अव्यक्त मुरली भनिन्छ । मुरलीलाई श्रीमद्भागवत गिता जस्तै मानिन्छ ।
अवलोकन भ्रमणको अन्तिम दिन भएकाले समूहगत रुपमा शान्तिवन आनन्द सरोवर भित्र अवलोकन गर्न बाँकी रहेका आर्ट म्युजियम,खाना बनाउने ठाउँ लगायत विभिन्न स्थलको अवलोकन गर्दै शान्तिवन परिसरमा रहेको बजार क्षेत्रमा प्रस्थान गरियो । सडक छेऊमा रहेको बजारमा मधुवनको चिनो तथा सम्झना स्वरुप केही सामाग्रीहरु किन्ने कार्य भयो । बाह्य बजार निकै अव्यवस्थित थियो । बजारमा प्राय जसो सामाग्रीहरु ब्रह्मकुमारी सँग सम्बन्धित थिए । लुगाकपडा,विद्युतीय सामाग्री,स्टेशनरी सामाग्री लगायत अन्य सामाग्रीहरुमा प्रायजसो संस्थाको प्रतिक चिन्ह अंकित गरिएका थियो । सामाग्री खरिद गर्दा नेपाली देख्ने बितिकै महंगो मूल्य कायम राखी बेच्ने बानी परेका स्थानीय व्यापारीहरु निकै चलाखीपूर्ण तरिकाले व्यापार गर्दथे । निकै बार्केनिङ पश्चातमात्र मूल्यमा चित्त बझाउन सकिन्थ्यो ।
आजैकै दिन राती हामीले फिर्ती हुने कार्यक्रम तय गरेको थियो । संस्थाले रेलको टिकटहरु पहिलेनै काटिसेकेको थियो । फर्किने दिन भएकाले सबै जनाले हतार महसुश गरिरहेको देख्न सकिन्थ्यो । दिनभर स्थानीय आबुरोड बजार घुमफिर गरेर आवास क्षेत्र आनन्द सरोवरमा फिर्ती भएर झोलाझण्डा प्याकिङ् गर्ने कार्यमा सबै जना अभ्यस्त देखिन्थे । संस्थाले शिविरमा सहभागी भएका सबै जनालाई मधुवनको चिनो स्वरुप सौगात उपहार दिने कार्यक्रम राखेको थियो । लक्ष्मी नारायणको तस्विर अंकित फ्रेम र डायरी र तिलक लगाइ सहभागीहरुको बिदाइ गरियो । शिविरमा सहभागीहरुलाई बाटोमा खाना नास्ताका लागि रोटी, तरकारी,पुरी,अचारहरु प्याकिङ गरेर सबै जनालाई हस्तान्तरण गरियो ।
शिविरमा सहभागी हजारौ जनालाई यसै गरी कोशेली दिने कार्य संस्थाको निकै परोपकारी एवं उदाहरणीय काम थियो । सबै जनाले कोशेली बुझेर पुन: कोठामा फर्कियौ । सदा झै साँझको नियमित खाना खाएर रेलवे स्टेशनको तयारीमा जुट्यौ । सु प बाट सहभागी भएका सबै आनन्द सरोवरको पार्किङ स्थलमा जम्मा भएर गाडीको प्रतिक्षा रहदै गर्दा मधुवनको अनुभव साटासाट गर्दै सबै जना आनन्दानुभूति गरिरहेका थिए । निर्धारित समयमा संस्थाका गाडी आएर स्थानीय रेलवे स्टेशन आबु रोडमा छोडिदियो । रेलको निर्धारित समय रातीको १।३० बजे थियो ।
करिब ३ घन्टा अगाडी नै रेल स्टेशनमा पुगेकाले प्रयाप्त समय थियो । उपलब्ध समयको भरपुर सदुपयोग गर्दै स्टेशनमा आवतजावत गर्ने रेल एवं ती रेलमा यात्रा गर्ने यात्रिहरुलाई नियाल्दा नियाल्दै मध्य रातको समय व्यतित भएको पत्तै भएन । निर्धारित समयमा प्लेट फर्म नं २ मा रेल आइपुग्यो सबै जना रेल चढ्न आतुर थिए । सकुशल सबै जना तोकिएको डब्बामा रेल चढ्दै आ(आफ्नो सीटको खोजीमा लागे । मध्य रात भएकाले रेलमा सवार यात्रुहरु मस्त निद्रामा थिए । रेलले बिस्तारै गति लिदै गयो । हामीहरु पनि आफ्नो तोकिएको सीटमा सुतेर सवार भयौ । राती भएकाले बाह्य कुनैपनि दृश्य देखिदैन थियो । बिहानी उज्यालो भए सँगै झ्यालबाट देखिने विभिन्न दृश्यावलोकन गर्दै साँझ ९ बजे तिर बरेली स्टेशन आइपुगियो । पुन: ११ बजे राती बस चढेर पलियाकला गौरीफन्टा हुदै धनगढीको यात्रा तय गरियो र बिहान ४ बजे धनगढी पुगेर टोली आ(आफ्नो गन्तव्य तिर लागे ।
ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयको मुख्यालयले आयोजना गरेको राजयोग शिविरमा सहभागी हुने क्रममा विभिन्न धार्मिक,पर्यटकीय तथा आधात्मिक स्थलकोहरुको अवलोकन भ्रमण गर्ने सुअवसर प्राप्त भयो । ध्यान,मनन र आधात्मिक भावनाको विकास भई व्यक्ति समाज देश हुदै समग्र विश्व समुदायमा शान्तिको कामना लागि व्यक्ति भित्र हावी रहेको कयौं विकारजन्य दुरविचारहरुलाई त्यागेर सदविचार अँगाल्ने कार्यमा भ्रमण निकै नै फलदायी भएको महसुश गरियो । शिविरमा सहभागी सबै जनाले आध्यात्मिक लाभ लिने अवसर प्राप्त गरेका थिए । अवसरको उच्चतम लाभ लिदै शिविरमा आयोजना भएका हरेक गतिविधिमा सक्रियताका साथ सहभागी हुदै आध्यात्मिक ज्ञान लिने कार्य भयो । उक्त क्षेत्रमा रहदा हरेक व्यक्तिको मन वचन र कर्ममा शुद्धीकरण भई भगवत प्राप्तीको बाटोमा अग्रसरता रहेको देखिन्छ ।
दैनिक आहारविहार,आचरण,खानपान,व्यवहार,बोलीचालीमा स्पष्ट भिन्नता आएको देखिन्थ्यो । यसरी छोटो समयमा संस्थाको बारेमा जानकारी लिने कार्य पनि गरियो । संस्थाले अवलम्बन गरेको बाटो मानव कल्याणमा केन्द्रित थियो । यो चराचर भौतिक संसारमा उपहार स्वरुप प्राप्त मानव जीवनलाई असल कर्म द्वारा धन्य बनाई पुनर्जन्म पछि प्राप्त हुने जीवनलाई पनि महत्वपूर्ण बनाउन वर्तमानमा प्राप्त समयलाई भरपुर सदुपयोग गर्दै परमात्माको खोजीमा लाग्नु पर्दछ । यस मानव जीवनमा गरेको कर्मले पुनर्जन्म निर्धारण गर्ने भएकाले हरेक व्यक्तिले सद्कर्म गर्नुपर्दछ । सद्कर्मद्वारा देवलोक प्राप्त हुन्छ । देवलोकका प्राणी बिना अभावमा सुखसयलका साथ जीवन बिताइरहेका छन । त्यसैले हरेक प्राणीको अन्तिम लक्ष्य देवलोक प्राप्ति हुन्छ ।
संस्थाले मानव कल्याणका लागि आध्यात्मिक सामाजिक तथा विकास निर्माणका कार्यहरु नियमित रुपमा गर्दथ्यो । धार्मिक सहिष्णुताको उच्चतम स्वरुप संस्था भित्र देख्न सकिन्थ्यो । सबै धर्म प्रति समभाव प्रकट गरेको थियो । विभिन्न धर्मको स्वरुप भिन्नभिन्न भएता पनि सबै धर्मको सार एउटै हो भन्ने कुरामा जोड दिइन्थ्यो ।
धार्मिक,जातिय र लैङ्कगिकताका आधारमा कुनै विभेद गरिदैन थियो । संस्था भित्र महिला प्रधानता थियो तर पुरुषहरुको सक्रियतामा पनि कमी थिएन । विश्व एक परिवार हो भन्ने मुल मान्यताका साथ संस्थाले सबै धर्म, जात,वर्ण, लिङ्ग र समुदायलाई समानता कायम गर्दछ । बहुजन हिताय बहुजन सुखाय भन्ने मुल मन्त्र बाट अभिप्रेरित संस्था आगामी दिनमा आफ्नो प्रगति पथमा लम्किदै जावस शुभकामना । यसरी मधुवन क्षेत्रमा छोटो बसाइको अवधिमा विभिन्न स्थलहरुको अवलोकन भ्रमण गर्दै ब्रह्मकुमारी दिदीहरु बाट भएका दिव्य वाणीहरुलाई आत्मसात गर्दै संस्थाको विकास र व्यवस्थापकीय पक्षको उच्च मूल्याङ्कनका साथ भ्रमण कार्यक्रम समापन गरियो । ॐ शान्ति ।
लेखक: चौरपाटी गाउँपालिका शिक्षा शाखामा शिक्षा अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ ।