Advertisement
SKIP THIS
अछाममा क्षयरोग नियन्त्रणमा चुनौती थपिदै

निराकरण खबर अछाम:अछामका पत्रकारहरु सँग स्वास्थ्य कार्यालयले विश्व क्षयरोग दिवस मार्च २४ को अवसरमा गरेको अन्तरक्रिया गरेको छ।

‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नाराका साथ शुक्रबार पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले अछाममा क्षयरोगका नियन्त्रणमा चुनौती थपिदै गएको बताएका छन।

उनले क्षयरोगका बिरामीहरुले २÷३ महिना औषधी नियमित सेवन गर्ने र पछि केही सञ्चो भएपछि औषधी खान छाड्ने गरेकाले रोग बल्झिने क्रम बढ्दो, चेतनाको अभावका कारण अझै पनि गाउँटोलमा रोग लुकाउने गरेकाले क्षयरोग नियन्त्रणमा चुनौती थपिदै गएको उनलेे बताए ।

दैनिक ६ महिनासम्म औषधि खाँदा क्षयरोग पूर्ण रुपमा निको हुने भएता पनि बिरामी केहि महिनामै ठिक भएको महसुस गर्ने बिचैमा छोड्ने गरेका कारण क्षयरोगका बिरामी बढ्दै गएका उनले बताए ।

अझैपनि समाजमा उपचार गर्नुपर्छ भन्ने जानकारी पुर्ण रुपमा विस्तार हुन नसकेकाले अब यसको ब्यापक प्रचारप्रसारमा जोड दिनुपर्ने देखिएको छ । सुक्खा खोकी लाग्ने, शरीरको तौल घट्ने र राति राति ज्वरो आउने जस्ता लक्षण देखिए क्षयरोग भएको हुनसक्छ । तर, कतिपयलाई भने क्षयरोगको लक्षण देखिँदैन । क्षयरोगको लक्षण देखिए वा क्षयरोग भएकाहरुको सम्पर्कमा पुगेको भए स्वास्थ्य परीक्षण गर्न उहाँले अनुरोध गर्नु भएको छ ।

हाल अछाममा ७८ जना क्षयरोगीका बिरामी रहेको तथ्यांक सार्वजनिक भएको छ । बिश्व क्षयरोग दिवसको अवसरमा सार्वजनिक तथ्यांक अनुसारमा यस आर्थिक बर्षको फागुन सम्म उक्त संख्यामा बिरामी रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । आर्थिक बर्ष २०७९ को साउन देखि पुस सम्म ७३। १ प्रतिशत बिरामी निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

नेपालमा हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने गरेका राष्ट्रिय क्षयरोग केन्द्रको तथ्याङ्क छ । नयाँ–पुराना गरी अहिले एक लाख १७ हजारभन्दा धेरै क्षयरोगका सक्रिय बिरामी रहेका अनुमान छ । यस्तै, क्षयरोगका कारण झण्डै १७ हजार जनाको ज्यान जाने गरेको तथ्याङ्क छ ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले सुचना प्रचारप्रसारमा कुनै कमी नहुने बताए । स्वास्थ्य कार्यलय अछामका मेडिकल ल्याब अधिकृत मिन बहादुर कुवँरले सञ्चालन गर्नु भएको अन्तरक्रियामा स्वास्थ कार्यालय नायब सुब्बा झपट बहादुर थापा जिल्लास्थीत पत्रकार तथा सञ्चारकर्मीको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया