अछाम:राष्ट्रियताको सवालमा चर्को स्वरमा बोल्दैमा नेता महान् हुँदैन । भीम रावल त्यसकै ज्वलन्त उदाहरण हुन् । अछाम–१ बाट चुनाव लड्दै गरेका भीम रावल राष्ट्रियताको कुरा गर्दा जब्बर देखिन्छन् । दशकौँसम्म सत्ता, संसद र पार्टीको शीर्ष तहमा बसेका रावल आज फेरि भोट माग्न आउँदै छन् । तपाईहरु सबै जनाले प्रश्न सोध्नुहोला । हाम्रो लागी के गर्नुभयो ? अछामका दुर्गम गाउँका बाटो हिजो पनि उस्तै थिए, आज पनि उस्तै छन् ।
अस्पतालको अवस्था उस्तै छ । भएको बयलपाटा अस्पताल पनि बन्द हुने अवस्थामा छ । युवा बेरोजगारको त कुरै नगरौँ । वेरोजगारीकै कारण अछाममा अहिले निर्वाचन प्रहरीका लागि युवा पुगेका छैनन् । यस्तो हुनुमा रावलको असफलता हो, उनको नेतृत्वको असफलता हो । अछाम–१ का मतदाताले भावनात्मक भाषण होइन, स्थानीय समस्या समाधान गर्ने प्रतिनिधि खोजिरहेका छन् ।
शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी जस्ता आधारभूत विषयमा भीम रावलको योगदान खोज्दा खाली ठाउँ धेरै देखिन्छ । विगतमा सत्ता र शक्तिको नजिक रहँदा पनि उनले अछामका दीर्घकालीन समस्या समाधान गर्न ठोस पहल गर्न सकेनन् । उनले आफैंले गरेका सार्वजनिक प्रतिबद्धता र विकासका बाचाहरू कागजमै सीमित भए । भीम रावलले पटक–पटक बाचा गरे, भाषण गरे, कडा शब्द प्रयोग गरे । तर बाचा पुरा भएनन् । काम देखिएन ।
राष्ट्रियता जोगाउने नाममा भाषण भयो, तर स्थानीय जनताको जीवन जोगाउने काम भएन । आज एमालेबाट निकालिएपछि नयाँ झण्डा बोकेर मैदानमा उत्रँदैमा विगत मेटिँदैन । पार्टी बदलिँदैमा असफलता सफलतामा रूपान्तरण हुँदैन । विगतमा गर्न नसकेको काम अब गर्छन् त ? यसको जवाफ उनीसँग पनि छैन । राष्ट्रवाद नारामा होइन, जनताको जीवनस्तर सुधारमा देखिनुपर्छ । खाली चर्को बोली, खोक्रो राष्ट्रवाद र पुराना भाषण अब अछामले धान्न सक्दैन ।
अछामलाई अब भावनामा खेल्ने नेता होइन, परिणाम दिने प्रतिनिधि चाहिएको छ । राष्ट्रियताको कुरा आवश्यक छ, तर पेट भरिने, बाटो बन्ने र भविष्य सुरक्षित हुने नेतृत्व अझ आवश्यक छ । यही कसीमा भीम रावललाई तौलिँदा, उनको राजनीतिक छवि र स्थानीय यथार्थबीचको खाडल स्पष्ट देखिन्छ । मतदाताले यही वास्तविकता बुझेर निर्णय लिनु आजको आवश्यकता हो । अछाम–१ का मतदाताहरु मत हाल्नु अघि एकपटक सोच्नुहोला !
–एकेन्द्र खत्री, पत्रकार तथा अछाम–१ को मतदाता










