अछाम :अछामकाे ढकारी गाउँपालिकाका-८ की १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको ‘शंकास्पद’ मृत्युको अनुसन्धान गर्न अछाम प्रहरीले थप विशेषज्ञ जनशक्ति मगाएको छ । अनुसन्धान गर्न विशेषज्ञ टाेली आज बेलुकासम्म अछाम आइपुग्ने अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
यसअघि घटनास्थलमा तालिमप्राप्त कुकुरलाई ल्याएर अनुसन्धान सुरु गरेको प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट प्राविधिक अनुसन्धान गर्नलाई विशेषज्ञ टोली मगाएको हो ।
भण्डारीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि बोलाउने विषयमा छलफल भइरहेको बताए । घटनाका हरेक विषयलाई सूक्ष्म तरिकाले अनुसन्धान गर्नु जरुरी रहेको प्रहरी प्रमुख भण्डारीकाे भनाइ छ ।
किशोरी मृत्युको घटनामा अहिलेसम्म अछाम प्रहरीले ११ वर्षदेखि ४० वर्षसम्मका ५ जनालाई नियन्त्रणमा लिइसकेको छ । ढकारी गाउँपालिका–८ की एक किशोरीले शुक्रबार दिउँसो करिब २ बजेको समयमा शव भेटिएको विपरीत डाँडाबाट ५ जनाले ढुंगा खसाल्दै गरेको देखेपछि अनुसन्धान त्यसतर्फ मोडिएको छ । १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव १५ मिटरको दूरीमा भेटिएको थियो ।
घटनास्थलबाट करिब ५ सय मिटरमाथि रक्ताम्मे ठाउँ देखिएको स्थानीयले प्रहरीलाई जानकारी गराएपछि घटना थप रहस्यमय बन्दै गएको छ ।










