अछाम:अछामको साँफेबगर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत नगर शिक्षक, बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीहरूले ५ महिना देखि नगरपालिकाले दिनुपर्ने तलब नपाएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन्।
शुक्रबार नेपाल शिक्षक संघ नगर कार्य समिति अध्यक्ष शंकर कुँवर सचिव धन बहादुर खातिको नेतृत्वमा गएको टोलि साँफेबगरले लामो समयसम्म तलब भत्ता नपाउँदा शिक्षकहरूको दैनिक जीवनयापनमा गम्भीर समस्या उत्पन्न हुनुका साथै शैक्षिक गतिविधिमा समेत प्रत्यक्ष असर परिरहेको भन्दै नगर उप प्रमुख शिव बहादुर कुँवरलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
त्यस्तै विगत २ वर्षदेखि राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत सञ्चालन हुँदै आएको राष्ट्रपति खेलकुद कार्यक्रमको लागि विनियोजित रकम समेत हालसम्म विद्यालयलाई उपलब्ध नभएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
विगत २ वर्षदेखि राष्ट्रपति शैक्षिक सुधारको पैसा बिधालयहरुले नपाउदाँ खेलकुद कार्यक्रम सञ्चालनमा कठिनाइ उत्पन्न भएको विद्यार्थीको शारीरिक, मानसिक तथा सर्वाङ्गीण विकासका बाधा पुगेको नेपाल शिक्षक संघ नगर कार्य समिति अध्यक्ष शंकर कुँवरले बताउनु भयो ।
नगरको शैक्षिक तथा खेलकुद विकासमा अहोरात्र खटिने जनशक्तिलाई प्रोत्साहन स्वरूप प्राप्त हुनुपर्ने उक्त रकम रोकिँदा सम्बन्धित पक्षमा अन्योल र निराशा पैदा हुनुको साथै विद्यालयलाई व्यायभार थपिएको अध्यक्ष कुँवरले बताउनुभयो ।











