अछाम : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ।
शनिवार राति १० बजे बसेको प्रदेश सभा बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन २०८० बहुमतले पारित गरेको हो ।
बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बजेटसम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। सत्तारुढ दलका सदस्यहरूले बजेट पारित गर्नका लागि सहमति जनाएका थिए।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको थियो भने प्रतिपक्ष बेञ्चमा राप्रपाका सांसद मात्र उपस्थित थिए।