अछाम:अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित मुख्य व्यापारिक केन्द्र जयगढ बजारमा भएको भीषण आगलागीका पीडितलाई पञ्चदेवल विनायक नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले गाउँपालिकाको राहत कोषमा १ लाख रुपैयाँ जम्मा गरिदिने जानकारी दिएकी छन्।
नगरप्रमुख चलाउनेका अनुसार कार्यपालिका बैठकबाट निर्णय गरेर उक्त रकम तत्काल राहत कोषमा उपलब्ध गराइनेछ।जयगढमा भएको भिषण आगलागीबाट करोडौंको क्षति भएको घटनाप्रति नगरप्रमुख चलाउनेले गहिरो दुख व्यक्त गरेकी छन्।
अछामको एक प्रमुख व्यापारिक केन्द्रमा भएको यो विपत्तिले धेरै परिवार विस्थापित भएको उल्लेख गर्दै उनले विस्थापित परिवारलाई पुनःस्थापित गर्न सम्बन्धित निकायले समयमै पहल गर्नुपर्नेमा जोड दिएकी छन्।










