अछाम:लामो समयदेखि विद्यार्थी राजनीति, युवा संगठन र सामाजिक अभियानमा सक्रिय रहँदै आएका युवा नेता रोशन रावलले नेकपा परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन।
अनेरास्ववियू मार्फत राजनीति यात्रा सुरु गरेका रावलले पिपलचौर मावि अनेरास्ववियू टिमको नेतृत्व गर्दै नेकपा वडा कमिटी, अनेरास्ववियू मेल्लेख गाउँपालिका इन्चार्ज तथा अनेरास्ववियू जिल्ला कमिटी सह–सचिवसम्मको जिम्मेवारी सम्हालेका थिए।पार्टी संगठन, कार्यकर्ता व्यवस्थापन र युवाहरूलाई संगठित गर्दै आएका रावल जिल्लामा सक्रिय युवा नेताका रूपमा परिचित मानिन्थे।
पार्टी परित्यागको घोषणा गर्दै उनले सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन्। उनले नेकपालाई केवल राजनीतिक दल नभई आफ्नो परिवारका रूपमा मानेर तन, मन, धनसमेत समर्पित गर्दै काम गरेको उल्लेख गरेका छन्। संघर्ष, पीडा र कठिन परिस्थितिका बीच पनि संगठनको एकता, कार्यकर्ताको आत्मसम्मान र पार्टीको संरक्षणका लागि निरन्तर खटिएको उनको भनाइ छ।
तर पछिल्लो राजनीतिक अवस्था, युवाहरूको निराशा र पार्टीभित्र देखिएको प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले सबै जिम्मेवारीसहित साधारण सदस्यसमेत नरहने निर्णय लिएको बताएका छन्। उनले “राजनीतिक बाटो अलगिए पनि आफूलाई विश्वास गर्ने नेता तथा कार्यकर्ताप्रतिको सम्मान सधैँ कायम रहने” उल्लेख गरेका छन्।
रावलले अबको राजनीति युवाको भविष्य, समाज रूपान्तरण र विकास केन्द्रित हुनुपर्ने धारणा राख्दै युवाहरूलाई एकजुट भएर परिवर्तनको यात्रामा हातेमालो गर्न अपिल गरेका छन्।









