Advertisement
SKIP THIS
मजदुरको २५ लाख रुपैयाँ खाएर एमालेका नेता युरोप टाप

धनगढीः कैलालीको टीकापुरमा मजदुरको झण्डै २५ लाख रुपैयाँ खाएर नेकपा एमालेका एक नेता युरोप भागेका छन्। करिब एक सय ५० जना मजदुरको २५ लाख रुपैयाँ खाएर ती नेता युरोप भागेका हुन्। विश्व बैंकको ऋण लगानीमा राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाई आयोजना अन्तर्गत पथरैया नदीमा भइरहेको तटबन्धनमा काम गरेका मजदुरले पाउनुपर्ने दैनिक ज्याला बापतको करिब २५ लाख रुपैयाँ भुक्तानी नदिई नेकपा एमालेको युवा संघ जिल्ला कमिटी सदस्य विमल भनिने गणेश चन्द १३ साउनमा युरोप भागेका छन्।

चन्दले ठेकेदार कम्पनी कालिका कन्सट्रक्सनबाट तटबन्धन निर्माणका लागि पेटी ठेक्का लिएका थिए। असार मसान्तभित्रै कालिका कन्ट्रक्सनबाट बिल भुक्तान गरिसकेका चन्दबाट ज्याला वाफतको रकम नपाएपछि मजदुरहरुले इलाका प्रशासनमा उजुरी दिएका थिए। प्रशासन कार्यालयले सो उजुरी इलाका प्रहरी कार्यालयलाई पठाएको थियो।

प्रहरीले पेटी ठेकेदार चन्द र मजदुरहरु बिच छलफल गराई १५ साउनभित्र ज्याला वापतको सम्पूर्ण रकम भुक्तान गर्ने कागज गराएको थियो। तर, ठकेदार चन्द केही बर्ष नेपाल नफर्किने गरी १३ गते नै युरोप गएको पारिवारिक स्रोतले बताएको छ। मजदुरहरुले चन्दले तिर्नुपर्ने रकम २५ लाख भएको अनुमान गरे पनि त्यो बाहेक ढुंगा, गिट्टीलगायत विभिन्न कारोबारमा चन्दको समूहले गएको तीन महिनामा करिब एक करोड रुपैया ठगी गरेको आरोप छ।

दुई महिना काम गरेको भुक्तानी नपाउँदा आफ्नो परिवार निकै समस्यामा परेको पीडित मध्येकी एक लक्ष्मी पुनले गुनासो गरिन्। मजदुरको लाखौ रुपैयाँ खाएर चन्द अहिले सम्पर्कमा नआएपछि प्रहरीमा गएको उनले बताइन्। उनको घर जाँदा परिवारका सदस्यले कहिले युरोप त कहिले श्रीमतीसहित माल्दिभ्स गएको भन्ने जवाफ दिने गरेको उनले बताइन्।

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी तुलसीराम अर्यालले आज १५ गतेको मितिमा ज्याला वापतको सम्पूर्ण रकम दिने गरी कागत गरिएको बताए। ‘आज (१५) गते यस विषयमा छलफल हुँदैछ,’ उनले भने, “प्रहरीले लेनदेनको विषय नहर्ने भए पनि पीडितले ठाडो उजुरी दिएकाले दुबै पक्षलाई छलफलका लागि बोलाइएको छ।’

तपाईको प्रतिक्रिया