धनगढी:सुदूरपश्चिमबाट सरकार तथा निजी क्षेत्रको लगानीमा विद्युत उत्पादन सुरु भएको हो । विद्युत विकास विभागको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशबाट १७५.३७ मेगावाट जलविद्युत उत्पादन हुन थालेको छ । यहाँ १० ठूला जलविद्युत आयोजनाबाट सो परिमाणमा जलविद्युतको व्यावसायिक उत्पादन भइरहेको हो ।
दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाबाट नेपाल विद्युत प्राधिकरणले ३० मेगावाट जलविद्युत उत्पादन थालेको थियो । त्यसपछि निजी क्षेत्रको लगानीमा ९ वटा ठूला जलविद्युत आयोजना निर्माण सम्पन्न भई १४५.३७ मेगावाट जलविद्युत उत्पादन भइरहेको हो । यसै साताबाट अपर चमेलिया जलविद्युत आयोजनाबाट ४० मेगावाट जलविद्युत उत्पादन सुरु भएको जनाइएको छ । अपि पावर कम्पनीले आठ अर्ब रुपैयाँको लागतमा निर्माण गरेको सो आयोजनाको परीक्षण सफल भएपछि साउन ८ मा उद्घाटन गरिएको थियो ।
२०७६ असोज १२ मा विद्युत विकास विभागबाट कन्ट्रक्सन लाइसेन्स पाएको कम्पनीले केही दिनमै आयोजनाबाट व्यावसायिक उत्पादन सुरु गर्ने जनाएको छ । यसैगरी, बझाङको कालंगाडका तीन जलविद्युत आयोजनाबाट ६४.४९ मेगावाट जलविद्युत उत्पादन सुरु भएको छ । कालंगा जलविद्युत आयोजनाबाट १५.३३ मेगावाट र अपर कालंगाडबाट ३८.४६ मेगावाट जलविद्युत २०७९ माघबाट व्यवसायिक उत्पादन सुरु भएको हो ।
दार्चुलाको नौगाड आयोजनाबाट ८.५, डोटीको कापडीगाड आयोजनाबाट ३.३३, दार्चुलाको मकारी गाड आयोजनाबाट १०, दार्चुलाकै अपर नौ गाडबाट ८ र बझाङको सुनिगाड आयोजनाबाट ११.०५ मेगावाट जलविद्युत उत्पादन भइरहेको विद्युत विकास विभागले जनाएको छ । यी आयोजनाहरुको प्रवद्र्धन निजी कम्पनीहरुले गरेका हुन् । नीगाड जलविद्युत आयोजनाबाट १०.७ मेगावाट जलविद्यत व्यावसायिक उत्पादनको तयारीमा रहेको कालंगा जलविद्युत प्रालिका निर्देशक वीरेन्द्र मल्लले बताए । उनले कालंगा जलविद्युत प्रालिद्वारा प्रवद्र्वन गरिएको तीनवटै आयोजनाको उत्पादन राष्ट्रिय प्रसारणलाईनमा जोडिसकेको बताए ।
उनले बाटो बन्द भएको कारण विद्युत प्राधिकरणबाट निरीक्षण आउन बाँकी रहेकोले सानीगाडको व्यवसायिक उत्पादन हुन नसकेको जनाए । उनका अनुसार कालंगा जलविद्युत प्रालिले ती आयोजनाहरु निर्माण गर्न १४ अर्ब रुपैयाँ लगानी गरेको छ ।
दार्चुलाको नौगाड आयोजनाबाट ८.५, डोटीको कापडीगाड आयोजनाबाट ३.३३, दार्चुलाको मकारी गाड आयोजनाबाट १०, दार्चुलाकै अपर नौ गाडबाट ८ र बझाङको सुनिगाड आयोजनाबाट ११.०५ मेगावाट जलविद्युत उत्पादन भइरहेको विद्युत विकास विभागले जनाएको छ । यी आयोजनाहरुको प्रवद्र्धन निजी कम्पनीहरुले गरेका हुन् । विद्युत प्राधिकरणले चमेलिया जलविद्युत आयोजना निर्माणसँगै १३२ केभीको चमेलिया–बलाँच–अत्तरिया प्रसारणलाईन र शैल्यशिखर नगरपालिका–१, बलाँचमा सबस्टेशन बनाएपछि सुदूरपश्चिममा निजी क्षेत्रले जलविद्युतमा लगानी गर्न थालेका छन् ।
बझाङ र दार्चुलामा उत्पादन हुने जलविद्युत सो सबस्टेशनबाट राष्ट्रिय प्रसारणलाईनमा जोडिने गरेको छ । १३२ केभीको चमेलिया–बलाँच–अत्तरिया प्रसारणलाईनको दोस्रो सर्किटसमेत गत असारबाट सञ्चालनमा आएको छ ।










