Advertisement
SKIP THIS
सुदूरपश्चिम सरकारको एक करोड ५५ लाख स्वाह २ वर्ष टिकेनन सीसी क्यामरा

कमल सावद धनगढीः सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी र अत्तरियादेखि धनगढीस्थित त्रिनगर भन्सारसम्म सीसीटिभी क्यामरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गर्‍यो।

इलाका प्रहरी कार्यालयहरुमा कन्ट्रोल रहने गरेर कैलालीको चिसापानीदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकी नाकासम्म र अत्तरियादेखि त्रिनगर नाकासम्म एक सय ३८ वटा सीसीटिभी क्यामरा जडान गरिएको हो। प्रदेश सरकारले एक करोड ५५ लाख ५६ हजार तीन सय ८५ रुपैयाँ खर्चेर जडान गरिएका ती क्यामरा काम नलाग्ने गरी बिग्रीएका छन्। मर्मतका लागि बजेट नभएपछि राजमार्ग क्षेत्रमा हुने अपराध अनुसन्धान गर्न प्रहरीलाई समस्या भइरहेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी गणेश बरालले स्याउले बजार लगाएतका क्षेत्रका क्यामरा बिग्रिएको बताए। उनले क्यामरा मर्मतका लागि माथिल्लो निकायमा भनेको बताएका छन्। तर क्यामरा मर्मतका लागि कतैबाट बजेटको जोहो नभएको उनले बताए।

प्रदेश सरकार अपराध तथा दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत कैलालीको पूर्वी क्षेत्र चिसापानीदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकी नाकासम्म र कैलालीको अत्तरियादेखि मोहनापुल–अत्तरिया ६ लेन सडकअन्तर्गत त्रिनगर नाकासम्म एक सय ३८ स्थानमा सीसीटिभी क्यामरा जडान गरिएको थियो। प्रदेश सरकारले जडान गरेका सीसी क्यामराले आपराधिक क्रियाकलाप रोकिने अपेक्षा गरिएको थियो।

२०७८ असार ३० गते प्रदेश सरकारले क्यामरा जडानको काम पूरा भएपछि भुक्तानी दिएको थियो। क्यामरा जडान भएको दुई वर्षसमेत पूरा नहुदै तारहरु चुडिएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जडान गरिएका केही क्यामरा बिग्रिएको बताए। उनले भने, ‘केही सञ्चालनमा छन्। केही बिग्रिएका छन। मर्मतका लागि स्थानीय तहहरुसँग सम्वनय हुँदैछ।’

सीसी क्यामरा कैलाली–कञ्चनपुरको बजार क्षेत्र, दुर्घटनाको जोखिम बढी भएको स्थान, राजमार्ग क्षेत्र, चौराहा, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा जडान गरिएका हुन्। तर बिग्रिएका क्यामराका कारण प्रहरीलाई समस्या भएको छ। क्यामरा मर्मतमा प्रहरीसँग बजेट अभाव रहेका बेला कानून मन्त्रालयसँग भएको बजेट पनि फिर्ता हुने देखिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता लक्ष्मी जोशीले क्यामरा मर्मतका लागि बजेट विनियोजन नगरिएको बताए।
कैलालीको स्याउले बजार, मसुरिया, सुखड, लम्कि लगायतका क्षेत्रमा क्यामरा बिग्रिएका छन्।

तपाईको प्रतिक्रिया