Advertisement
SKIP THIS
हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाद्वारा भैंसी पालन सुरु

अछाम:अछाम जिल्लाको साँफेबगरमा कृषि क्षेत्रमा नतिजा मुखी काम गरिरहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले भैंसी पालन व्यवसाय सुरु गरेको छ। सहकारीले प्रारम्भिक चरणमा दुई वटा भैंसीबाट व्यवसाय थालनी गरेको हो।

भैंसी पालन व्यवसायको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले सहकारीमार्फत उत्पादनमुखी काम सुरु हुनु सकारात्मक कदम भएको बताए। उनले भैंसी पालनजस्तो व्यवसायले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्दै नगरपालिकाले यस्ता पहलमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्दै भेटेरिनेरी अस्पताल अछामका प्रमुख वाल्मीकि प्रसाद जोशीले व्यवस्थित रूपमा भैंसी पालन गरेमा यो लाभदायक व्यवसाय बन्न सक्ने बताए। उनले पशु स्वास्थ्य, उचित आहार तथा व्यवस्थापनमा ध्यान दिन सके उत्पादन वृद्धि हुने उल्लेख गर्दै प्राविधिक सहयोगका लागि आफूहरू सधैं तयार रहेको बताए।

सहकारीका अध्यक्ष सुरत बहादुर भुलले सदस्यहरूको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले भैंसी पालन व्यवसाय सुरु गरिएको बताउँदै उनले प्रारम्भमा दुई वटा भैंसीबाट सुरु गरिएको यस व्यवसायलाई आगामी दिनमा विस्तार गर्दै लैजाने योजना रहेको बताए ।सहकारीले साँफेबगरमा तरकारी खेती देखि धान उत्पादन गर्दै आएको छ।यस्तै सहकारी संग अछाम जिल्लामै पहिलो तरकारी संकलन केन्द्र कोल्ड स्टोर सहितको सञ्चालन गरिरहेको छ।

तपाईको प्रतिक्रिया