काठमाडौं । आन्तरिक विवाद, समानान्तर क्रियाकलापकै बीच नेपाली कांग्रेस १५औँ महाधिवेशनको तयारीमा जुटेको छ । संस्थापन पक्ष सक्रिय रूपमा कार्यतालिकासहित अघि बढेको छ भने इतर पक्ष मौन देखिन्छ ।कांग्रेसले २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, संस्थापन इतर पक्षले महाधिवेशनबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
पार्टी प्रवक्ता देवराज चालिसेले पार्टी आन्तरिक रूपमा १५औँ महाधिवेशनको तयारीमा जुटिसकेको जानकारी दिए । उनले भने, “हामी १५औँ महाधिवेशनका लागि तयारीमा जुटिसकेका छौँ । महाधिवेशन कसरी सफल पार्ने भन्ने हाम्रो ध्येय छ । सबै शक्ति महाधिवेशनको तयारीमा खर्चिएका छौँ ।”
महाधिवेशनबारे के भन्छन् कांग्रेस नेता ?
प्रतिनिधिसभा निर्वाचन मतपरिणामका आधारमा कांग्रेस कमजोर बनेको नेता–कार्यकर्ताको बुझाइ छ । यही अवस्थामा टुट–फुटभन्दा पनि एकढिक्का भएर अघि बढ्नुपर्ने अधिकांश नेता–कार्यकर्ता बताउँछन् ।
१५औँ महाधिवेशनको तयारीबारे सह–महामन्त्री योगेन्द्र चौधरी भन्छन्, “नेपाली कांग्रेस सबैको हो । नेपाली कांग्रेसमा उहाँहरूको यति धेरै लगानी छ । योगदान छ, अनि उहाँहरूबिना कांग्रेस हो भनेर हामी कसरी भन्न सक्छौँ ?”
उनले थपे, “हामी एउटै परिवारका मान्छे हौँ । उहाँहरू हाम्रो अभिभावक हुन्, नेता हुन् । पार्टीको विधानलाई टेकेर विशेष महाधिवेशनमार्फत गगन थापा सभापति हुनुहुन्छ । निर्वाचन आयोगले आधिकारिकता दिइसकेको छ । त्यही आधिकारिकतालाई स्वीकार गर्दै टिकट लिएर निर्वाचन पनि लडिसक्नुभएको छ । अझै भ्रम फैलाउँदै हुनुहुन्छ ।”
यसले संस्थापनइतर पक्षले निर्वाचनमा अन्तर्घात गरेको भन्नुपर्ने स्थिति सिर्जना गरेको उनको भनाइ छ ।
उता संस्थापनइतर पक्षका नेता श्याम घिमिरे पनि मिलेर जानुको विकल्प नरहेको बताउँछन् । उनले भने, “पार्टी एकता गरेर जानुपर्छ । निर्वाचनको कमजोर जनादेशबाट कांग्रेसले धेरै सिक्नुपर्छ । अरु प्रतिपक्षीसमेत लैजानुपर्नेमा आफैँ झगडा गर्न थाल्यौँ भने हाम्रो अवस्था झन् कमजोर बन्छ । अन्य प्रतिपक्षीलाई पनि मिलाएर लैजानुपर्छ ।”
अदालतको फैसला र नेतृत्वको टुंगो
निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिएको छ । गगन थापा नेतृत्वको कार्यसमितिलाई आयोगले आधिकारिकता प्रदान गरेसँगै पूर्वसंस्थापन पक्षले सर्वोच्चमा रिट दायर गरेको छ । उक्त रिटबारे घिमिरे भन्छन्, “अदालतले संवैधानिक दायित्व पूरा गर्नुपर्छ, त्यसलाई किनारा त लगाइदिनै पर्यो । सर्वोच्चले यो विषय टुंग्याइदिनुपर्छ ।” जसको पक्षमा सर्वोच्चले निर्णय लिन्छ, उसैको नेतृत्वमा महाधिवेशनमा जाने नेता घिमिरे बताउँछन् । उनी भन्छन्, “कसको नेतृत्वको महाधिवेशनमा जाने भन्ने नै विवाद हो ।”
को–को छन् सभापतिका आकांक्षी ?
देउवा पक्षमा पनि सभापतिको आकांक्षी धेरै रहेको नेता घिमिरेले जानकारी दिए । उनका अनुसार, संस्थापनइतरका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्णप्रसाद सिटौला पनि आकांक्षी छन् । उनले भने, “उहाँहरू जसरी जानुहोला, महाधिवेशनमा प्रतिनिधिहरूले जसलाई छान्छ, उसैको नेतृत्व स्थापित हुने हो । तर, महाधिवेशन कसको नेतृत्वमा गर्ने भन्ने अदालतले टुंग्याइदिनुपर्छ । संवैधानिक दायित्व हो, त्यसबाट अदालत पन्छिनुहुँदैन ।”
समानान्तर अभ्यास र चुनौती
पछिल्लो समय नेपाली कांग्रेसमा समानान्तर अभ्यास देखिएको छ । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई लिएर संस्थापन र इतर दुवै पक्षले विज्ञप्ति जारी गरेका छन् । यस्तै, चैत १४ गते संस्थापन पक्षले संसदीय सचेतना कार्यक्रम आयोजना गरी नवनिर्वाचित सांसदलाई स्वागत तथा बधाई ज्ञापन गरेको थियो ।यता संस्थापन इतर पक्षले पनि चैत १६ गते सोमबार स्वागत तथा बधाई कार्यक्रम आयोजना गर्यो ।









