अछाम:रामारोशन गाउँपालिकाले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २९ लाख १५ हजार ९ सय ६६ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि आर्थिक योगदान गर्ने निर्णय गरेको हो।
गाउँपालिकाको भदौ २४ गते आज बसेको कार्यपालिका बैठकको निर्णयअनुसार गाउँपालिकामा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीबाट संकलन भएको रकम र जनप्रतिनिधिहरूको योगदानसमेत गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक–कर्मचारीबाट संकलित रु. २९ लाख १५ हजार ९ सय ६६ विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुग्ने विश्वास लिइएको छ।
गाउँपालिका अध्यक्ष मानवहादुर साउदले विपद्को पीडामा रहेका नागरिकसँग ऐक्यबद्धता जनाउँदै सहयोग रकम ठूलो वा सानोभन्दा पनि विपद्को समयमा एक–अर्काको साथमा उभिनु सामाजिक दायित्व र मानवीय धर्म भएको बताउनु भएकाे छ।गाउँपालिकाले आज एक विज्ञप्ति जारी गर्दै विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि राज्य र नागरिक मिलेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।
गाउँपालिकाले यस मानवीय अभियानमा सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, निजामती कर्मचारी, शिक्षक तथा विद्यालय कर्मचारीप्रति धन्यवाद समेत व्यक्त गरेको छ।










