बाजुरा:बाजुरामा एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्यु भएको छ । यहीँ चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी सुत्केरी र उनले जन्म दिएको शिशुको मृत्यु भएको हो ।
बडीमालिका नगरपालिका—१ की २१ बर्षीय सुरता रोकाया र उनले जन्म दिएको नवजात शिशुको उपचारको क्रममा शनिवार सुर्खेतमा मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बताए ।
उनी लामो समयदेखि मुटु रोगबाट समेत ग्रसित थिइन् भने डाक्टरले बच्चा जन्माउन नहुने सुझाव समेत दिएको थियो । तर उनले गत मंगलबार राति जिल्ला अस्पताल बाजुरामा शिशुलाई जन्म दिएकी थिइन् । पछि स्वास्थ्यमा जटिल समस्या हुदैँ गएपछि थप उपचारका लागि सुविधायुक्त अस्पतालमा लगिएको भए पनि बचाउन नसकिएको अस्पताल स्रोतले बताएको छ । पारिवारिक स्रोतकाअनुसार मृतक सुत्केरी र शिशुको सुर्खेतमै दाहसंस्कार गरिएको जनाएको छ ।









