काठमाडौं:सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ ।
बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो । यसका लागि वन तथा वातावरण मन्त्रालयले सर्त भने तोकेको छ ।
सर्त अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानी नोक्सानी पुर्याएरमा एक्लै वा सामूहिक रुपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सकिन्छ ।
बँदेल पक्रिएको अवस्थामा सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्त आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालयमा बुझाउनु पर्ने छ । त्यसको सूचना वडा कार्यालयमा समेत गराउनु पर्ने सर्त राखिएको छ ।
पक्रने क्रममा बँदेल मरेमा वडाका एक जना प्रतिनिधिको रोहबरमा मुचुल्का गरी गाड्न वा तौलको आधारमा मूल्य तोकी सो रकम राजस्वमा चढाएर सम्बन्धित वडाभित्र उपयोग गर्न सकिने सर्त राखिएको छ ।
यो व्यावसायिक प्रयोजनमा भने गर्न नपाइने सरकारको सर्त छ । यसको जानकारी समेत सम्बन्धित निकुञ्ज वा कार्यालय तथा वडा कार्यालयमा गराउनु पर्ने भएको छ ।
मारिएको बँदेलको विवरण हरेक महिना संघीय सरकारका सरोकारवाला निकायलाई गराउनु पर्ने भएको छ । निजी जमिन बाहेकको क्षेत्रमा भने बँदेललाई धमाउन, मार्न, लखेट्न पाइँदैन ।