Advertisement
SKIP THIS
टिकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखमा राम नगार्जी चयन

कैलाली:टिकापुर नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद रिक्त भएपछि कार्यपालिका बैठकले कार्यवाहक नगरप्रमुख चयन गरेको छ।नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य निर्वाचित रामलाल नगार्जीलाई बहुमतका आधारमा कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिइएको हो।

उपप्रमुख खडकबहादुर शाह (तत्कालीन माओवादी केन्द्र) टीकापुर नगर विकास समितिको जग्गा प्रकरणमा अख्तियारले मुद्दा चलाएपछि निलम्बनमा परेका थिए। त्यसपछि नगरप्रमुख रामलाल डगौरा थारुले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि नगर नेतृत्वविहीन बनेको थियो।

नगरप्रमुख र उपप्रमुख दुवै पद रिक्त भएपछि कार्यपालिका सदस्यहरूको निवेदनका आधारमा बैठक बोलाइएको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए। शनिबार बसेको बैठकमा १७ सदस्यीय कार्यपालिकामध्ये ९ जनाले नगार्जीको पक्षमा उभिएका थिए ।

नगार्जीलाई ज्येष्ठ सदस्यका आधारमा कार्यवाहक प्रमुख चयन गरिएको जनाइएको छ। उनको पक्षमा नेपाली कांग्रेसका ५, तत्कालीन नागरिक उन्मुक्ति पार्टीका २, तत्कालीन माओवादी केन्द्रका १ र एमालेका १ सदस्यले साथ दिएका थिए।

यता, नेकपामा साबिक माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीका गरी ११ सदस्य छन् । बैठकमा ती दलका ३ सदस्य मात्र उपस्थित थिए। नेकपाका ८ सदस्य अनुपस्थित रहे ।

तपाईको प्रतिक्रिया