कञ्चनपुर:महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन्। मंगलबार साँझ करिब ५ बजे भीमदत्त नगरपालिका–११ नजिकै नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका अछामको साँफेबगर नगरपालिका–९ बुढाकोट दुधनाउलाका २५ वर्षीय मनिश कुँवरको शव आज फेला परेको हो।
प्रहरीका अनुसार गोताखोर टोलीले कुँवरको शव पौडी खेलेकै स्थान आसपासबाट निकालिएको हो। कुँवर सुदूरपश्चिम विश्वविद्यालयको कानुन संकायमा आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी रहेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









