काठमाडौं:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतले ल्याएको ‘पिर’ गीतबारे कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको प्रतिक्रिया दिएका छन्।
सुदूरपश्चिम प्रदेशको धनगढीमा सोमबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले ‘जनयुद्ध’ बाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने बताए।
‘मैले त्यो पुरै गीत हेर्न पाएको पनि छैन, अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन,’ प्रचण्डले भने, ‘तर्क वितर्क हुन्छन्, पक्ष विपक्ष हुन्छन्। त्यसलाई स्वभाविक रूपले लिनुपर्छ।’
उनले ‘जनयुद्ध’ बाट शान्ति प्रक्रिया र संविधानसभामा ल्याएको भन्नेमा पनि पक्ष र विपक्षमा बहस हुने गरेको बताए।
‘शान्ति प्रक्रियामा आएकोमा गर्व गर्ने पक्ष पनि छ। शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भन्ने पनि छ,’ उनले भने, ‘हामी उत्तेजित हुनुपर्ने छैन। योबारे हामी गइसकेपछि सयौं वर्षसम्म पनि बहस रहन्छ।’
माओवादीकै केही नेता तथा भातृ संगठन वाइसीएल र अनेरास्ववियू क्रान्तिकारीले सपुतको उक्त गीत युट्युवबाट हटाउन माग गरेका थिए।
आफू कतार, मलेसिया जाँदा त्यहाँ काम गर्न पुगेका पूर्वलडाकुसँग कुराकानीसमेत भएको प्रचण्डले स्मरण गरेका थिए। ‘कतार, मलेसिया जाँदा त्यहाँ लडाकु दु:खपूर्ण जीवन विताइरहेका छन्। दु:ख गरे पनि कमरेड तपाईंलाई अप्ठ्यारो परेका बेला भन्नुस् हामी फेरि आउन तयार छौं, विचलित भएका छैनौं भन्नुभएको थियो,’ उनले भने।
चुनाव नजिकिएको बेला माओवादीको विरोध गरेको भनेर केहीले यसको आलोचना गरेका छन् भने केहीले भने यसले राम्रो कथा र सामाजिक अवस्थाको उत्कृष्ट प्रस्तुति गरेको भन्दै प्रंशसा गरेका छन्।
माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको छ।









