Advertisement
SKIP THIS
डोटीमा जनश्रमदानबाट सडक मर्मत कार्य सुरु

डोटी :केआई सिंह गाउँपालिकाले जनश्रमदानबाट सडक मर्मत गर्ने कार्य सुरु गरेको छ । बर्षाका कारण बिग्रेको केआई सिंह गाउँपालिकाको वडा नं ५ र दिपायल सिलगढी नगरपालिकाको वडा नं ४ जोड्ने सडक बिग्रेपछि गाउँपालिकाले जनश्रमदानमा मर्मत गर्न सुरु गरेको हो । दुई पालिकाको बीचमा पर्ने तुस्यात खोला क्षेत्रमा बिग्रेको सडक मर्मतका लागि सोमबारदेखि केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही नेतृत्वको टीम नै मर्मत कार्यमा लागेको छ ।

जनश्रमदान गर्नेमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता, व्यापारी र स्थानीयवासीको उपस्थिति रहेको छ । तुस्यात खोलामा पुल नहुँदा सवारीसाधनहरूलाई आवतजावतमा समस्या भएका कारण उक्त स्थानमा जनश्रमदानबाटै सडक सजिलो बनाउन खोजिएको हो ।

तुस्यात खोलामा बिग्रिएको कच्ची सडकमा आवतजावत गर्दा थुप्रै दुर्घटना भइरहेकाले श्रमदानबाट आरसीसी ढलानका लागि श्रमदान भइरहेको गाउँपालिकाका अध्यक्ष शाही बताउँछन् । राजपुरदेखि वायलसम्म कालोपत्रे सडक भए पनि तुस्यात खोलामा पुल नभएकै कारण यातायात व्यवसायीहरूले यात्रुबाट चर्को भाडा असुलिरहेकाले सडक निर्माणपछि सो समस्या समाधान हुने अध्यक्ष शाहीको भनाइ छ ।

करिब १५ लाख बराबरको अनुमानित लागत आउने ८७ मिटर लम्बाइमा ३ मिटर चौडाइको आरसीसी ढलान गरिने बताइएको छ । विभिन्न योजनाहरूमा उपभोक्ता समितिबाट जनश्रमदान अनिवार्य गर्ने कानूनी प्रावधान रहे पनि पछिल्लो समय कागजमा मात्र श्रमदान देखाउने गरिएको छ ।

जनश्रमदान गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँछन् केआइ सिंह गाउँपालिका-४ का ताराप्रसाद भट्ट । उनी भन्छन्, ‘श्रमदान गरी गाउँघरको बाटोघाटो बनाउने पुरानै संस्कृति, यो संस्कृति बीचमा हराएको थियो । अब फेरि सुरु भएकोमा खुशी छु ।’

उनले श्रमदान गर्ने कानूनी प्रावधानलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेसमेत बताए ।

गाउँपालिका अध्यक्ष शाहीले जनश्रमदान अभियानसँगै पालिकाको फजुल खर्चसमेत कटौती गरिने बताएका छन् । औपचारिक कार्यक्रममा खादा माला लगाउने, तडकभडक गर्ने तथा कार्यालयमा बोतलका पानी पिउने जस्ता फजुल खर्च हटाउन पालिकाले यसअघि नै निर्णय गरी कार्यान्वयन थालिसकेको शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया