Advertisement
SKIP THIS
गुणस्तरीय सिकाईका लागि गन्तब्य बन्दै प्रभा धमकोट मावि

गुणस्तरीय शिक्षा प्रदानका लागि प्रभा धमकोट माविका अनेकौ अभ्यास
टेकराज भण्डारी, अछाम :अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ मा रहेको प्रभा धम्कोट माविले गुणस्तरीय शिक्षा प्रदानका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको छ ।

एसईई दिने विद्यार्थीका लागि खान बस्नको व्यवस्था सहित निस्शुल्क तयारी गराउने विद्यालयले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गरि शैक्षिक सुधारको प्रयास गरिरहेको छ ।

विद्यालयले सेवा क्षेत्रमा रहेका २२ टोललाई ११ टोलमा बाँडेर हरेक टोलमा शिक्षा समिति बनाई संयोजक समेत तोकेको छ । थप आकर्षकको कुरा त के छ भने टोल शिक्षा संयोजकले विद्यालय सञ्चालन भएको समयमा हरेक दिन बिहान ५ बजे घण्टी बजाई आमासंगै बच्चालाई ब्युझाउने र विहान ७ बजेदेखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक जोगराज कुँवरले बताए ।

विद्यालयको समय १० बजेदेखि ४ बजेसम्मको समयले मात्रै विद्यार्थीलाई सिकाउन नसकिने निष्कर्ष सहित विद्यालयले यो अभ्यास गरिरहेको र यसको सकारात्मक प्रभाव परिरहेको प्रधानाध्यापक कुँवरले बताए । बिहान ७ बजे विद्यालयमा पठाउँदा आमा तथा अभिभावकले बालबालिकालाई खाजा खुवाउने तथा स्कुलमा खानको लागि खाजा तयार पारेर दिने गरेको उहाँले बताए ।

आफ्नो विद्यालयले सबै कक्षाहरु बिहान ७ बजेबाटै सञ्चालन गरिरहेको भन्दै प्रधानाध्यापक कुँवरले हाल विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमले ठुलो राहत पुगेको बताए । गुणस्तरीय सिकाईका लागि विद्यालय समयले मात्रै नपुग्ने भन्दै थप समय व्यवस्थापन गरि सिकाउनु पर्ने र यसका लागि अभिभावक तथा सरोकारवालाले चाँसो राख्नुपर्नेमा उनको जोड छ ।

विद्यालयमा हाल पढ्दै कमाउँदै कार्यक्रम पनि सञ्चालन भैरहेको भन्दै त्यसबाट विद्यार्थीमा व्यवहारिक ज्ञान संगै सिकाई भैरहेको प्रधानाध्यापक कुँवरको भनाइ छ ।

विद्यालयले हालै बीएस्सी एजी सञ्चालनका लागि आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट पनि ३ करोड बढी रकम संकलन भएको छ । महायज्ञ समापन हुँदा सम्म विभिन्न दानदाताबाट गरि ३ करोड ९ लाख २२ हजार ६ सय ७० रुपैँया संकलन भएको महायज्ञ आर्थिक समिति संयोजक कृष्ण बहादुर कुँवरले बताए ।

वीएस्सी एजी सञ्चालनका लागि मन खोलेर दान गर्नु हुने दान दाता ,भूमिदान र तुलादान, कलश काटेर सहयोग गर्नु हुने सम्पूर्ण दाताहरुमा प्रधानाध्यापक कुँवरले धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया