टेक बहादुर थापा :जिल्ला समन्वय समिति आयोजनामा अछामको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। समन्वय प्रमुख ललित बहादुर कुवँरको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न पालिका तथा सरकारी कार्यालयहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो।
समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरूले प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्नुका साथै आगामी दिनमा गर्नुपर्ने कामका बारेमा सुझाव दिएका थिए। कार्यक्रममा जिल्लाको समग्र अवस्थाबारे बहस हुनुका साथै जिल्ला समन्वय समितिले सुधार गर्नुपर्ने पक्षहरूमाथि पनि गहन छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले समीक्षा कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको टिप्पणी गरे। उनले विषयवस्तु उठानमा कमजोरी देखिएको भन्दै औपचारिकता निभाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए। यस्तो महत्वपूर्ण कार्यक्रममा सबै पालिका, सरकारी कार्यालय, गौरवका आयोजना तथा स्वास्थ्य र पर्यटनसँग सम्बन्धित योजनाका प्रमुखहरूको अनिवार्य सहभागिता हुनुपर्ने भए पनि त्यसो हुन नसकेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे। साथै, देखिएका कमजोरी सुधार गर्दै आगामी दिनमा कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्ने उहाँको भनाइ थियो।
विशिष्ट अतिथिको आसनबाट बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले पनि कार्यक्रमको प्रभावकारितामाथि असन्तुष्टि जनाए । उनले समीक्षा कार्यक्रममा जिम्मेवार ढंगले प्रस्तुति हुन नसकेको र कर्मचारीहरूले समेत आफ्नो दायित्व पूरा नगरेको गुनासो गरे। जिल्लाको वास्तविक अवस्था झल्किनुपर्ने कार्यक्रममा त्यस्तो हुन नसक्नु दुःखद रहेको उल्लेख गर्दै उनले आगामी दिनमा सुधार गर्न आग्रह गरे।
स्थानीय तहका जनप्रतिनिधिहरूको न्यून सहभागिताप्रति आक्रोश व्यक्त गर्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुवँरले यसलाई गैरजिम्मेवार व्यवहारको संज्ञा दिए। आफ्नो पालिकाका कामबारे जानकारी दिन नसक्ने अवस्थाले विकासप्रति प्रश्न उठ्ने भन्दै उनले यस्ता प्रवृत्ति सच्याउनुपर्ने बताए ।
कार्यक्रममा मंगलसेन नगरपालिका उपप्रमुख संगीता रावल सोडारी, कमलबजार नगरपालिका उपप्रमुख सारदा बिष्ट कुवँर, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावल, तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बीमला कुमारी बुढा, रामारोशन गाउँपालिका उपाध्यक्ष सिर्जना बुढा, साफेबगर नगरपालिका कार्यवाहक नगर प्रमुख मकरबहादुर कुवँर लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, विषयगत शाखा प्रमुख र सरोकारवालाहरूको सहभागिता रहेको थियो।
जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन निमित्त जिल्ला समन्वय अधिकारी दीपकराज जोशीले गरेका थिए ।









