Advertisement
SKIP THIS
११ बर्षमा नबनेको कान्द्रा नदीको पुल,बन्ने आशा

टीकापुर:निर्माण ठेक्का लागेको ११ वर्षमा कान्द्रा नदीको पुल निर्माण सम्पन्न हुने आशामा स्थानीय छन् । निर्माण कम्पनीले चरम लापरबाही गर्दा कैलालीको भजनी नगरपालिका वडा नं. ३, ठेकीपुरस्थित कान्द्रा नदी पुलको काम ढिलो भएको थियो । पुलको एउटा स्पामको ढलान भएपछि पुल बन्ने आशा पलाएको भजनी नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले बताए ।

उनले भने, ‘बाँकी रहेको एक स्पामको ढलान भएको छ । एक दशकपछि बल्ल पुल बन्ने आशा पलायो ।’ एक सय मिटर लामो सो पुलको २०६८ जेठ ३१ मा ठेक्का सम्झौता भएको थियो । सुरुको समय डिजाइन परिवर्तनका कारण निर्माण कार्यमा ढिलाइ भएको बताइन्छ । निर्माण कम्पनीले लापरबाही गर्दा पुल नबन्ने हो कि भन्ने स्थानीयवासीले शङ्का गर्न थालेका थिए । बिरुवा/लामा/शेर्पा साल्पा जेभीले निर्माणको ठेक्का पाएको थियो ।

पुल निर्माणका लागि कैयौँपटक म्याद थप गर्दा पनि काम पूरा हुन सकेको थिएन । तीन करोड ४५ लाख २० हजार रुपियाँ लागतमा हुलाकी राजमार्गअन्तर्गत सो पुल निर्माण भइरहेको छ । पुल निर्माणको कार्य अब अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले जानकारी दिए ।

उनका अनुसार आगामी चैत मसान्तसम्म पुलको म्याद थप गरिएको छ । थप गरिएको समयभित्र निर्माणको कार्य पूरा हुने सुनारको भनाइ छ । उनले भने, ‘एक स्पाम मात्रै काम बाँकी हो । थपिएको समयमा काम पूरा हुन्छ । यस वर्षको वर्षायाममा भजनीका जनताले पुलमा ओहोरदोहोर गर्न पाउनेछन् ।’

कान्द्रा नदीमा पुल नबन्दा भजनीका स्थानीयसहित हुलाकी राजमार्ग भएर ओहोरदोहोर गर्नेले सास्ती भोग्दै आएका छन् । वर्षायाममा ज्यान जोखिममा पारेर डुङ्गामार्फत नदी तर्दै आएका थिए । यसैगरी हिउँदमै पनि घाट ठेकेदारलाई चर्को शुल्क तिरेर काठको पुलमार्फत ओहोरदोहोर गर्न बाध्य छन् । ठेकीपुर पुल निर्माण नहुँदा कर्मदेव घाटमा काठे पुल सञ्चालन गरेका ठेकेदारले चर्को शुल्क असुल्दै आएका छन् । तर पुल निर्माणले अब भजनी नगरपालिका वडा नं. ३, ५, ७, ८ का स्थानीयको जनजीवन सहज हुनेछ ।

तपाईको प्रतिक्रिया