Advertisement
SKIP THIS
लागुऔषध कारोबारको ‘ट्रान्जिट पोइन्ट’ कैलाली,

धनगढीः कैलाली कारागार यतिबेला लागुऔषध सेवन, ओसारपसार र कारोबारमा संलग्नहरुले भरिभराउ छ। कारागारभित्र लागुऔषध सम्वन्धि कसुरका कैदीबन्दी सबैभन्दा बढी छन्। अन्य विभिन्न कसुरका कैदीसँगै लागुऔषधका कैदीले जेलभित्र ठेलमठेल छ। आर्थिक वर्ष २०७९/८० मा जिल्ला अदालत कैलालीमा लागुऔषध सम्वन्धि कसुरका कुल ४२३ मुद्दा दर्ता भएका छन्।

सो अवधिसम्म तीन सय ६ मुद्दाको फैसला भइसकेको छ भने एक सय १७ मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। २०७९ को असार मसान्तसम्म जिल्ला अदालत कैलालीमा लागुऔषधका तीन सय ५६, गाँजा/चरेसका ४८ र अन्य १९ मुद्दा दर्ता भएका छन्। ती मध्ये लागुऔषधका दुई सय ४६ मुद्दाको फैसला भइसकेको छ भने एक सय १० मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। त्यस्तै गाँजा/चरेस सम्बन्धि ४१ मुद्दाको फैसला भइसकेको छ भने ७ मुद्दाको अन्तिम फैसलाा हुन बाँकी छ।

भारतसँग खुला सीमा जोडिएको कैलाली लागुऔषध ओसारपसारको लागि ‘ट्रान्जिट’का रूपमा प्रयोग हुन थालेको छ। खुला सीमाको फाइदा उठाएर तस्करहरूले भारतबाट सहजै लागुऔषध भित्र्याउन थालेपछि कैलालीमा यसको प्रयोग दर पनि बढ्दै गएको छ।
लागुऔषधमा सबैभन्दा बढी किशोर–किशोरीहरू संलग्न देखिएका छन्। यसको विक्रि वितरण बढेपछि युवाहरू र किशोर किशोरीहरुमा लागुऔषधको प्रयोग दर पनि भयावह बन्दै गएको प्रहरी अधिकृतहरुले बताएका छन्।

लागुऔषधको प्रयोग बढेपछि युवाहरू अन्य आपराधिक क्रियाकलापमा समेत संलग्न हुने क्रम बढेको छ। धनगढीमा यसको कारोबार र प्रयोग दुवै बढ्दो छ। तर स्थानीय तहबाट अहिलेसम्म खासै पहल भने हुन सकेको छैन। नेपाल प्रहरीका डिआइजी भरत बोहराले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ४ महिनामा लागुऔषध सेवन, ओसारपसार तथा कारोबारमा संलग्न तीन सय ६५ जना पक्राउ गरेर दुई सय १६ जना विरुद्ध मुद्दा मुद्दा चलाइएको छ।

लागुऔषधको कुलतमा युवाहरु फस्दै गएको देखिएको छ। तर लागुऔषध रोग विशेज्ञ चिकित्सक डाक्टर प्रभातकुमार सापकोटाले भने लागुऔषध एक प्रकारको रोग भएकाले यसमा संलग्नहरुलाई जेलभित्र हुँल्नुभन्दा औषधि दिएर रोगको उपचार गर्नतिर ध्यान दिनुपर्ने बताउँछन्। ‘लागुऔषधको कुलतमा फसेकाहरुलाई जेलभित्र हालेर समस्याको समाधान हुँदैन उनीहरुलाई आवश्यक औषधि दिएर लागुऔषधका रोगीलाई निको पार्न सकिन्छ।’ जेलभित्र हालेर यसको दिर्घकालिन समाधान हुन सक्दैन, उनले भने।

तपाईको प्रतिक्रिया