Advertisement
SKIP THIS
जयगढका आगलागी पिडितले १५ हजार देखि ५ लाख ३५ हजार सम्म राहत रकम पाउने

अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकाका आगलागी पिडितले दुई महिनापछि नगद राहत रकम पाउने भएका छन । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयजढ बजारमा गत चैत्र २६ गते भएको आगलागीबाट पीडितहरुलाई गाउँपालिकाले राहत वितरणको प्रक्रिया सुरु गरेको छ । 

गाउँपालिकाले आगलागीबाट पीडित लाभग्राहीहरुको नामावली र पाउने राहत रकमको विवरण आज गाउँपालिकाले सार्वजनिक गरेको छ । गाउँपालिकाले आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि २०८२ पारित गरेर राहत वितरणको प्रक्रिया थालेको हो । 

गाउँपालिकाका अनुसार आगलागीबाट पीडित ३९ जनाले ६३ लाख २१ हजार नगद राहत रकम पाउने छन् । राहत रकम बितरण प्रक्रिया आइतबारबाट थालिन हुनेछ। गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदका अनुसार उक्त राहत रकम सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकारहरु, विभिन्न गैरसरकारी संघ सस्था, व्यक्ति तथा व्यापारिक फर्महरुबाट संकलन भएको हो। 

राहत रकम पाउने ३९ मध्ये ६ जनावाहेक सबै बान्नीगढी जयगढ गाउँपालिकाका छन । ६ जनामध्ये तीन मेल्लेख गाउँपालिका वडा नंम्वर ७ का तथा तीन साँफेबगर नगरपालिकाका ब्यापारी रहेका छन । सबैभन्दा धेरै नगद राहत रकम पाउनेमा निर्मला रावल र खगेन्द्र साउँद छन् । उनीहरुले ५ लाख ३५ हजार रुपैयाँ पाउने भएका छन । 

सबैभन्दा कम रकम पाउनेले १५ हजार पाउने भएका छन् । जेठ २७ गते बसेको गाउँपालिका स्तरिय विपत् व्यवस्थापन समितिको बैठकको सिफारिस तथा आज बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया