सुरत सुनार अछाम:अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोटमा सञ्चालित जलवायु मैत्री कृषक पाठशालाले २१ हप्ते तालिमको समापन गर्दै विशेष “कृषक दिवस” कार्यक्रम सम्पन्न गरेको छ। वाक नेपाल र वल्र्ड भिजनको साझेदारीमा सञ्चालित एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना अन्तर्गत सञ्चालनमा आएको पाठशालामा नवदुर्गा उत्पादक कृषक समूहका १८ जना सहभागी थिए।
गत २०८१ मंसिर देखि सुरु भएको गोलभेंडा बाली केन्द्रित पाठशालामा जलवायु परिवर्तनको असरमा अनुकूल खेती प्रविधि, जैविक विधि, जल व्यवस्थापन, र आधुनिक कृषि प्रणाली सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। कार्यक्रम वडा सदस्य नृप आउजीको अध्यक्षतामा सम्पन्न भएको थियो। नेपाल पत्रकार महासंघ अछाम शाखाका सह–सचिव सुरत सुनार, आस्था नेपालका सामाजिक परिचालक धु्रव स्वार, सर्जन बहादुर शाही, समाजसेवी जगत भुल, तुले भुल, तथा पाठशालाका प्रशिक्षार्थीहरू सहभागी थिए।
वडा सदस्य आउजीले जलवायु मैत्री खेती प्रणाली नयाँ भए पनि प्रभावकारी भएकोले आगामी दिनमा वडा कार्यालयबाट आवश्यक सहयोग र जिम्मेवारी लिने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै पत्रकार महासंघका सह–सचिव सुनारले महिलाहरूले सिकेका सीप आफ्नै बारीमा व्यवहारमा उतार्नु पर्ने बताउनु भयो। कार्यक्रममा सहभागीहरूले गोलभेंडा खेतीको बीउ रोपण देखि दोस्रो टिपाईसम्मका अनुभव गर्नु भयो। जलवायु अनुकूलनका उपाय, परम्परागत र वैज्ञानिक विधिहरूको तुलना, र सामूहिक सिकाईका अनुभव बारे अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो। कार्यक्रमको सञ्चालन वाक नेपालका फिल्ड परिचालक भुपेन्द्र भण्डारीले गरेका थिए।










