Advertisement
SKIP THIS
सुदूरपश्चिमको बजेट,स्वकीय सचिवको खेतमा सडक

धनगढीः सुदूरपश्चिममा पहुँचका आधारमा योजना बाँड्ने परम्परा बसालिएको छ। प्रदेश सरकारले २०७४ देखि नै पहुँच र प्रभावका आधारमा योजना हाल्न थालेको हो। आर्थिक वर्ष २०७९/८० को बजेटमा भने व्यक्तिगत पहुँचको आधारमा प्लटिङको जग्गामा सडक र तटबन्धका योजना हालिएको छ। गत वर्ष ल्याइएको बजेटमा धनगढीमै प्लटिङको जग्गामा सडक योजना र कटानको जोखिम नभएको नालामा तटबन्धका योजना हालिएका छन्।
मुख्यमन्त्रीका स्वकीय सचिवको खेतमा सडक योजना

हाल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत कृष्णराज जोशी पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयमा थिए। सचिवालयमा रहेको अवसरको फाइदा उठाउँदै जोशीले आफ्नो खेतमा जाने बाटोमा सडको योजना हालेको पाइएको छ। जोशीले धनगढी–१३ एकता टोलमा रहेको जग्गासम्म पक्की नाली सहितको ग्राभेल सडक निर्माणको योजनाका लागि १५ लाख बजेट हाल्न लगाएको भेटिएको छ।

ढुङ्गेवजारबाट उत्तर–पश्चिम पर्ने एकता टोलदेखि लक्ष्मीनगर जाने मुख्य सडक बनेको छैन। तर, त्यही सडकबाट खेतसम्म खोलिएको करिब एक सय मिटर सडकमा कल्भर्टसहितको पक्की नाली बनाइएको छ। यो वर्ष सडक ग्राभेल पनि गरिनेछ। एकताटोलबाट कैलाली गाउँ जाने चालीस वर्ष पुरानो सडकमा ग्राभेलसम्म छैन। व्यक्तिको जग्गामा प्लटिङ गर्न सहज होस् भनेर प्रदेश सरकारबाट योजना हालिएको पाइएको छ।

स्थानीय डिल्लीराज बिनाडी, नवराज बिनाडी र कृष्णराज जोशीको खेती गर्ने जग्गामा पक्की नालीसहित सडक योजना परेको तर मुख्य सडक कहिले बन्छ भन्ने टुङ्गो नलागेको स्थानीयको गुनासो छ। भविष्यमा प्लटिङ गर्न सहयोग पुग्ने गरि पूर्व मुख्यमन्त्री भट्टका स्वकीय सचिव जोशीले खेतमा सडक बनाउन सरकारी बजेट हालेको टोलवासीको गुनासो छ। तर, त्यो ठाउँमा जग्गा आफ्नो भए पनि बजेट हाल्न भनसुन नगरेको जोशीको दाबी छ। ‘त्यो ठाउँमा मेरो जग्गा छ तर मैले योजना हाल्न भनसुन गरेको होइन’ उनले भने, ‘सरकारसँग योजना मागिएको थियो होला। बजेट पर्‍यो। तर, त्यसमा मैले नै योजना हाल्न लगाएको हो भन्न मिल्दैन।’

तपाईको प्रतिक्रिया