Advertisement
SKIP THIS
अष्ट्रेलियामा ‘भेट्छ एप’ निर्माण गरी नेपालीलाई सघाउदै सापकोटा

काठमाडौँ: विदेशिएका नेपालीहरूलाई लक्षित गरी अष्ट्रेलियामा बसोबास गर्दै आएका चितवन लङ्खुका नवीन सापकोटाले ‘भेट्छ एप’ नामक सामाजिक एप सार्वजनिक गरेका छन्। यो एपमार्फत अष्ट्रेलियामा रहेका नेपाली नागरिकलाई आवश्यक पर्ने रोजगारी, शिक्षा, स्वास्थ्य, आवास, लाइसेन्स लगायतका विषयमा सजिलै जानकारी प्रदान गरिनेछ।

सापकोटा हाल अष्ट्रेलियाको मेलबर्नमा आइटी क्षेत्रमा कार्यरत छन्। करिब दुई वर्षको तयारीपछि उनीसँगै नेपालका आईटी इन्जिनियर निराजन कँडेल र अमेरिका निवासी कम्प्युटर इञ्जिनियर आशिष पङ्गेनीको सहकार्यमा यो एप निर्माण गरिएको हो।

नवीन सापकोटाका अनुसार, “विदेशमा रहेका नेपालीहरूलाई कुलतबाट टाढा राख्दै, सामाजिक संलग्नता बढाउने, र दैनिक जीवनका आवश्यक सेवाको जानकारी दिन यो एप प्रभावकारी माध्यम बनेको छ।” उनका अनुसार ‘भेट्छ एप’ सामाजिक सञ्जाल जस्तै गरी प्रयोग गर्न सकिन्छ जहाँ प्रयोगकर्ताहरूले पोष्ट गर्न, समस्या साझा गर्न, र समाधान खोज्न सक्छन्।

भेट्छ एप अष्ट्रेलिया सरकारबाट मान्यता प्राप्त ,हालसम्म ४,००० भन्दा बढी प्रयोगकर्ता रहेका १९ मार्च २०२५ मा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव र समाजसेवी शेष घलेले मेलबर्नमा एपको औपचारिक उद्घाटन गरेका थिए। एपमार्फत कोठा खोज्ने, यात्रा गर्ने, सवारी चालक अनुमति पत्र लिने लगायतका सूचनाहरू सजिलै पाइने व्यवस्था रहेको छ।

सापकोटाले भने, “हामीले यो एप बनाउनुको मूल उद्देश्य भनेकै, विदेशमा रहेका नेपालीहरूको जीवनलाई सहज बनाउनु हो। सबै सूचना एउटै प्लेटफर्ममा ल्याउने प्रयास हो।”

हाल एप अमेरिका र अष्ट्रेलियामा सञ्चालनमा रहेको छ। चाँडै नै क्यानडा, बेलायत, र न्युजिल्यान्डसम्म विस्तार गर्ने योजना रहेको एपका प्रवर्तकहरूले बताएका छन्।

भविष्यमा नेपालीहरूको सघन उपस्थिति रहेका सबै देशमा ‘भेट्छ एप’ विस्तार गर्ने लक्ष्य राखिएको छ। नवीन सापकोटा भन्छन्, “यो एप नेपाली डायस्पोराका लागि एक भरोसायोग्य सूचना केन्द्र बनोस् भन्ने हाम्रो उद्देश्य हो।”

‘भेट्छ एप’ नेपालीलाई विदेशी भूमिमा आवश्यक पर्ने सम्पूर्ण जानकारीहरू सजिलैसँग प्रदान गर्ने निःशुल्क डिजिटल साथी बन्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया