Advertisement
SKIP THIS
मन्त्रीको आडमा सरुवा भएको ५ महिनासम्म मन्त्रालय बसेर आयुर्वेद महाशाखा चलाउने मिशनमा बम

धनगढी: सरुवा भएको ५ महिनासम्म पनि एक हाकिमले धनगढीमै डेरा जमाएको पाइएको छ। सुदूरपश्चिम प्रदेशको आयुर्वेदिक चिकित्सालयका तत्कालीन निमित्त प्रमुख खगेन्द्र बमले सरुवा भएको ५ महिनासम्म पनि धनगढीमै डेरा जमाएका हुन्।

उनको बझाङ सरुवा भएकोमा उनी त्यहाँ नगएको बुझिएको छ। आयुर्वेद अस्पताल बझाङको प्रमुख भएर गएको ५ महिना बित्दा पनि बम धनगढीमै बसेका हुन्। उनी गत वर्ष फागुन २८ गते बझाङ सरुवा भएका थिए। तर, बमले सरुवा भएको १ महिनापछि रमाना बुझे। रमाना बुझेर एकपटक बझाङ पुगेका बम बैसाखमा हाजिर भएर धनगढी फर्केको अस्पताल स्रोतले बताएको छ।

स्रोतका अनुसार प्रादेशिक आयुर्वेद चिकित्सालयमा निमित्त प्रमुख भएका बेला करारका कर्मचारी छनौटमा आर्थिक चलखेल गरेको आरोप लागेपछि बमलाई प्रदेश सरकारले बझाङ सरुवा गरेको थियो। तर उनी सरुवा भएको ठाउँमा नगएर सामाजिक विकास मन्त्री र सचिवको आडमा मन्त्रालयमै बसेका छन्। माओवादी निकट कर्मचारी बमलाई अहिले सामाजिक विकास मन्त्री झपट साउँदको संरक्षण रहेको बताइन्छ। अहिले मन्त्री र सचिवलाई फकाएर उनी मन्त्रालयमै बसिरहेको मन्त्रालयकै एक कर्मचारीले बताए।

ती कर्मचारीका अनुसार बम अहिले सामाजिक विकास मन्त्रालयमा बसेर आयुर्वेद महाशाखा चलाउने मिशनमा छन्। यस्तै बमको धनगढीकै निजी एक अस्पतालमा लगानी समेत रहेकाले धनगढीमै बस्ने गरेको खुलेको छ।

उता, बझाङमा भने विगतदेखि नै आयुर्वेद डाक्टरबाट सेवा पाइरहेका बझाङबासीले करिब केही महिनादेखि ओपीडी सेवा पाउन नसकेको बताइएको छ। त्यहाँबाट डाक्टर सुर्य उपाध्याय प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा सरुवा भएपछि बझाङ आयुर्वेदिक अस्पताल डाक्टरविहीन बनेको हो। बम त्यहाँ नगएपछि अस्पताल अहिले वैद्यका भरमा सञ्चालन भइरहेको छ।

७ जना कर्मचारी कार्यरत अस्पताल हाल वैद्य मिनराज पुरीले सम्हाली रहेका छन्। सरुवा भएर जानुपर्ने डा. बम बैसाखमा हाजिर भएपछि स्वास्थ्य निर्देशनालयको काज लिएर धनगढीमै अडिएका हुन्।

यता, बमले भने आफू बझाङ पुगेर त्यहाँ अल्ट्रासाउन्ड सेवासहितका विविध सेवा सुचारु गर्दै काजमा निर्देशनालय खटिएको  बताए। आफूलाई बझाङ पठाउनुपर्ने कुनै कारण नरहेकोमा त्यो बेला पनि आफूलाई सरुवा गरिएको उनको दाबी छ। त्यस्तै अहिले आफू महाशाखाको दौडमा पनि नरहेको र कुनै निजी अस्पतालमा लगानी समेत नरहेको उनको भनाई छ।महेन्द्रनगरपोष्ट

तपाईको प्रतिक्रिया