Advertisement
SKIP THIS
“आगो” लाई कारवाहि गरेपछि  कैलाली कांग्रेसमा बिवाद

धनगढीः नेपाली कांग्रेस कैलालीमा विवाद उत्तपन्न भएको छ। नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले दुई नेतालाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरेपछि कांग्रेसभित्र विवाद सृजना भएको छ। सभापति भट्टविरुद्ध केही नेताले नाराबाजीसमेत गरेका छन्।

सोमबार जिल्ला सभापति भट्टले गोदावरी नगरपालिका–१ का क्षेत्रीय प्रतिनिधि लोकराज पाण्डे आगो र चुरे गाउँपालिका–६ का क्षेत्रीय प्रतिनिधि सुरतबहादुर कार्कीलाई अनुशासनको कारबाही भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए।

दुवैजना माथि पार्टी जिल्ला सभापतिले पार्टीको महत्वपुर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप हुने गरी र पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता र कार्यकर्ताको मानहानि हुने गरी सार्वजनिक रूपमा अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको आरोप लगाएका छन्।

दुबै जनालाई कारबाही गरेको विज्ञप्ति निकालेको तीन दिनपछि बिहिवार उपसभापति भीम बडूवालले छुट्टै विज्ञप्ति जारी गरेका छन्। उनले सभापतिले विधिविपरीत एकलौटी रूपमा कारबाही गरेको भन्दै सभापतिलाई नै अनुशासनको कारबाही किन नगर्ने भन्ने प्रश्न गरेका छन्।सभापतिले गरेको कारबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उपसभापति बडूवालले भनेका छन् , ‘यो कारबाही विधिसम्मत नरहेको जानकारी गराउन चाहन्छु। अनुशासन समितिमा सामान्य जानकारी समेत नगराई सभापतिको एकल निर्णयले कसैलाई पनि निलम्बन गर्न पाइँदैन। पार्टी विधानको बर्खिलापमा अनुशासन समितिको मानमर्दन हुने गरी गरिएको एकल निर्णयले सभापतिलाई नै अनुशासनको कारबाही किन नगर्ने भन्ने प्रश्न उब्जिएको छ।’
विधिविपरीत कारबाही गरेको भन्दै विवादमा तानिएका पार्टी सभापतिविरुद्ध उपसभापतिले अर्को विज्ञप्ति जारी गरेपछि कांग्रेस भित्रको विवाद छताछुल्ल भएको छ।

तपाईको प्रतिक्रिया