अछाम:अछामकाे मेल्लेख गाउँपालिकाको विपद् व्यवस्थापन समितिले प्राकृतिक विपद्बाट प्रभावित तथा पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
मेल्लेख गाउँपालिका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक ज्वाला सिंह साउदको अध्यक्षतामा भाद्र १३ गते बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा भाद्र १० गते रसुवामा आएको विपद्का कारण ठूलो जनधनको क्षति भएको विषयमा छलफल गर्दै विपद् प्रभावितको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले मेल्लेख गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु. २ लाख ११ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ।
यसैगरी बैठकले विपद्का कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। साथै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ।
बैठकमा गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा विपद् व्यवस्थापन समितिका सदस्यहरूको सहभागिता रहेको थियो।










