अछामःसुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरेको प्रदेश गौरव आयोजना त्रिदेशिय सडक सेती राजमार्गमा राजनीतिक ‘स्टन्ड’ बढी तर प्रगति भने न्यून रहेको छ। अछाम सहित डोटी र कैलालीबाट निर्वाचित जनप्रतिनिधिले निर्णायक निर्णय लिन नसक्दा बषौ देखि राजमार्गको काम सुस्त गतिमा अगाडि बढिरहेको छ।
निर्वाचन ताका चुनावी एजेन्डा बन्ने सेती राजमार्ग काजगमा लोक मार्गबाट राजमार्गमा परिणत हुदाँ काम भने उहीँ सुस्त गतिमा रहेको छ।कुनै सामान्य प्रगति हुदाँ जस लिनका लागि तछाड मछाड र सामाजिक सञ्जाल रंगाउने जनप्रतिनिधि र राजनीति गर्ने हरुले सेती राजमार्गको लागि प्रयाप्त बजेट बिनियोजन गराउन सकेका छैनन् ।बजेट अभाव त्यैसमा राज्यका निकायको दोहोरो चरित्रमा बनेका कानुनले गर्दा सेती राजमार्ग हुदैँ यात्रा गर्ने नागरिकको सपना सपनामै सिमित बनिरहेको छ।
सेतिराजमार्ग अन्र्तगत दक्षिणी खण्डमा हालसम्म १२६ किलोमिटर ट्रयाक मात्र खोलिएको छ । दक्षिणी खण्ड २०४ किलोमिटर रहेको छ । ७८ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ । सडक खण्ड अन्र्तगत सबैभन्दा धेरै डोटीको ठुलीगाड क्षेत्रमा ट्रयाक खुल्न सकेको छैन । २०८१ बैशाख २७ गते बसेको मन्त्रिपरिषदको बैठकले डोटीको ठुलीगाड–सेती–बुढीगंगा दोभानमा ४० किलोमिटर सडक निमार्णका लागी राष्ट्रिय वनको ८० हेक्टर जग्गामा रहेको २ हजार ७८५ रुख कटानको आदेश दिएको थियो ।
वन ऐन २०७६ अनुसार राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना,लगानी बोर्डबाट लगानी स्वीकृत भएको योजना राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्न वन क्षेत्रको प्रयोग गर्नुको विकल्प नभएमा प्रचलित कानून बमोजिम वातावरणीय परिक्षणबाट त्यस्तो योजना संचालन गर्दा वातावरणमा उल्लेखनिय प्रतिकुल असर नपर्ने गरी वनको कुनै भाग प्रयोग गर्न स्वीकृत दिन सक्ने उल्लेख छ ।
आयोजनाले रुख कटान भोगाधिकार पश्चापत बृक्षारोपण(एक काटे बापत दश रुख रोप्नु पर्ने) पाँच वर्षसम्म रुख हुर्काउन सम्भार गर्न लगायतका आवश्यक पर्ने रकम वन विकास कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।रुख कटानका लागी वन विकास कोषमा सेतीराजमार्गको कार्यालयले ४० करोड २७ लाख ३१ हजार
रकम जम्मा गर्नुपर्ने हुन्छ । उक्त रकम जम्मा गर्न नसक्दा रुख कटानको काम अगाडी बढ्न नसकेको सुचना अधिकारी केशवदत्त मिश्रले बताए । उनले भने, ‘रुख कटानको लागी प्रकृयाहरु धेरै छन् ।
४० किलोमिटर भित्र पर्ने रुख कटानपछि बृक्षारोपण लगायत अन्य थुप्रै कार्यका लागी हुन आउन खर्चको स्टेमेट वनले निकालेको छ । कुल रकम ४० करोड २७ लाख ३१ हजार ५ सय ६० छ । नियम अनुसार वन कोषमा कार्यालयले जम्मा गर्नुपर्छ । त्यो रकम हामीले जम्मा गर्न सकेका छैनौ ।’सेती राजगमार्ग सँग प्रयाप्त बजेट नहुँदा हालसम्म वन विकास कोषमा जम्मा गर्न नसकेको मिश्रले बताए । आयोजनाका लागी सडक पुल निमार्णका लागी बजेट नै न्युन आउने भएकाले वन विकास कोषमा रकम जम्मा गर्न नसक्ने अवस्था रहेको बताए ।
वन विकास कोषमा कार्यालयले रकम जम्मा गर्ने अवस्था नभएपछि फेरि मंसिर ६ गते बसेको मन्त्रि परिषदको बैठकले नेपाल सरकारबाट सञ्चालित आयोजना निमार्णका लागी वन विकास कोषमा रकम जम्मा गर्नु नपर्ने निर्णय गर्याे । बैठकले वन ऐन २०७६ को दफा ४५ वमोजिम वन विकास कोषमा व्यहोर्नु पर्ने दायित्व सिर्जना भएका बेला अर्थमन्त्रालयले स्रोत व्यवस्थापन गर्ने गरी रुख कटानको प्रकृया अगाडी बढाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदले गरेको निर्णय अहिलेसम्म कार्यान्वयन हुनसक्दा पटक पटक काठमाण्डौ धाईरहनु परेको ईन्जिनियर राजन खड्काले बताए । उनले भने,‘पहिलो निर्णय रुख कटान जग्गा भोगाधिकार र दोस्रो निर्णय रकम जम्मा गर्न नपर्ने,परेको खण्डमा अर्थमन्त्रालले स्रोतको व्यवस्था गर्ने गरी प्रकृया अगाडी भने पनि काम सुचारु हुन सकेको छैन ।
मन्त्रिपरिषदले निर्णय गरेको १० महिना भन्दा बढी बितिसक्दा पनि काम अगाडी बढ्नै सकेको छैन ।’ खड्काका अनुसार मन्त्रिपरिषदको निर्णय वन तथा भु संरक्षण बिभागले
नमान्दा समस्या भएको र थप स्रोत सुनिश्चितताका लागी पहल भईरहेको छ । दुई वर्ष पहिले ठेक्का सम्झौता भईसक्दा समेत रुख कटानको आदेश आउन नसकेको उनले बताए । ठेक्काको म्याद सकिन थालेको खड्काले बताए ।
अछामबाट केन्द्रस्तरमा राजनिति गर्ने नेताहरुको भाषणमा प्राथमिकता र कामको प्राथमिकतामा सेती राजमार्ग नपर्ने गरेको खड्काले भने। ‘नेताहरुमा कसले जस लिने भन्ने हानथाप मात्र छ । सेती राजमार्गको फोटो खिच्यो फेसबुकमा हाल्यो,आफ्नो पहलमा भईरहेको छ भनेर स्टाटस पोष्ट गर्ने,काम कहाँ रोकियो,किन रोकियो भन्ने चासो कसैलाई छैन ।’ अछामबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र नेतास्तर हुने राजमार्गको कुनै काम हुन नसकेको उनले बताए ।
सेतिराजमार्ग अन्तर्गत दक्षिणी खण्डको कैलाली क्षेत्रमा ७२ किलोमिटर,अछाममा ८०,डोटी ४० र बाजुरा क्षेत्रमा १२ किलोमिटर सडक पर्दछ । हालसम्म कैलालीको २ किलोमिटर ट्रयाक खुल्न बाँकी छ भने डोटीको ४०,अछामको २४ र बाजुराको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको ईन्जिनियर युवराज जोशीले जानकारी दिए । यो वर्ष ७ वटा ठेक्का खोलिएको छ । जस अन्र्तगत कैलालीमा ४ र अछाममा ३ रहेको छ । चालु आर्थिक वर्षका लागी सडक तर्फ ५४ करोड र पुल तर्फ ९ करोड ३८ लाख बजेट रहेको छ ।
हाल सडक स्तर उन्नतीको कामहरु भईरहेको जोशीले बताए । दक्षिणी खण्ड तर्फ १२ वटा निमार्ण कम्पनीहरुले काम गरिरहेका छन् ।कैलालीको टिकापुर भारतसँग जोडिएको तिकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य छ । ३ सय ५२ कुल लम्बाइ रहेकोे सेती राजमार्गको दुई खण्ड बनाएर निर्माण कार्य भइरहेको छ । राजमार्गको दक्षिणी खण्ड अन्र्तगत साँफेबगरमा र उत्तरी खण्ड तर्फ बझाङ्गको चैनपुरमा कार्यालय रहेको छ ।
उत्तरी खण्ड १४८ किलोमिटर रहेको छ । भने ७२ किलोमिटर मात्र ट्याक खुलेको छ । उत्तरी खण्डको चालु आर्थिक वर्षका लागी २४ करोड बजेट रहेको सेती राजमार्ग उत्तरीखण्ड बझाङ्गका प्रमुख विरेन्द्र यादवले जानकारी दिए । राजमार्ग निर्माणको काम बजेट अभावका, रुख कटानमा अलमलका कारण अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेको हो ।










