Advertisement
SKIP THIS
मेक्सिको पर्खाल बनाउन पैसा उठाउने ट्रम्पका पूर्वसल्लाहकार ठगी धन्धामा पक्राउ

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व उच्च रणनीतिक सल्लाहकार स्टेभ ब्यानोन पक्राउ परेका छन् ।

मेक्सिको पर्खाल कोषका लागि रकम संकलन अभियानको क्रममा ठगी गरेको भन्दै स्टेभ यही साता पक्राउ परेका हुन् । स्टेभले भने आफू ‘राजनीतिक खेल’को शिकार बनेको प्रतिक्रिया दिएका छन् ।

‘म लामो यात्रामा छु, म यो लडाइँमा छु, म यो लडाइँ जारी राख्नेछु,’ ब्यानोनले यही शुक्रबार आफ्नो पोडकास्टमार्फत बताएका छन् । उनले मेक्सिकोसँगको पर्खाल निर्माण रोक्नका लागि आफूलाई फसाइएको बताए । राष्ट्रपति ट्रम्पले २०१६ मा मेक्सिकोमा पर्खाल लगाउनेबारे दिएको अभिव्यक्तिको श्रेय ब्यानोनलाई दिइन्छ ।

बिहीबार भने ब्यानोनले आफूले ठगी सञ्जालको षड्यन्त्र गरेको र मुद्रा अपचलनको आरोप अस्वीकार गरे । ६६ वर्षीय ब्यानोन ५० लाख अमेरिकी डलर जमानतमा छुटेका छन् । ब्यानोनले मेक्सिकोको सीमामा पर्खाल निर्माणका लागि भन्दै अनलाइनको माध्यमबाट आम रुपमा रकम संकलन गर्दैआएका थिए ।

ट्रम्पका निकट मानिने ब्यानोन यसअघि ट्रम्पका विवादित योजनासँग सहभागी हुने गरेको बताइन्छ । ह्वाइट हाउसमा अन्य अधिकारीहरुसँग लगातार खिचातानी भएपछि उनलाई २०१७ को अगस्टदेखि रोकिएको थियो । ट्रम्पले यस पटकको चुनावमा पनि उनीसँग दूरी कायम गरेको स्थानीय मिडियाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया