Advertisement
SKIP THIS
आज नवरात्रीको सातौ दिन, घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदै

नेपालीहरूको महान् चाड बडादशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ। आश्विन शुक्ल सप्तमीका दिन नवपत्रिका भित्र्याउने प्रथा अनुसार उखु, हलेदो, धानको बाला, केराको बोट, दारिम, बेलपत्र, अशोक, जयन्ती र मानवृक्षसहित नौवटी देवीको पूजा गरिन्छ।

धर्मशास्त्रविद्हरूका अनुसार यी वनस्पतिहरूमा नौ देवीको आह्वान गरी शक्तिको आराधना गर्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार फूलपाती भित्राउन छुट्टै साइतको आवश्यकता पर्दैन।

गोरखाबाट धादिङ हुँदै राजधानीसम्म विशेष समूहले फूलपाती ल्याउने प्रथा छ। जमलबाट हनुमानढोकासम्म उच्चपदस्थ अधिकारी, गुर्जु पल्टन, पञ्चेबाजा र सांस्कृतिक कार्यक्रमसहित फूलपाती भित्र्याइनेछ। यस वर्ष अपराह्न हनुमानढोकामा विशेष कार्यक्रम हुनेछ।

फूलपातीसँगै दशैंको रौनक झन् बढेको छ। आजदेखि सरकारी कार्यालयहरू पनि बिदामा जाने भएकाले राजधानी सुनसान हुँदै गाउँ फर्किने चहलपहल तीव्र बनेको छ। गाउँघरमा लिङ्गेपिङ, रोटेपिङ र चङ्गा उडाउने परम्पराले उत्सवको रंग थप्ने परम्परा छ।

तपाईको प्रतिक्रिया