Advertisement
SKIP THIS
शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका सात जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

धनगढीः दार्चुलाको एक नगरपालिकाका हाकिमसहित सात जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहितका सात जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो।

शैल्यशिखर–६ पनेबाज मौरीभिटादेखि वडा–७ र वडा ८ को बन्तोली–बोहरीगाउँको सडकखण्ड निर्माणको लागत इस्टिमेटमा कडा चट्टानको भाग बढी देखाएर वास्तविकभन्दा बढी भुक्तानी भएको भन्ने सूचना अख्तियारले पाएको थियो। त्यसपछि अख्तियारले छानबिन गर्दा २६ लाख २ हजार ५६६ रूपैयाँ बढी भुक्तानी लिएको खुलेको हो। 

प्रमुख प्रशासकीय अधिकृत लगायतले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा सञ्चालित पनेबाज–बन्तोली–बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बंग्याएको अख्तियारले जनाएको छ। 

कटिङ गर्दा बढी दररेट रहेको हार्ड रकको परिमाण अस्वाभाविक रूपमा बढी मूल्यांकन गरी नापी किताबमा चढाएर हस्ताक्षर गरेको र निर्माणस्थलमा गरेको कामभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको झुटा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानी लिएको पाइएको हो। अख्तियारले उनीहरूबाट बिगो रकम जफत हुन मागदाबीसहित मुद्दा दायर गरेको छ।

तपाईको प्रतिक्रिया